| बुधबार, अशोज १३, २०८३

बारपाकमा गण्डकी प्रदेशस्तरीय भलिवल प्रतियोगिता सुरु

बारपाकमा सोमबारबाट गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको हो । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिता अन्तरगत सोमबार पुरुष र महिला तर्फ सात/सात खेल भएका छन् । पुरुषतर्फको पहिलो खेल तनहूँ र म्याग्दीबीच भएको थियो । उक्त खेलमा तनहूँ बिजयी भएको जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ ।

नवलपुर र मुस्ताङबीच भएको दोस्रो खेलमा नवलपुर बिजयी बनेको छ । तेस्रो खेल वाग्लुङ र लम्जुङबीच भएको थियो जसमा बाग्लुङ बिजयी बनेको छ । म्याग्दी र कास्कीबीच भएको चौथो खेलमा म्याग्दी बिजयी बन्यो भने मुस्ताङ र स्याङ्जाबीच भएको पाँचौ खेलमा स्याङ्जा बिजयी बनेको समितिले जनाएको छ । छैठौ खेलमा गोरखालाई हराउँदै पर्वत बिजयी बनेको छ भने तनहूँ र कास्कीबीच भएको अन्तिम खेलमा तनहूँ बिजयी बनेको छ ।

महिलातर्फ भएको पहिलो खेलमा मनाङलाई हराउँदै तनहुँ बिजयी बनेको छ । दोस्रो खेलमा लम्जुङलाई हराउँदै स्याङ्जा बिजयी बनेको आयोजकले जनाएको छ । तेस्रो खेल म्याग्दी र बाग्लुङबीच भएको थियो, जसमा म्याग्दी बिजयी बनेको छ । चौथो खेलमा मनाङलाई पराजित गर्दै कास्की बिजयी बनेको छ ।

नवलपुर र लम्जुङबीच भएको पाँचौ खेलमा नवलपुर बिजयी बनेको आयोजकले जनाएको छ । छैठौ खेल पर्वत र गोरखा बीच भएको थियो । उक्त खेलमा पर्वत बिजयी बनेको छ । तनहूँ र कास्कीबीच भएको अन्तिम खेलमा कास्की बिजयी भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पुरुष र महिलातर्फ १०/१० टिमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने (महिला तथा पुरुष तर्फको दुवै) टिमले एक लाख, दोस्रो हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्