| मङ्लबार, अशोज १२, २०८३

बिद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिकाभित्रका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । गड हेड्स नामक संस्थाले मंगलवार एक कार्यक्रमकाबीच ७१ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

महेन्द्रज्योती मावि दरवारमार्गका २३ जना, बालमन्दिर मावि छहरेका १८, शक्ति मावि पाटेचौरका १०, नवज्योती मावि डण्डिडाँडाका १०, रत्नलक्ष्मी मावि बिरेन्चोकका ५ र मनकामना बहिरा आवासिय माध्यमिक बिद्यालय टक्सारका ९ जना विद्यार्थीलाई बिद्यालय पोशाक सहित जुत्ता, झोला, कपी, कलम, क्लाकुलेटर, ज्यामेतीबक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी जिल्ला सचिव सरिता अर्यालले बताइन् ।

प्रति बिद्यार्थी पाँच हजार बराबरको सामग्री वितरण गरिएको उनले जानकारी दिइन् । स्वास्थ्य तथा शैक्षिक विकास परियोजना अन्तरगत संस्थाको आयोजना तथा गड हेड्स यूकेको आर्थिक सहयोगमा सामग्री वितरण भएको हो । त्यस्तै संस्थाले महेन्द्र मावि कुन्दुरटारमा अध्ययनरत चार जना बिद्यार्थीलाई जनही सात हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । द्रव्यशाह बहुमुखी क्यापसमा स्नातक तहमा अध्ययनरत पाँच जना बिद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिएको संस्थाकी अर्यालले बताइन् ।

उनीहरुलाई जनही १२ हजारका दरले छात्रावृत्ति वितरण गरिएको उनले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भई पठनपाठनमा समस्या भएका विद्यार्थी छनोट गरी शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरिएको संस्थाले जनाएको छ । ‘कतिपय विद्यार्थीसँग बिद्यालय पोशक नहुने, कतिपय कापी कलमको अभावले पढाई बिचैमा छाड्ने देखियो,’ अर्यालले भनिन्, ‘ती विद्यार्थीले पढाई छोड्न नपरोस् भनेर सहयोग गरेका हौं ।’ उनीहरुलाई १० कक्षासम्मको पठनपाठनमा सहयोग गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्