
२७ वर्षपछि ‘बन्दिपुर’ खाली हात घर फर्किए, उल्टै घाइते भएर
प्रतीक्षा आले ।
२७ वर्षपछि घर फर्कँदा सुमनलाई खुसीको सीमा छैन । जति घर नजिक पुग्छन्, उति उडुँ कि गुडुँझैँ भइरहेको छ । दिदी, बहिनीसँग भेट्दा मन सिमलको भुवाझैँ फुरुङ्ग छ । सानैमा छोडेको दिदी, बहिनीलाई दशकौँपछि भेट्दा पोल्टाभरि कोसेली भर्दिने मन छ । तर, आप्mनै झोला ठण्डाराम, हात रित्तो छ, गोजी खाली । मनले मात्र चाहेर के हुँदो रहेछ र ?
‘मिस म हिजो राती घर आएँ नि’, विगत १० वर्षदेखि गोरखा र तिब्बतको सीमा क्षेत्र चुमभ्यालीमा हराएका सुमन भुजेलले गत शनिबार मलाई फोन गरेर खुशी साँट्ने प्रयास गरे । मैले केही बोल्न नपाउँदै उनले फेरि थपे, ‘तर हेर्नु न, खाली हात आएँ, उल्टै घाइते भएर ! कमाएर फर्किन पा’को भए के के कोसेली ल्याइदिनु हुन्थ्यो तर आफू यस्तो छु । जीवनभरि अर्काको काम गरेर खालीहात घर फर्केको छु । उल्टै दिदीबहिनीहरु मेरो औषधी उपचारमा लागेका छन् ।’
आफू घर छाडेर हिँडेको ठ्याक्कै २७ वर्षपछि फर्किएको भन्दै उनले खुशी व्यक्त गरे । ४६ वर्षका सुमन पछिल्लो १० वर्षदेखि लुकेको उपत्यका भनेर चिनिने उत्तरी गोरखाको चुमभ्यालीमा हराइरहेका थिए । काम्रो बाँधेको हात घाँटीमा झुण्ड्याइरहेका सुमनलाई मैले गत जेठ ३१ गते चुमभ्यालीस्थित छेकम गाउँको साँघुरो गल्लीमा भेटेको थिएँ ।
छेकम गाउँ गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ७ मा पर्छ । यहाँभन्दा पर अर्को नेपाली गाउँ छैन । हाम्रो जम्काभेट हुँदा छेकम गाउँका दोर्जे लामा दाइ र मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का कर्मचारी सुवास नेपाल पनि उनीसंगै हुनुहुन्थ्यो । बेलाबेला फोनमा बातचित भइरहने हुनाले दोर्जे दाइ र सुवासजी दुवैले मलाई चिन्नुहुन्थ्यो । सुमन, जसलाई उहाँहरुले ‘बन्दिपुर’ भनेर बोलाउनुहुन्थ्यो, उनी त्यहाँको स्थानीयजस्तै भैसकेका रहेछन् । सुमन नजिकै आएपछि दोर्जे दाइले ठट्टा गर्दै ‘ओई बन्दिपुर, हेर् तेरो गाउँको मान्छे आ’छ’ भन्नुभयो ।
सुवाजजीले त्यसैमा थपेर, ‘हेर्नु दाइ उहाँ पनि मगर हो है’ भन्नुभो । बिरानो ठाउँमा आफ्नो गाउँको, आफ्नै समुदायको मान्छे देखेर होला, सुमनको अनुहारमा सुनाखरी फुल्नथाले । मानौँ, आफ्नै मान्छे भेटियो । उनी कहाँको, म कहाँको, किन उहाँहरुले ‘तेरो गाउँले’ भन्नुभयो भन्ने लागिरहेथ्यो । यत्तिकैमा सुमन खुशी हुँदै, हाँस्दै नजिकै आए र ‘तपाईँ बन्दिपुरको हो र ?’ भन्दै सोध्न थाले ।
मैले ‘होइन, गोरख ाबजारको हो’ भनेँ । उनी ‘ए’, मात्रै भनेर पछि खिचिए । बिस्तारै अनुहारको सुनाखरीको तेज ओइलाउन थाल्यो ।
