
भीरमौरी तथा पाहाको संरक्षण गर
अहिले उत्तरी गोरखाको विशेषतः धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीमा भीरमौरीको मह सिकार गर्ने तथा पाहाको सिकार गर्ने सिजन चलिरहेको छ । विशेष औषधी तथा पौष्टिक तत्वका रुपमा प्रयोग गरिने यी पाहा तथा भीरमौरीको महलाई दीगो विकासका लागि योजना नबनाई बर्षौँदेखि सिकार मात्र गरिदै आएको छ ।
अहिले जलवायु परिवर्तन तथा अन्य विविध जटिलताका कारण यस्ता प्राकृतिक सम्पदा लोप हुने अवस्थामा छ । अर्थात उपभोग गर्नकै लागि बनेका यस्ता चिजहरुको उपभोग पनि गर्नुपर्छ, साथै यसको दीगोपनको योजना पनि बनाउनु पर्छ । पाहा पनि फुलसमेत सिकार गरेर खाने, भीरमौरीको पनि आउँदा दिनमा गोलो नलगाउने वातावरण बनाई तथा धेरै माउहरुलाई नष्ट गरी शिकार गर्नाले यस्ता सम्पदा लोप हुने सम्भावना हुन्छ ।
तसर्थ शिक्षा, चेतनाको विकास हुदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा यस्ता सम्पदालाई जोगाएर भावी पिँडीले समेत उपभोग गर्न पाउने अवसर प्रदान गर्न दीगो विकासमा ध्यान दिनुपर्छ । ‘प्रकृति हाम्रा आवश्यकता पूरा गर्ने भण्डार हो, तर हाम्रा अन्धधुन्ध लोभ पूरा गर्ने कारखाना होइन ।’
यहाँनेर बुझ्नुपर्ने मुख्य कुरा के हो भने, वन र वन्यजन्तुको जग नै नजोगिने गरी गरिने उपभोग क्षणिक मात्र हुन्छ । उपभोग गर्नकै लागि प्रकृतिले दिएका यस्ता चिजहरूको उपयोग अवश्य गर्नुपर्छ, तर त्यसको जग नै नासिने गरी गरिने दोहन आत्मघाती साबित हुनेछ । भीरमौरी र पाहाको संरक्षण गर्नु भनेको स्थानीयको परम्परा खोस्नु वा उपभोग गर्न नदिनु होइन, बरु यसलाई एउटा व्यवस्थित र वैज्ञानिक प्रणालीमा ढाल्नु हो ।
जसले गर्दा आजका पुस्ताले पनि यसको स्वाद र लाभ लिन पाओस् र भोलिका सन्ततिका लागि पनि यो सम्पदा सुरक्षित रहोस् ।
त्यसैले अबको बाटो दिगो विकास र वैज्ञानिक व्यवस्थापनको हुनुपर्छ । यसका लागि धार्चे गाउँपालिका र स्थानीय प्रशासनले तत्कालै ठोस योजना ल्याउनु आवश्यक छ ।




