
द्रव्यशाह बहुमुखी क्याम्पसको दशौँ बार्षिक साधारण सभा सम्पन्न
गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले क्याम्पसमा प्राविधिक धारका शैक्षिक कार्यक्रमहरु संचालनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
सभामा क्याम्पस संचालक समितिका कोषाध्यक्ष इश्वरकाजी मास्केले समितिबाट स्वीकृत भई कार्यान्वयनमा रहेको चालु आर्थिक बर्षको आयव्यय प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको १५ करोड १० लाख ९० हजार ७ सय १४ रुपैया बरारबको अनुमानित आयव्यय सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
क्याम्पस संचालक समिति अध्यक्ष शित्तलकाजी मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका पूर्व बिद्यार्थी समेत रहेका नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक राजनबिक्रम थापा, क्याम्पसका संस्थापक पुरुषोत्तम अर्याल, क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष धिरजबहादुर मास्के, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, महालक्ष्मी माविका संचालक समिति अध्यक्ष देवेन्द्र बस्नेत, प्राध्यापक संघका सचिव धर्मजंग थापा, स्ववियू सभापति सौनक घिमिरे लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दवाडीले क्याम्पसको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।




