
त्यो कस्तो प्रेम ?

त्यसको प्रेम निस्वार्थ थियो कसरी भनूँ ? प्रेम त आत्मैबाट हुन्छ होइन र ? त्यो पवित्र हुन्छ । त्यसले प्रेम गथ्र्यो । बुवाआमाले छोराछोरीलाई, भाइले बहिनीलाई, दिदीले दाइलाई अनि धर्तीले आफ्ना सन्तानलाई गर्ने प्रेम जत्तिकै । अझ भनूँ भने जूनले तारालाई, सूर्यले धर्तीलाई, धर्तीले आसमानलाई, प्रकृतिले प्राणीलाई, सलिलले सागरलाई, भमराले फूललाई गर्ने प्रेम जत्तिकै पवित्र ।
त्यो एउटा कलेजमा पढाउँथ्यो । ऊ त्यही कलेजमा पढ्थी । त्यसले उसलाई गरेको प्रेम उसलाई थाहा पनि थिएन । त्यो ऊप्रति आकर्षित भइरहेको थियो । चुम्बकले फलामलाई आफूतिर आकर्षण गरेजस्तै । हुन त उसलाई देखेर आकर्षित नहुने को थिएन र । ऊ रूपवती थिई । ब्रह्माले निकै फुर्सदमा बनाएझैँ लाग्थ्यो । मृगनयनी, गुलाबी ओठ, गहुँगोरो, कोकिलकण्ठी । ती अधरका मृदु मुस्कानले सबैलाई मोहित बनाएको थियो । त्यो विवाहित थियो भने उ डिग्री गर्दै गरेकी अविवाहित ।
कलेजमा पढाउने क्रममा भेट भएको थियो । त्यसको उसंग भेट भएको धेरै भएको थिएन । त्यसैले उसलाई पाए त स्वर्गै तरिन्थ्यो झै लाग्थ्यो ।
भनिन्छ प्रेम अन्धो हुन्छ, हो रहेछ । त्यो आफ्नो घरमा फूलजस्ती कोमल अनि पवित्र प्रेम भएकी पतिब्रता पत्नी हुँदाहुँदै अर्कैको प्रेममा पागल भएको थियो । बिहे गरेको पनि धेरै भएको थिएन । पत्नी सुप्रिया अति सुशील, मेधावी, भद्र र सोझी थिई । पतिलाई असाध्यै माया गर्थी । सासू ससुराको राम्रो ख्याल गर्ने, पारिवारिक जिम्मेवारी बुझेकी कर्तव्य परायण थिई । सबैलाई यथोचित मानसम्मान गर्थी । सबैकी प्यारी थिई ।
आफन्त, समाज सबैलाई साक्षी राखेर बाजा बजाएरै गरिएको मागी विवाह थियो । त्यसले पनि आफ्नी श्रीमतीलाई माया त गथ्र्यो तर खै कुन्नि किन, त्यो कलेज पढ्दै गरेकी स्त्रीतिर आकर्षित भएको थियो । उसलाई देखेपछि त्यो सिँह बन्थ्यो, मानौ ऊ त्यसको सिकार । त्यसै त्यसै त्यो प्रेमको सागरमा डुबुल्की मार्न पुग्थ्यो । अन्तर्मनमा ऊप्रतिको आकर्षणले त्यो थिचिन थालेको थियो । त्यो सोच्थ्यो, चाँडै जन्मिनु नै भूल भयो, र सुप्रियासँग विवाह चाँडै हुन पुग्यो । त्यो घण्टौँसम्म उसैको ख्यालमा डुबिरहन्थ्यो । त्यसले जति चाहेपनि उसलाई पाउन त्यति सजिलो थिएन ।
ऊ सामान्य परिवारकी थिई तर पढाइ लेखाइमा निकै अब्बल । त्यसले न त सामाजिक प्रतिष्ठा गुमाउन चाहन्थ्यो न त उसलाई पाउने इरादा बदल्न । त्यो त्याग र प्राप्तिको चक्रव्युहमा फँसेर तनाव झेल्दै थियो । त्यसले दुईओटा डुङ्गामा खुटटा राखेर गङ्गा तर्न खोजिरहेको थियो, जुन असम्भव थियो । कुन श्रीमतीले सौता भित्र्याउन चाहन्थी र ? त्यो आफ्नो श्रीमतीसंगको सम्बन्ध पनि नभत्कियोस्, उसलाई पनि पाइयोस् भन्ने तीब्र अभिलाषा राख्थ्यो, त्यसैले ऊ मनोरोगी भैसकेको थियो ।
