
मनकामना बहिरा आवासीय माविले रजत उत्सव गर्ने
गोरखा नगरपालिका वडा नं. ९ मा अवस्थित मनकामना बहिरा माध्यामिक विद्यालयले २५ औँ बसन्त पार गरेको अवसरमा रजत उत्सव गर्ने भएको छ । विद्यालय उद्घाटन गरेको दिन फागुन २२ गते रजत उत्सव गर्न लागिएको बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विद्यालयको २०५५ साल फागुन २२ गते उद्घाटन गरिएको थियो । उक्त विद्यालय करिब ३२ रोपनी जग्गामा फैलिएको छ । स्थापना कालमा बहिरा मावि गोरखा बहिरा संघ अन्तरगत सञ्चालित विद्यालय हो ।
विद्यालयका प्रधानध्यापक अनिल अम्गाईले रजत कोष स्थापना गर्नका लागि उत्सवको आयोजना गरिएको बताए । विद्यालयलाई आवासीय खर्च भने सरकारले वर्षमा प्रतिव्यक्ति ४० हजार उपलब्ध गराउँछ । उक्त रकममध्य ३५ हजार आवसीय खर्च र पाँच हजार व्यक्तिगत खर्चको लागि विद्यार्थीलाई दिइने गरिन्छ । त्यसबाहेकको खर्च व्यवस्थापनमा भने निकै समस्या हुने गरेको उनले बताए । विद्यालयमा खपत हुने पानी बिजुलीको महसुल तिर्न पैसा अभाव हुने उनले गुनासो गरे । यसको लागि नियमित अनुदान समेत प्राप्त नहुने उनको भनाई छ । ‘ड्राई सिजनको बेला त विद्युत पानी धेरै खपत भएर महसुल १ देखि डेढ लाखसम्म नै पुग्छ’ उनले भने ।
त्यसैले रजत कोष सञ्चालन गर्नका लागि विद्यालय स्थापनकालदेखि हातेमालो गर्दै आएको संघ संस्था, व्यक्ति, विद्यालय सञ्चालन समिति, पूर्व कार्यसमिति, चन्दादाता तथा विद्यार्थीसँग आग्रह गर्ने पनि जानकारी गराए । सो कोषबाट आउने साँवा ब्याजको रकमले आन्तिरक तथा प्रशासनिक ठाउँमा खर्च गर्ने गरी रजत अक्षयकोष स्थापना गर्ने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खडानन्द रेग्मीले बताए । उनका अनुसार विद्यालयले ५० लाख सम्मको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । रजत कोष स्थापनाका लागि आर्थिक सहयोग गर्न अभियान नै सञ्चालन गर्ने अध्यक्ष रेग्मीले जानकारी गराए ।
विद्यालयका संस्थापक रामकुशल पन्तले सामान्य बहिरालाई शिक्षा दिनुपर्छ भनेर खोलिएको विद्यालय २५ औं वर्ष सम्म पुग्दा अचम्मित बनेको सुनाए । विद्यालय २५ औं वर्षसम्म आउन सफल भएता पनि अपङ्गता क्षेत्रमा शैक्षिक विकासका लागि धेरै काम गर्न बाँकी रहेको उनले बताए । प्रस्तावित विद्यालय भएकाले पर्याप्त मात्रमा शिक्षक नभएको संस्थापक पन्तले जानकारी दिए ।
अभावै अभावको बिचमा मनाउन लागिएको रजत उत्सवको मुख्य प्रथामिकताको विषय भने विद्यार्थीको आवास व्यवस्थापन गर्नु रहेको बताएको छ । अहिले बहिरा माविमा १४० जना विद्यायर्थी अध्यायनरत छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खडानन्द रेग्मीका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय समितिको सल्लाकार रामबाबु श्रेष्ठ, विद्यालय संस्थापक रामभुसाल पन्त, दोभाषिक शिक्षिका इन्दिरा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।




