
प्रदेश स्तरीय भलिबल प्रतियोगिताः पुरुष तर्फ नवलपुर, महिला तर्फ पर्वत बिजयी
बरपाकमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले हात पारेको छ ।
महिला भलिबल प्रतियोगिता अन्तरगत बुधबार भएको फाइनल खेलमा म्याग्दीलाई हराउँदै पर्वतले उपाधि हात पारेको हो । उपाधिसँगै पर्वतले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधिका लागि पर्वत र म्याग्दीबीच बीच खेल भएको थियो ।
प्रतियोगितामा म्याग्दीले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा स्याङ्जा तेस्रो बनेको छ । दोस्रो र तेस्रो हुनेले क्रमश ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै पुरुषतर्फ नवलपुरले उपाधि जितेर बिजयी बनेको छ । नवलपुरसँग पराजित बन्दै स्याङ्जा दोस्रो बनेको छ भने म्याग्दी तेस्रो बनेको जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ ।
प्रथम, द्वितीय र तृतीयले क्रमश १ लाख, ७५ हजार र ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी सर्वोकृष्ट खेलाडी बनेका छन् । उत्कृष्ट ब्लकर नवलपुरकै सरोज बर्देवा, उत्कृष्ट स्पाईकर स्याङ्जाका सन्जु बिक्रम शाह, उत्कृष्ट सेटर नवलपुरका दानबहादुर गाहा र उत्कृष्ट डिफेन्डर स्याङ्जाका राजन दर्लामी बनेका हुन् । यसैगरी उत्कृष्ट सर्भर म्याग्दीका देवेन्द्र बुढा र उत्कृष्ट प्रशिक्षक नवलपुरका राम नारायण महतो बनेका छन् ।
महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोकृष्ट खेलाडी बनेकी छिन् । पर्वतकै बिना फगामी उत्कृष्ट सेटर, म्याग्दीकी रिकजना बोटे उत्कृष्ट स्पाईकर, स्याङ्जाकी जायरा निसा उत्कृष्ट डिफेन्डर बनेकी छन् । म्याग्दीकी मनिषा तिलिजा उत्कृष्ट ब्लकर र स्याङ्जाकी स्वाईङ थापा उत्कृष्ट सर्भर बनेकी छिन् । यस्तै महिलातर्फ पर्वतका प्रशिक्षक जगदीश सुवेदी उत्कृष्ट प्रशिक्षक बनेका छन् ।
गत सोमबारबाट सुरु भई तीन दिनसम्म चलेको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पुरुष र महिलातर्फ १०/१० टिमको सहभागिता रहेको थियो । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।




