
सात भारतीयको ज्यान गएको दुर्घटनास्थलको अनुगमन
सातजना भारतीय तीर्थयात्रुको ज्यान जानेगरी भएको सवारी दुर्घटनास्थलको आइतबार सुरक्षा समितिको टोलीले अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले शनिबार बेलुका मनकामना–मझुवा सडकखण्डमा भएको सवारी दुर्घटनाको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीको अध्ययनबाट निकै ओह्रालो र असजिलो घुम्तीका कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रारमिभक अनुमान गरेको छ । ‘धेरै लामो ओह्रालो अनि घुम्ति नै घुम्ति सडक भएका कारण ब्रेकमा समस्या भएर दुर्घटना भएको हुनसक्छ भन्ने हामीले प्रारम्भिक आँकलन ग¥यौं’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘धेरै ओह्रालो सडकमा रात, साँझका बेला लाइटको समस्या पनि हुनेगर्छ । त्यो पनि अर्को कारण हुनसक्छ भन्ने हाम्रो अनुमान रह्यो । एकबर्ष अघि पनि त्यही ठाउँमा इभी माइक्रोबस नै दुर्घटना भएको थियो । अहिले पनि इभी नै दुर्घटना भएका कारण सो सडक इभी माइक्रो बसका लागि उपयुक्त नहुनसक्ने पनि हाम्रो अर्को अनुमान रह्यो ।’
असजिलो सडकमा पहिलो पटक सवारी साधन चलाउनेलाई धेरै कठिन भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । सडकमा भीरबाट पहिरो झरेर केही साँगुरो पनि बनाएकाले तत्काल पहिरो सफा गर्ने विषयमा स्थानीय तहसंग छलफल भएको उनले बताए ।
सो सडकमा रातको समयमा विशेषगरी माथिबाट तल झर्ने सवारी साधन नचलाउन स्थानीय तहसंग छलफल भएको पनि सप्रजिअ शर्माले जानकारी दिए । सो ठाउँमा तत्काल रेलिङ निर्माण गर्न र संकेत चिन्हहरु राख्न पनि गोरखा सडक योजना कार्यालयलाई आग्रह गरिएको उनले जानकारी दिए ।
मनकामनाको पूजाआजा गरी फर्केका १४ भारतीय तीर्थालु भक्तजन सवार बाग्मती प्रदेश १–००६ख८४३० नंबरको इभीमाइक्रो बस शनिबार बेलुकी आठ बजेतिर सहिदलखन गाउँपालिका भीरबाट करिब दुईसय मिटर तल खस्दा सातजनाको घटनास्थलमै मृत्यू भएको थियो । चालक, सहचालकसहित अन्य ९ जना घाइते भएका थिए । ५८ बर्षका मुतु कुमार, ५८ बर्षकै अनामलिक, ५९ बर्षीय मीनाक्षी, ५३ बर्षकी शिवगामी, ५७ बर्षीया विजायल, ५८ बर्षकी मिना र ६० बर्षकी तमिलारशीको घटनास्थलमै मृत्यू भएको हो ।
घाइतेहरु पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन् । आइतबार बेलुकासम्म पाँच जनाको आइसीयूमा उपचार भइरहेको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । चार जनालाई जनरल वार्डमा सारिएको उनले बताए । मुक्तिनाथको दर्शन सकेर मनकामनाको दर्शन गर्न आएका दुईवटा माइक्रोबसमा सवार २४ जनाभक्तजनहरु मध्य एउटा माइक्रोबस दुर्घटना भएको हो ।




