| मङ्लबार, अशोज १२, २०८३

स्रोत जुटाउँदै, गाउँमै मावि चलाउँदै

माध्यमिक तहको विद्यालयमा पढ्न गाउँबाट धेरै लामो बाटो हिँड्नु पर्ने भएपछि धार्चे २ रुञ्चेतका बासिन्दाले गाउँकै गण्डकी आधारभूत विद्यालयमा कक्षा नौ र दस चलाउन सुरु गरे । गाउँमा दुईबर्ष अघिदेखि माध्यमिक तहको विद्यालय खुल्यो, तर त्यहाँ मावि तहको शिक्षक दरवन्दी छैन ।

गण्डकी माविमा मात्र होइन धार्चे गाउँपालिकाका सबै मावि तहको विद्यालयमा सो तहको शिक्षक दरवन्दी शून्य छ ।
स्थानीयबासीले सही अभिभावकत्व प्रदान गरेकाले मावि तहको कक्षा संचालन भइरहँदा सो विद्यालयले कहिल्यै आर्थिक अभाव झेल्नु परेन । मावि तहका शिक्षकलाई दिनुपर्ने दरबन्दी अनुसारको तलवभत्ता रकम अभिभावक स्वयंले जुटाउने गरेका छन् ।

माध्यमिक तह संचालन गर्नुअघि आर्थिक स्रोतको व्यवस्थापनबारे अभिभावक र व्यवस्थापन समिति लगायतका सरोकारवालासँग छलफल भएको थियो । उक्त छलफलमा अभिभावकहरुले आर्थिक व्यवस्थापनको जिम्मा लिने निर्णय गरेपछि मावि संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीले बताए ।

‘बैठकमा हामीले दरवन्दी नभएकाले मावि चलाउँदा शिक्षकलाई तलव खुवाउन सक्दैनौँ भनेका थियौँ,’ उनले भने, ‘तर अभिभावकहरुले त्यसको हामी जिम्मा लिन्छौँ भनेपछि २०८० सालबाट मावि संचालन गरेका हौ ।’ प्रस्तावित माविको रुपमा संचालित उक्त बिद्यालयमा निमावि शिक्षकको दरवन्दी समेत नभएको उनले जानकारी गराए । बिद्यालयमा करिव तीन सयको हाराहारीमा बिद्यार्थी छन् । कक्षा नौ र दशमा मात्रै ४० भन्दा बढी बिद्यार्थी पढ्छन् ।

मावि दरवन्दी नभएकाले उनीहरुलाई प्रावि दरवन्दीकै शिक्षकहरुले पढाउँछन् । सो वापत शिक्षकले पाउने तलव लगायतका सेवा सुविधा भने अभिभावकहरुले जोहो गर्छन् । ‘प्रावि दरवन्दीमा रहेर पढाइरहनु भएकामध्ये ६ जना शिक्षकले मावि पनि पढाउनुहुन्छ,’ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप गुरुङले भने, ‘मावि पढाएपछि त्यही अनुसारको तलव स्केल दिनुप¥यो, त्यो सबै अभिभावकहरुले जुटाउँदै आउनुभएको छ ।’

अभिभावकहरुबाट ६/६ महिनामा रकम संकलन गर्ने गरेको उनले बताए । मासिक दुई हजारका दरले रकम संकलन गर्ने गरेको उनको भनाइ छ । ‘मावि संचालनका लागि शिक्षकलाई दिनुपर्ने तलव तीन बर्षसम्म समुदाय स्तरबाटै व्यहोर्छाैँ भनेर पालिकासँग सम्झौता गरेर मावि चलाएका हौँ, दुई बर्ष भयो अव एक बर्षपछि पालिकाले पनि सहयोग गर्ला,’ उनले भने । मासिक डेढ लाखभन्दा बढी रकम शिक्षकका लागि जुटाउनुपर्ने अवस्था रहेको बताउँदै उनले हालसम्म अभिभावकले सहयोग गर्दै आएको जानकारी दिए । रुन्चेतमा मात्र करिव २ सय ५० भन्दा बढी घरधुरी छन् ।

यसअघि मावि तहको अध्ययनका लागि केरौजा जानुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘यहाँ मावि नहुदाँ यहाँका बालबालिकालाई करिव डेढ घण्टा भिरभिरै उकालो बाटो हिडेर केरौजा मावि जानुपथ्र्याे । पहिरोको जोखिम त्यसमाथि ढुंगा खसिरहने भएकाले निकै डर हुन्थ्यो । त्यसैले यही मावि तह संचालनका लागि अभिभावकहरु आफै सक्रिय भएर जुट्नुभएको हो ।’ अधिकांश रुन्चेतका बालबालिका पढ्ने उक्त बिद्यालयमा हुलचुक र उहियाबाट पनि केही बिद्यार्थी आउँछन् ।

प्रतिक्रिया दिनुहोस्