यत्तिका मानिसहरु बहुबिवाह गरेर सुखीसाथ बाँचेकै छन् भने मैले बहुबिवाह गर्दा के फरक पर्ला र ? जागिर छँदै छ, खुसीसाथ राख्न कसो नसकुँला र ? यो विचार वर्षातमा पानीमा उठ्दै फुट्दै गरेको फोका जस्तै उठिरह्यो अनि, फुटिरह्यो । फोका लामोसम्म टिकिरहन सकेन किनकि त्यो अन्तर्मनदेखि बहुविवाह गरेर आफ्नो समाजिक प्रतिष्ठा गुमाउन पनि चाहदैन्थ्यो । त्याग र प्राप्तिको मनोद्वन्द्वले थिचिएको त्यसले उसलाई प्राप्त गर्न सामाजिक प्रतिष्ठा गुमाउनुपथ्र्यो ।
गुमाउनु पनि कसरी ? त्यसको लागि यो चुनौती थियो । सामाजिक मान, प्रतिष्ठा, मर्यादा, नैतिकता र अन्य सामाजिक सम्पति गुम्ने डर थियो ।
डबल डिग्री गरेको मान्छेले दुस्साहस गरेमा समाजमा कसरी मुख देखाउने भन्ने ठूलो त्रास थियो त्यसलाई । त्यो मानिस नै आँटिलो थियो हुने नहुने काममा आँट र साहस देखाउँथ्यो । त्यो भन्ने गथ्र्यो केही पाउनको लागि केही गुमाउनुपर्छ । यही बिचारले त्यसलाई ऊतिर डो¥याउन थालेको थियो ।
त्यो मान्छे गणित विषयमा मास्टर डिग्री गरिसकेको थियो । अबको लक्ष्य भनेको उसको शिक्षक सेवा आयोग उत्तीर्ण गरी स्थायी शिक्षक पदमा स्थायित्व प्राप्त गर्नु थियो । त्यो पनि स्मार्ट नै थियो । अझै स्मार्ट अनि स्लिम बन्न चाहन्थ्यो । त्यसको लागि हरदिन सबेरै उठ्नु ,मर्निङवाक गर्नु, शारीरिक व्यायाम गर्नु, योगा र ध्यान गर्नु, दैनिक उपन्यास पढ्नु उसको दैनिकी थियो । त्यो सफल मानिस बन्न चाहन्थ्यो । सफलता हासिल गरेर उसलाई देखाउन चाहन्थ्यो । सफल बनेर उसको दिलमा आफ्नो घर बसाउन चाहन्थ्यो ।
त्यसको मनमा सपनाको घर बन्थ्यो छिनमा भत्किन्थ्यो पनि, गौथलीले माटोको घर बनाएझैँ गौथलीको घर जति नै पटक भत्किए पनि बनाउन नछोडेझैँ । सफलतामा उसको प्रेमले सकारात्मक उर्जा प्रदान गरिरहन्थ्यो । ऊ पनि कम्तीकी थिइन । लेकको कस्तुरी मृगको झैँ उसको बासना बनैभरि फैलिरहेको थियो । कस्तुरीको बासना कस्तुरीलाई थाहा नभएझैँ उसलाई कतिले प्रेम गरिरहेका छ्न् भन्ने ज्ञात थिएन । हुने कुरा पनि भएन किनकि कसैले प्रेम प्रस्ताव गरेको पनि थिएन । त्यो उसलाई प्रेम प्रस्ताव राख्न चाहन्थ्यो राख्ने आँट आइरहेको थिएन ।
त्यो कलाप्रेमी थियो । उसको लागि त्यो लियोनार्दो दा भिन्ची बनिदिन्थ्यो । मोनालिसाको प्रेमले लियोनार्दो दा भिन्चीलाई मोहित बनाएझैँ, त्यो आफ्नो मनमा उसको तस्वीर सजाएझैँ उसको तस्वीर कापीको पानामा पनि कोरिरहन्थ्यो । कोरिएको सुन्दर अनि अदभूत स्वप्नील तस्वीर देखाउन चाहन्थ्यो । सकिरहेको थिएन । नयाँ नयाँ स्वाद लिन खोज्थ्यो ।
काठमाडौ शहर, तमाम ठाउँबाट थुप्रिएका सिकारुहरुको बौद्धिक जमात केन्द्रीय लाइब्रेरीमा थुप्रिएको थियो । उनीहरु त्यसै थुप्रोमा थपिन पुगेका थिए । त्यो प्राय पुस्तकालय गइरहन्थ्यो । बजारमा नयाँ नयाँ उपन्यास आयो कि खरिद गरी पढी हाल्ने त्यसको बानी थियो । त्यो उपन्यासको सौखिन मान्छे । खाजा खाने छुट्टीमा ऊ पनि पुस्तकालयमा पुस्तक साट्न अनि पत्रिका पढ्नको लागि आउने गर्थी । आफूले नजानेको कुरा उसले त्यसलाई सोध्ने गर्थी । त्यो पनि उसलाई सिकाउन र ऊसँग कुरा गर्न पाएर हर्षित हुन्थ्यो । उनीहरु घन्टौंसम्म पुस्तकालयमा बसिरहन्थे । मीठा मीठा कुरा गरिरहन्थे ।