त्यसपछि मैले उनलाई सोध्न थालेँ, ‘तपाईको नामै बन्दिपुर ?’ सुमनले सुरुमा आफ्नो नाम सुमन थापा मगर र घर बन्दिपुर गाउँपालिकाको जालभञ्ज्याङमा रहेको सुनाए । त्यसपछि, ‘यता किन आउनु भएको ?’ भनेर सोध्न नपाउँदै उनले आफ्नो जीवन कहानीको पुलिन्दा फुकाउन थाले । मानौँ, उनी लामो समयदेखि कसैले यही प्रश्न गरिदियोस् भन्ने प्रतीक्षामा थिए ।
कमाउन निस्केको बाटो
छयालीस वर्षका सुमन थापा २०६८/६९ ताका गोरखाको आरुघाट बजारमा ज्यामी काम गर्न आइपुगेका थिए । उनकी बहिनी सुशीला भुजेलका अनुसार सुमन घर छाडेर हिडेको भने २०५६ सालताका नै रहेछ । ‘आरुघाटमा म एकजना तुफान भन्ने ठेकेदारको काम गर्न आएको, सोतीमा दिनगन्ती १३८ दिन काम गरियो । काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो, त्यस बेलादेखि भाग्य बिग्रेको अहिलेसम्म बिचल्लीमै छु ।’, सुमनले भने ।
छेकम गाउँको एउटा साँघुरो गल्लीको डिलमा बसेर उनले यो कुरा सुनाउँदै थिए । यत्तिकैमा गाउँका केही जनप्रतिनिधि, प्रहरी र स्थानीय युवाहरु आइपुगे । सुमन चुपचाप भए । त्यहाँ आएकाहरुले मलाई, ‘यो बन्देको इन्टरभ्यू लिएर यसलाई भाइरल गर्न लाग्नु भा’हो ?’ भन्दै ठट्यौली पारामा प्रश्न गरे । मैले ‘होइन, यसै दाइसँग गफ गरेको’ भनेँ ।
ती मान्छेका झुण्ड केही पर पुगेपछि सुमनले फेरि सानो स्वरमा आफ्नो रामकहानी सुनाउन थाले, ‘यिनीहरु कोही भन्दा कोही कम्ती छैनन् । मुखले मात्र ठिक्क !’ त्यहाँ आएका अधिकांश स्थानीयहरुले आफ्नो श्रम सित्तैमा खाएको सुमनले आरोप लगाए ।
तुफान नाम गरेका ठेकेदारले सुमनलाई आरुघाटमा काम गरेको ज्याला दिएनन् र सम्पर्कबिहिन भए । आरुघाटमा बिना पैसाका सुमनको बिचल्ली नै भयो । उनी हातमुख जोड्ने जोहो गर्न त्यहाँबाट तीन दिन पैदल हिँडेर चुमनुब्रीको फिलिम गाउँमा पुगे ।
विसं २०७२ को गोरखा भूकम्पअघि उनी त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्थे । फिलिमबाट पनि उनी बन्दीपुर फर्कन पाएनन्, किनभने त्यहाँ पनि श्रम गरेको ज्याला हात परेन । सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्ने मान्छेसँग काम गर्न फिलिम आएका थिए । ‘सोतीमा पैसा नपाएपछि सिर्दिबास आएँ । त्यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारले काम गरेको ज्याला दिएन । नाम्ग्याल दोर्जेले पनि काम लगायो मात्रै, पैसा दिएन,’ सुमनले भने ।
काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटकपटक बिचल्लीमा परिरहे । ज्याला नपाएर जीवन तलतल भासिइरह्यो, आफू भने हात मुख जोर्ने गर्जो टार्न झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा फस्न आइपुगेको उनले सुनाए । सुमनको कुरा सुनेर म चकित परेँ । यस्तो बिचल्लीमा पनि झनै उनको आत्मविश्वासलाई देखेर दंग परेँ । ट्याक–ट्याक मान्छेको नाम र ठ्याक–ठ्याक मिति सम्झेको देखेर म साँच्चै जिल्ल परेँ ।
