
१ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घट्यो
जिल्लाका सामुदायिक बिद्यालयमा १ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घटेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका जिल्ला स्थित आधिकारिक बिक्रेताहरुका अनुसार गत बर्षको तुलनामा यो बर्ष करिव ३५ प्रतिशतले बिक्रीदर घटेको हो ।
‘गत बर्ष १२ देखि १३ सय सेट पाठ्यपुस्तक गएको थियो,’ बिक्रेतामध्येका एक प्रदिप खनालले भने, ‘यो बर्ष ९ सय सेट पनि गएन ।’ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव समेत रहेका उनले अनेपेक्षित रुपमा बिक्रीदर घटेको बताए । ‘पोहोरको तुलनामा अहिले करिव दश प्रतिशत मात्र घट्छ होला भन्ने थियो तर, ३५ प्रतिशतले घट्यो,’ उनले भने ।
सामुदायिक बिद्यालयको तल्लो तहमा बिद्यार्थी संख्या घट्दै गएको र एक कक्षामा भर्ना दर समेत कम भएको उनले जानकारी दिए । ६ देखि १० कक्षामा भने पाठ्यपुस्तक बिक्री दर गत बर्षको तुलनामा उस्तै रहेको उनको भनाइ छ । उनका अनुसार यो बर्ष जिल्लाको सबै बिद्यालयमा समयमै पाठ्यपुस्तक पुगेको छ ।
बैशाख १५ भित्र अधिकांश बिद्यालयमा पाठ्यपुस्तक पुगेको उनले दावी गरे । ‘चैत्र २५ भित्र जिल्लामा किताव आइसकेको थियो, हामीले बैशाख २ गतेबाट बिक्री वितरण शुरु ग¥यौ,’ उनले भने । उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक विक्री वितरण गरिएको उनले बताए । विगतमा जस्तो अहिले पाठ्यपुस्तक अभाव समेत नभएको उनले जानकारी दिए । सामुदायिक बिद्यालयको पाठ्यपुस्तक बिक्री वितरणका लागी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट आधिकारिक रुपमा स्वीकृती लिनुपर्ने हुन्छ ।
जिल्लाभर हालसम्म सात वटा फर्म आधिकारिक बिक्रेताको रुपमा रहेका छन् । गोरखा नगरपालिकाको पुष्पाञ्जली पुस्तक पसल, उज्वल स्टेशनरी सेन्टर, जोशी स्टेशनरी सेन्टर, रोजिना पुस्तक भण्डार, गोरखा बुक्स एण्ड स्टेशनरी, चिन्तन पुस्तक पसल र आरुघाटको सिजन पुस्तक पसल जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता हुन् । यो बर्ष सामूहिक रुपमा उनीहरुले पाठ्यपुस्तक बिक्री वितरण गरेका हुन् ।
‘आरुघाटबाट हामीले धार्चे, चुमनुव्री र भीमसेन थापाको केही बिद्यालयमा पाठ्यपुस्तक पठायौ । अन्य ठाउँका लागी गोरखा बजारको निर्माण व्यवसायी हलमा स्टोर गरेर राखेका थियौ, त्यहीबाट सप्लाई ग¥यौ,’ खनालले भने । यो बर्ष एक करोड २५ लाखको पाठ्यपुस्तक बिक्री भएको उनले बताए ।




