| बिहिबार, जेष्ठ ६, २०८३

बेरुजुबारे आत्मसमीक्षा गरा

गाउँपालिकाले कार्यसम्पादन अभ्यास गरेको झण्डै १० बर्ष बित्न लाग्यो । तैपनि सबै पालिकाले बर्षेनी करोडौँ रुपैयाँ बेरुजु आउने गरी काम गरिरहेका छन् । यो बर्ष पनि पालुङटारको चार करोड १७ लाख, सिरानचोकको दुई करोड ५६ लाख, अजिरकोटको एक करोड ३८ लाख, गण्डकीको एक करोड एकलाख बेरुजु देखिएको छ । त्यस्तै आरुघाटको ८२ लाख, गोरखा नगरपालिकाको एक करोड २९ लाख, धार्चे को ५७ लाख बेरुजु देखिएको छ ।

त्यस्तै सहिद लखनको ६४ लाख, भीमसेन थापाको ४३ लाख, चुमनुब्रीको २५ लाख र बारपाक सुलिकोटको ४४ लाख रुपैयाँ बेरुजु यस पटक पनि देखियो ।

पालिकाको अभ्यास गरेको यत्तिका बर्ष भइसक्दा पनि बेरुजु आउने गरी काम किन गरिरहन्छन् पालिकाहरु ? यसमा विशेषतः कर्मचारी र जनप्रतिनिधिले पनि गम्भीरताका साथ आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । सबै पालिकाको बेरुजुको प्रकृति हेर्दा केही ठूला र नयाँ खालकाबाहेक सानातिना र उस्तै प्रकृतिका गल्ती गरेको पाइन्छ । अधिकांश पालिकाले विना प्रतिष्पर्धा आफ्ना खल्तीका भेण्डरलाई खरिदको जिम्मा लिएका छन् ।

बिना प्रतिस्पर्धा खरिद गर्न नपाइने सरकारी व्यवस्था छ भन्ने जान्दाजान्दै पालिकाका कर्मचारीले आफ्लाई रिझाउन सँधै एउटै सप्लायर्सलाई बिजनेश दिएको पाइएको छ । जसले गर्दा ठूलो रकम बेरुजु देखिएको छ । त्यस्तै लागत अनुमान गरेभन्दा बढी, सर्भे डिजाइन, स्टिमेटमा उल्लेख भएभन्दा बढि, स्वीकृति भन्दा भुक्तानी दिएको पाइएको छ । कतिपय पालिकाले त सम्झौता रकम भन्दा बढि भुक्तानी दिएको पाइएको छ ।

अनि बिलभरपाई बिनै भुक्तानी दिएका कारण बेरुजु देखिएका उदाहरण धेरै छन् । कतिपय पालिकाका जनप्रतिनिधि वा कर्मचारीले कानुनले बर्जित गरेको शीर्षकमा पनि भत्ताका रुपमा भुक्तानी लिएको पाइयो । बिगतका बर्षहरुमा पनि यस्तै बेरुजु थिए । यस्ता शीर्षकमा बेरुजू आउने रहेछ भन्ने जान्दाजान्दै पनि जनप्रतिनिधि तथा कर्मचारीहरु फेरि किन उही गल्ती दोहोर्याउँछन् । अब बेरुजु सुन्य बनाउने लक्ष्य राखेर पो काम गर्ने हो कि

प्रतिक्रिया दिनुहोस्