मनको बह मेरो सामु स्यारखोलाझैँ बगेको देख्दा यस्तो लाग्यो, सुमन यत्तिका बर्षदेखि मलाई नै पर्खिरहेथे कि, कतिबेला यो चुमभ्याली आउली र सबै मनको बह पोखुँला भनेर । ‘अनि तपाईलाई त सबैको नाम थाहा रहेछ, सोधी खोजी गरेर पैसा माग्नु पर्दैन त ?’, मैले सोधेँ । ‘तपाईले भने जस्तो सजिलो भा’को भा आज मेरो यस्तो हविगत हुन्नथ्यो’, उनले भने ।
घटनाहरुको थप बेलिबिस्तार लगाउँदै उनले थपे, ‘नाम्ग्याल दोर्जेले फिलिममा काम गरेको पैसा ‘सोतीमा दिन्छु’ भन्दै दुई दिनको बाटो हिँडायो । सोतीमा पु¥यायो र ५०० रुपैयाँ मात्रै दिएर छाड्यो । पाँच सय रुपैयाँ लिएर के बन्दीपुर जानु ? केही सिप नलागेर जस्तो गा’थेँ, उस्तै फिलिम फर्किएँ ।’
त्यसलगत्तै २०७२ को भूकम्प गएको उनले सम्झिए । भूकम्पपछि सुमनले फिलिममा छिरिङ पासाङ नाम गरेका अर्का ठेकेदारसँग काम गरे । पासाङले पनि उनलाई पारिश्रमिक दिएनन् । बरु काम गरेको पैसा काठमाडौं गएर दिन्छु भनेर उनलाई चुमभ्यालीको छेकम्पार ल्याइपु¥याए ।
‘काठमाडौं भनेर यता ल्यायो । न त काम गरेको पैसा नै पाएँ । त्यत्रो काम गरेको यहाँ (छेकम्पार) ल्याएर जम्मा तीन हजार दिएर छाड्यो,’ लामो सास फेर्दै सुमनले भने, ‘बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिँदैनथ्यो, त्यसैले यहाँ गाउँमा जे काम पाउँछु त्यही गर्न थालेँ । जसोतसो खान त पुग्यो तर सबैले पैसामा मारे । काम भने मरुन्जेल लगाउने तर पैसा नदिने चलन रहेछ ठेकेदारको । पैसा पाएपछि घर जाउँला भनेर बसेँ । पन्ध्र वर्ष भयो, न त पैसा आयो, न त घर नै जान पाएँ ।’
सुमनसँग कुराकानी गर्दै जाँदा मेरो आँखा घरीघरी उनको भाँच्चिएको हातमा पुग्थे । साधारण काम्रो बाँधेर घाँटीमा हात झुण्डाएका थिए उनले । हातका औँलाहरु पनि सुन्निएर टिलिक्क परेका । मैले हात के भा’को भनेर प्रश्न गर्दा सुमनले फेरि दुखको अर्को पुलिन्दा खोले ।
छेकम गाउँमा विगत १० वर्षदेखि उनी अधिकांशको घरमा ज्याला मजदुरी गर्दै बसेका रहेछन् । कसैकोमा २८ महिना, कसैकोमा ३० महिना त कसैकोमा वर्ष दिन, तर त्यहाँ पनि उही पारिश्रमिक नपाउने व्यथा रहेछ उनको । सबैले भातको भरमा मात्र काम लगाउँदा रहेछन् ।
‘अब यहाँ ‘दे मेरो पैसा’ भनेर ठूलो स्वर गर्न पाइँदैन, बोल्यो कि म¥यो,’ भाँचिएको हात देखाउँदै उनले भने, ‘काम गरेन, पैसा माग्यो भने यस्तो पो हुन्छ यहाँ ।’ यतिबेलासम्म सुमनको हात भाँचिएको महिना दिन भएको रहेछ । छेकम गाउँकै छिरिङ पाल्जोर भन्ने मान्छेले आफ्नो हात भाँचिदिएको उनले बताए ।
