| मङ्लबार, अशोज १२, २०८३

बारपाक सुलिकोटमा निशुल्क छात्रावास सञ्चालन

बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकाका लागि निशुल्क छात्रावास संचालनमा ल्याएको छ । आइतवारदेखि छात्रावास संचालनमा ल्याएको पालिकाका शिक्षा संयोजक भीमकुमार श्रेष्ठले बताए । ‘अभिभावक नभएका तथा विपन्न परिवारका बालबालिकाहरु विद्यालय जान सक्ने अवस्था नरहेको पाइयो,’ उनले भने, ‘त्यसैले पालिकाबाट नीति नै पारित गरेर छात्रावास कार्यक्रम ल्याएका हौँ ।’

वडा नम्वर ६ बाँहकोटस्थित मनास्लु आधारभूत बिद्यालयको भवनमा संचालित छात्रावासमा हाल ६ जना बालबालिका छन् । सूर्यज्योती माविसँग मर्जर भएसँगै उक्त बिद्यालयको भवन प्रयोगविहिन थियो । सोही भवनलाई सदुपयोग गर्दै छात्रावास संचालन गरिएको पालिकाका सूचना अधिकारी ईश्वरीप्रसाद पनेरुले बताए । उनका अनुसार हाल छात्रावासमा करिब २० जना बालबालिका राख्न मिल्छ । क्रमश क्षमता अभिवृद्धि गर्दै लैजाने उनले जानकारी दिए ।

सुरुवाती चरणमा अभिभावकविहीन बालबालिकाहरुलाई लक्षित गरेपनि क्रमश आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई पनि समेट्ने लक्ष्य पालिकाको छ । ‘अध्ययनको क्रममा बारपाक सुलिकोटमा आर्थिक अवस्था कमजोर भएका अभिभावकविहिन बालबालिकाहरु शिक्षाबाट बञ्चित रहेको पाइयो’, शिक्षा शाखा संयोजक श्रेष्ठले भने, ‘यो अवस्था सिर्जना नहोस् भनेर छात्रावास कार्यक्रम ल्याएका हौँ ।’

त्रावासमा रहेकाहरुको लालनपालनदेखि १२ कक्षासम्मको शिक्षाको दायित्व पालिकाले लिने उनले जानकारी दिए । छात्रावास कार्यक्रमका लागि चालु आर्थिकवर्ष पालिकाले १५ लाख रुपैँया बजेट बिनियोजन गरेको छ । छात्रावास संचालनमा आएसँगै अब पालिकामा आर्थिक अभावकै कारण बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनु नपर्ने अपेक्षा गरिएको छ । छात्रावसमा हाल एक जना वार्डेन र दुई जना कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्