| बुधबार, अशोज १३, २०८३

मेयरकप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिता सुरु

गोरखामा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । छेपेटारस्थित खेलकुद मैदानमा बिहिबारदेखि मेयर कप फुटबलको दोस्रो र उपमेयर कप महिला भलिबल प्रतियोगिताको प्रथम संस्करण सुरु भएको हो ।
दुवै प्रतियोगिताको अतिथि गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन मेयर कपतर्फ दुई खेल र उपमेयर कपतर्फ चार खेल सम्पन्न भएका छन् ।

फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल वडा नं. १२ र १३ बीच भएको थियो । जसमा ३–० गोल अन्तरले वडा नं. १२ ले जित हात पारेको । यस्तै वडा नं. ११ र २ बीच भएको दोस्रो खेलमा ५–१ गोल अन्तरले वडा नं. ११ विजयी बनेको छ । यस्तै गोरखा नगरपालिका र आरुघाट गाउँपालिका बीच भएको महिला भलिबलतर्फको पहिलो खेलमा आरुघाट गाउँपालिका २–० को सोझो सेटमा बिजयी बनेको छ ।

सिरानचोक गाउँपालिका र शहिद लखन गाउँपालिका बीच भएको दोस्रो खेलमा शहिदलखनले २–० को सोझो सेट जितेको खेलकुद संयोजक वडा नं. १० का वडाअध्यक्ष प्रदीप कुँवरले बताए । यसैगरी धादिङको निलकण्ड नगरपालिका र भिमसेन थापा गाउँपालिका बीचको खेलमा निलकण्ड २ सेट जित्दै विजयी बनेको छ । बारपाक सुलिकोट गाउँपालिका र पालुङटार नगरपालिकाबीच भएको खेलमा बारपाक सुलिकोट बिजयी बनेको उनले जानकारी दिए ।

मेयरकपतर्फ सबै वडाको सहभागिता रहेको छ । उपमेयर कपमा भने गण्डकी, अजिरकोट, धार्चे र चुमनुव्री गाउँपालिका र निलकण्ड नगरपालिकासहित जिल्लाका ८ पालिकाको सहभागिता रहेको संयोजक कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्