उनी गत बैशाखमा पाल्जोरसँग सहयोगीका रूपमा छेकम्पारको छेके लेक पुगेका रहेछन् । छेकेभन्दा उता तिब्बत, यता नेपाल । साहुहरू लेकमा यार्सागुम्बा टिप्न जाँदा भरियाका रूपमा आफूहरूलाई लिएर गएको सुमनले सुनाए । हात भाँच्चिएको प्रसंग सुनाउँदै उनले भने, ‘बिहान भात, बेलुकी भात, दिनभरि भोकभोकै खटिनुपथ्र्यो । उनीहरू कीरा टिप्थे, हामी भरियाहरू सल्लाको फूल । उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपथ्र्यो । साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ । नसोधी आइस् भनेर छिरिङ पाल्जोरले यहाँ गाउँमा आएर हात भाँचिने गरी पिटे ।’
बारपाकबाट काम गर्न गएका अर्का भरियाले पनि ज्याला माग्दा कुटाइ पाए । ढाडमा गम्भीर चोट लागेका उनीचाहिँ सहेर बसेनन्, घर फर्किए । सुमन भने फर्कन सकेनन् । उनका लागि साहुले हातखुट्टा भाँचिदिने विषय सामान्य भइसकेको थियो । छिरिङ पाल्जोरले सुमनको हात भाँच्दै गर्दा छेकम्पार चौकीका प्रहरी प्रत्यक्षदर्शी थिए । न प्रहरीले उनलाई न्याय दिलायो, न त स्थानीयवासीले नै । सबैजना मूकदर्शक बनेर हेरिरहेको उनले गुनासो गरे ।
सुमनको दुखेसो सुन्दासुन्दै चुमभ्याली भ्रमण गर्न मसंगै जानु भएका साथीहरु मलाई खोज्दै त्यहीँ आइपुग्नु भयो । सुमनका कथा, कहानी अझै बाँकी हुँदाहुन् तर साथीहरुले अब ढिला गर्नुहुन्न भन्ने दबाब दिनुभएकाले हामी उठ्यौँ । सुमनसँग मोबाइल फोन हुने कुरै भएन, ‘तपाईको फोटो खिचौँ’ भनेर सोध्दा उनले सहर्ष स्वीकारे । ‘म पत्रिकामा लेख्ने मान्छे हुँ । तपाईले भोग्नु भएको विषय मैले लेख्न मिल्छ ? तपाईले भन्नुभएको नाम उल्लेख गर्न मिल्छ ?’ भनेर प्रश्न गर्दा उनी रत्तिभर हिच्किचाएनन् । उनले भने, ‘फिलिमदेखि छेकम्पारसम्म सबैले मलाई चिन्छन्, मेरो कहानी तिनीहरु सबलाई थाहा छ । म डराउँदिन । काम गरेको पैसा हो मेरो, चोरेको हैन ।’
सुमनसँग कुराकानी गरेर हामी निले गाउँतर्फ लाग्यौँ । छुले र निले तिब्बती सीमा नजिकै रहेको नेपालको अन्तिम गाउँ हो । त्योभन्दा माथि मु गुम्बा छ, जहाँसम्मका लागि हामी हिँडेका थियौँ । चुमभ्यालीको भ्रमण सकेर फर्किएपछि मलाई उनका कुराहरु लेख्न मन भयो । कुराकानी गर्दाखेरि मोबाइलमा अडियो रेकर्डं गरेथेँ । त्यही सुनेर धमाधम लेखेँ । लेख प्रकाशन भयो । जालभञ्ज्याङमा रहेका सुमनका दिदीबहिनीहरुले पनि फेसबुकमार्फत उनको कथा पढेछन् ।
सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि आफन्तहरु जोडतोडले उनको खोजीमा लागेका रहेछन् । अन्ततः प्रहरी गाउँपालिका र आफन्तहरुको सक्रियतामा सुमनको उद्धार भयो । लुकेको चुमभ्यालीमा दशकौंदेखि लुकाइरहेको जीवनकथा बोकेर अन्ततः सुमन छेकम्पारबाट बिदा भए । गत शुक्रबार बिहान छेकम गाउँका स्थानीयहरुले उनलाई खादा ओढाएर बिदाइ गरिवरी घर पठाए ।
