
भारतीय सरकारको अनुदानमा आएको ‘स्कुलबस’ गोरखा नगरपालिकामै थन्कियो
बिद्यालय छनोट गर्न नसक्दा भारत सरकारबाट अनुदानमा प्राप्त भएको ‘स्कुल बस’ एक महिनादेखि गोरखा नगरपालिकामै थन्किएको छ । कुन बिद्यालयलाई दिने भन्ने टुंगो नलाग्दा अन्योलता कायम नै रहेको हो ।
आफ्नो विद्यालयमा बस ल्याउनका लागि केही प्रधानाध्यापकहरुले लविङ गरिरहेका छन् । तर नगरपालिकाले भने हालसम्म निर्णय गर्न सकेको छैन । कुन विद्यालयलाई दिने भन्ने अन्यौलका कारण समस्या भएको मेयर कृष्ण राना बताउँछन् । ‘हामीले विद्यालयहरुलाई उचित आधार सहित निवेदन पेश गर्न भनेका छौँ’, उनी भन्छन्, ‘उपयुक्तताका आधारमा एउटा विद्यालय छनोट गरी बस हस्तान्तरण गर्ने तयारी भैरहेको छ ।’
गत बैशाख २ गते भारतीय दुताबासले काठमाण्डौँमा एक कार्यक्रमकाबीच गोरखा नगरपालिका र गोरखा क्याम्पसलाई स्कुल बस हस्तान्तरण गरेको थियो । अर्थमन्त्री बर्षमान पुन र भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बस हस्तान्तरण गरेका थिए । तर झण्डै एक महिना हुदाँसम्म पनि नगरपालिकाले स्कुल छनोट गर्न सकेको छैन ।
यता गोरखा क्याम्पसको बस भने संचालनमा ल्याइसकेको छ । बस प्राप्त भएको केही दिनमै संचालन गरिएको क्याम्पस प्रमुख नवराज खड्काले बताए । ‘हामीेले बस प्राप्त गरे लगतै संचालनमा ल्याएका हौँ’, उनले भने, ‘बस संचालनमा आएसँगै विद्यार्थीहरुलाई धेरै सहज भएको छ ।’




