
आँपपिपल अस्पतालमा बाल स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(किओच) नेपाल र आँपपिपल अस्पतालको सहकार्यमा आँपपिपल अस्तापलमा दुई दिने निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार र शुक्रबार आयोजित शिविरमा २१५ जना बालबालिकाको स्वास्थ्य अवस्था बारे परीक्षण गरिएको किओच नेपालले जनाएको छ ।
वरिष्ठ बालरोग विशेषज्ञ तथा किओच नेपालका अध्यक्ष डाक्टर भगवान कोइरालासहित विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरुले शिविरमा सेवा प्रदान गरेका थिए ।
शिविरमा मुटुरोग, छाती रोग, मृगौला रोग, रगत तथा क्यान्सरजन्य रोग लगायतका समस्याको परीक्षण, परामर्श तथा उपचार गरिएको थियो ।
शिविरले गोरखाको ग्रामीण क्षेत्रका बालबालिकाले स्वास्थ्य लाभ लिने अवसर पाएका भन्दै किओच नेपालप्रति आँपपिपल अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पाठकले आभार तथा किओचप्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।