‘एकदिन दाइको समाचार फेसबुकमा देखेँ, म सानै छँदा घरबाट जानुभएकाले फोटो देख्दा त चिनिनँ तर समाचारमा बा, आमा, दाइहरुको नाम मिलेपछि हाम्रै मान्छे हो भन्ने प्रमाणित भयो’, सुशीलाले भनिन्, ‘दाइको समाचार पढेर उहाँ जीवितै हुनुहुन्छ भन्ने थाहा पाउँदा खुशीको सीमा रहेन तर उहाँले पा’को दुख सुनेर मनै थाम्न सकेनौँ ।’ सुमन गोरखाको चुमभ्यालीमा जीवितै रहेको थाहा पाएपछि सुशीला आबुँखैरेनी गाउँपालिकाको कार्यालय धाइछन् । पालिकाका अध्यक्ष शुक्र चुमनले प्रहरीसँग समन्वय गरेपछि सुमनलाई छेकम्पारबाट ल्याइएको सुशीलाले सुनाइन् ।
‘हामीले त दाइ हुनुहुन्न सोचेथ्यौँ । २०५६ सालदेखि हामीसँग सम्पर्कमा हुनुहुन्नथ्यो, २७ वर्ष बितिसक्यो’, सुशीलाले भनिन्, ‘हाम्रो घर आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङ हो । पहिले बन्दिपुर गाविस भएकोले दाइले बन्दिपुर भन्नुभएछ । हामी भुजेल हौँ ।’ सुशीला गाउँकी एकजना दिदी र भाइलाई लिएर दाइ सुमन लिन गत शनिबार गोरखाको आरुघाट पुगेकी थिइन् । शुक्रबार बिहानै छेकम्पारबाट हिँडेका सुमन शनिबार दिउँसो आरुघाट बजार आइपुगेका थिए ।
‘छेकम्पारबाट रेञ्जमसम्म छेकम चौकीको प्रहरीले ल्याइदिनु भयो, रेञ्जम पुग्दा त्यहाँ चुम्लिङको प्रहरीहरु लिन आइसक्नु भएको रहेछ’, प्रहरीले मिलाएको व्यवस्था देखेर दंग परेका सुमनले भने, ‘उहाँहरुसँग चुम्लिङ आएर खाना खाइयो, खाना आइवरी उहाँहरुले मलाई लोक्पासम्म पु¥याइदिनुभयो । लोक्पामा फेरि तल फिलिमबाट प्रहरीहरु लिन आउनुभएको रहेछ । उहाँहरुसँगै फिलिमसम्म आएर बास बसेँ ।’ शुक्रबार राती छेकमबाट फिलिम आएका उनी शनिबार बिहानै त्यहाँबाट हिँडेका थिए । शनिबार दिउँसो आरुघाट आएर उनले आफ्ना आफ्न्तलाई भेटे ।
‘सुरुमा त आफ्नै दिदी बहिनी चिनिनँ, आफ्नो मान्छे भेट्दा बल्ल आजाद भा’को महसुस गरेँ’, सुमनले भने । आरुघाटबाट गोरखा बजार हुँदै शनिबार बेलुकी उनीहरु आफ्नो घर जालभञ्ज्याङ पुगेको सुमनले सुनाए ।आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङमा रहेका सुमनका परिवार, गाउँपालिका र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको सक्रियतामा छेकम्पारबाट उनको उद्धार भएको हो । फेसबुकमा दाइको समाचार पढेपछि पालिका र प्रहरी चौकीमा हारगुहार गरेर उद्धार गरेको सुमनकी कान्छी बहिनी सुशीला भुजेलले बताइन् ।
घर आएपछि सुमनको औषधी उपचार सुरु भएको उनकी बहिनी सुशीलाले बताइन् । ‘यहाँ आएर दाइलाई अस्पताल लग्यौँ, हात भाँचिदिएको महिनादिन बढि भएछ । एक्सरे गरेर हेर्दा हड्डी भाँच्चिएर पनि भित्र छेँडिएको देखायो । अब त अप्रेसन गरेर स्टिल हाल्नु पर्छ भनेको छ’, सुमनकी बहिनी सुशीलाले भनिन्, ‘हाम्रो मान्छे घर आयो, हाम्रो लागि त यही ठूलो कुरा हो तर यसरी हात भाँचिदिने मान्छेलाई कारबाही हुनुपर्ने होइन र ?’
सुमन भने अब भोटखोलामा कठ्याङ्ग्रिएको आफ्नो चिसो विगत सम्झन चाहन्नन् । आफूले जानेको ज्यामी, मजदुरीको काम गरेर गाउँमै बाँकी जीवन बिताउने रहर उनको छ ।




