| बुधबार, अशोज १३, २०८३

अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई सघाउँदै जर्मन संस्था एसईएस

गोरखाका विद्यालयहरुमा अंग्रेजी भाषा सुधारका लागि जर्मन संस्था एसईएसले पहल सुरु गरेको छ । सिनियर एक्सपर्ट सर्भिस(एसईएस)ले विशेषगरी अंग्रेजी माध्यममा सञ्चालित विद्यालयहरुमा अंग्रेजी भाषा सुदृढिकरण गर्न सघाउन सुरु गरेको हो ।

जर्मनीका लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको समन्वयमा नेपालमा काम गरिरहेको एसईएस नामक संस्थाले गोरखाको अंग्रेजी माध्यममा सञ्चालित विद्यालयहरुमा सेवा गर्न सुरु गरेको हो । केही दिनअघि सो संस्थाबाट अंग्रेजी भाषा प्रशिक्षणसम्बन्धी विशेषज्ञ एल्क बाराउस ह्युमेस गोरखा आएर सहिद लखन गाउँपालिका ९ नाम्जुङको जनशक्ति माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकहरुलाई प्रशिक्षण गराएकी थिइन् ।

‘अंग्रेजी अन्तर्राष्ट्रियस्तरको माध्यम भाषा हो । विकसित मुलुकमा यो भाषा संवृद्ध छ । विकासशील मुलुकमा पनि हरेक विद्यार्थी यो भाषामा दक्ष बन्नुपर्छ । त्यसैले यसको विकास गर्नमा हाम्रो संस्थाले जोड दिएको छ’, उनले भनिन्, ‘हामीले अरु जिल्लाहरुमा त यसअघिदेखि नै काम गरिरहेका छौँ । अहिले रामप्रताप थापाको समन्वयमा गोरखामा पनि यस क्षेत्रमा काम गर्न आएका छौँ ।’ लगातार तीनबर्षसम्म तालिम गराएपछि त्यसको उपलब्धी देखिने उनले बताइन् ।

एसईएसले विभिन्न क्षेत्रमा देशव्यापी रुपमा काम गरिरहेकाले सरकारसंग समन्वय र सहकार्य गरी काम गर्ने उनले बताइन् । के कसरी सेवा गर्न सकिन्छ भन्ने बारेमा जनशक्ति मावि तथा आसपासका विद्यालयका अंग्रेजी भाषाका शिक्षकहरुसंग राय सुझाव मागिएको भन्दै उनले सोही मागका आधारमा सेवा गर्न संस्था तत्पर रहेको बताइन् । शिक्षा, स्वास्थ्य तथा अरु विभिन्न क्षेत्रमा विशेषज्ञ भएर राष्ट्रसेवा गरेर सेवा निवृत्त भएका सिनियर विशेषज्ञहरु आवद्ध भएको संस्था एसईएसले विगतदेखि गोरखाको आँपपीपल अस्पतालमा पनि काम गरिरहेको छ ।

‘सेवा निवृत्त भएका सिनियर विशेषज्ञहरुले विकासशील मुलुकहरुमा आफ्नो दख्खल भएको विषय क्षेत्रमा स्वयंसेवा गर्ने उद्देश्यले यो संस्था स्थापना भएको हो’, ७० बर्षकी एल्क बाराउस ह्युमेसले भनिन्, ‘म पनि अंग्रेजी भाषाको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक हुँ । सेवाबाट निवृत्त भएपछि विभिन्न विकासशील मुलुकहरुमा आफ्नो विषयमा स्वयंसेवाका रुपमा प्रशिक्षण दिने गरेको छु । त्यही सिलसिलामा गोरखा आएको हुँ ।’यहाँका अंग्रेजी माध्यममा सञ्चालित सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयमा पनि अंग्रेजी शिक्षणसम्बन्धी थप सशक्तिकरण गर्ने उद्देश्य संस्थाको रहेको उनले बताइन् ।

आफूले यसअघि बर्दिया जिल्लाका विद्यालयहरुमा पनि अंग्रेजी भाषाका शिक्षकहरुलाई प्रशिक्षण दिएको र त्यहाँका ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको उनले बताइन् । ‘बर्दियाको सुन्दर सेकेण्डरी स्कूलका ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको छु’, उनले भनिन्, ‘उनीहरुले पढुञ्जेलसम्म सहयोग गर्ने उद्देश्य छ ।’ एसईएस संस्थामा सेवाबाट निवृत्त भएका सिनियर विशेषज्ञहरु भएकाले व्यक्तिगत रुपमा पनि सहयोग गर्न सक्ने उनले बताइन् । नेपालका नागरिक सरल, सिधासादा, इमान्दार भएकाले नेपालमा काम गर्न जर्मनहरुलाई रमाइलो लाग्ने एल्कको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्