ऊ बल्ल दोस्रो सेमेष्टरमा पुगेकी थिई । उसको पढाइ राम्रोसँग चल्दै थियो । मिहिनेती, अनुशासित र लगनशील थिई । कमाउँदै पढ्न चाहन्थी । त्यसैले राम्रै कमाइ हुने जागीरको खोजीमा थिई तर देशमा रोजगारीको अभाव थियो । देशमा चरम बेरोजगारी थियो । युवायुवतीहरुको विदेश पलायनको दर बढ्दो थियो तर उनीहरूमा बिदेश पलायन हुने सोच थिएन । नभएर पनि के गर्नु ? देशमा शिक्षित बेरोजगारको संख्या बढ्दै थियो ।
श्रीलङ्काको अर्थतन्त्र टाटपल्टिसकेको थियो । नेपालको पनि अर्थतन्त्र अत्यन्तै कमजोर अवस्थामा पुगिसकेको थियो । पालो नेपालकै हो जस्तो पनि लाग्थ्यो । त्यो आफ्नी प्रियसीलाई स्वरोजगार भएको देख्न चाहन्थ्यो तर यस्तो अबस्थामा उनलाई रोजगारी खोजिदिनु पनि सजिलो कुरा थिएन ।
बाबाआमाको कमाइले मात्र उसको पढाइ खर्च धानी नसक्नु थियो ।
बाआमा सामान्य खेतीपाती गर्नुहुन्थ्यो । हुर्की सकेकी छोरीलाई विवाह गरेर उसको घर पठाउन चाहन्थे । उसको घरमा बिहेको कुरा चल्न थाल्यो । उसका बाबाआमाले एउटा जागिरे केटा खोजिदिनु भएको थियो । ऊ साधारण अनि सोझी थिई, यद्यपि उसले पछिल्लो समयमा त्यसले आफूलाई प्रेम गर्न थालेको तर व्यक्त गर्न नसकेको बुझेकी थिई । बुझेर पनि के नै हुन्थ्यो र ? आमा बाबाको निर्णयको विरोध गरेर दुखी बनाउन चाहन्नथी ।
उता त्यसले शिक्षक सेवा आयोगमा नाम निकाल्यो । स्थायी शिक्षक हुने भयो । त्यसैले निकै खुसी थियो । त्यसले भन्थ्यो मेरो सफलतामा उसको हात छ । त्यो कुरालाई मैले कसरी व्यक्त गरुँ । त्यो स्थायी शिक्षक भएर अन्तै पदस्थापन हुँदै थियो । त्यसले सोच्यो यो मेरो लागि सुनौलो मौका हो । मौका आउँछ पर्खिदैन । त्यसले उसँग आफ्ना सबै मनका कुरा खुलेरै भन्नुपर्छ । त्यसले उसलाई क्यान्टिनमा खाजा खान बोलायो, उ आई साहुनीको क्यान्टिन उज्यालियो । साहुनीले कफी ल्याएर टेबुलमा राखिदिई । त्यसको मुटुको धडकन बढ्दै जान थालेको थियो । त्यसले उसलाई कफी लिन अनुरोध गर्यो ।
उसले झोला खोली, त्यसले आफ्नो मन खोल्न थाल्यो तर बीचैमा उसले विवाहको कार्ड त्यसको हातमा राखिदिई र भनी तपाईंको उपस्थिति अनिवार्य छ । तपाईं जुन विद्यालयमा पदस्थापन भए पनि मलाई बिर्सिनु त हुन्न होला नि ? मेरो तपाईं प्यारो शिक्षक । तपाइँले देखाएको बाटो म कहिल्यै भुल्ने छैन । त्यो स्तब्ध भयो । त्यसको मुख अँध्यारो भयो । कफी खल्लो भयो । कफिले त्यसलाई गिज्याउन थाल्यो । खाजाले त्यसलाई खान थाल्यो । त्यो त्यहाँबाट उठ्न खोज्यो । उठ्न सकेन ।
बोल्न खोज्यो शब्दभण्डार नै रित्तियो । अनायास त्यसको मुखबाट निस्क्यो मैले तिमीलाई गरेको त्यो प्रेम नि ? उसले भनी, के रे ? कस्तो प्रेम ? म विद्यार्थी, तपाईं शिक्षक । मौनता चिर्ने साहस कसैमा आएन । हिम्मत, आँट र साहस छिनभरमै शून्यतामा परिणत भयो । ऊ अर्कोतिर फर्केर सोच्यो, यो कस्तो खालको प्रेम ? उसले पनि सोची यो कस्तो प्रेम हँ ? सोच्दै उ बाटो लागी । त्यो उसलाई परसम्म एकोहोरो हेरिरह्यो । तर उसले एकपल्ट फर्केर पनि हेरिन ।




