
प्रिय प्रचण्ड, मेरो सपनाको नेपाल कहिले बन्ला ?
शिशिर देवकोटा, अजिरकोट गोरखा
पल्लाघरको अंकल विहानको हल्का व्यायमपछि ब्रेकफास्ट गर्दै काममा जानका लागि तयारी गर्दै हुनुहन्छ । हुन पनि सरकारी जागिर पो हो त, १० मिनेट ढिलो भयो भने पनि तलव मात्र काटिने होर, भोलि बढुवाको लागि मुल्यांकनमा पछि परिने कुरा नि निश्चित प्राय नै हुन्छ, पहिले जस्तो भनसुनले केहि हुँदैन, राजनीति गर्ने ठाउँ नै नभएर होला, आजकल नेपालमा यी कर्मचारी सङ्गठनहरुको अस्तित्व नै कहाँ पुग्यो भन्या ?
अहिले सरकारी कार्यालयहरु प्रायजसो दाङ मै भएर होला विहान र साँझको ट्रेनमा निलो कोटे रास्ट्रसेवककै वर्चश्व छ, ३० मिनेटको काठमाडौं दाङको भाडापनि ३० रुपैयाँ नै छ आउँदा–जाँदा ६० रुपैयाँ त लाग्छ, अंकल फेरि भन्नु हुन्छ, ‘पहिले आफ्नै गाडीमा काठमाडौंको अफिस जाँदा तीनचार सयको तेल खर्च हुन्थ्यो । अनि फेरि उस्तै जाम १० बजे नै अफिस त कहिलै पुग्या हैन, अहिले झापा देखि कञ्चनपुरको मेरो साथीहरु १० बजे नै अफिस आइपुग्छन् ।
फुपुको घरमा भोलि शनिवारको दिन घुमघामको लागि तयारी हुँदै छ । भारत, पोर्चुगल, चिलीबाट उच्च शिक्षाको लागि नेपाल आएका दाइका क्लासमेटहरु नि आज फुपुकै घरमा बसेका छन् । आजकल काठमाडौंको घरहरुमा तल्लो फ्ल्याटमा अनिवार्य पार्किङ्ग बनाउने नियम भएर होला, ४÷५ ओटा गाडी भोलि त्रिशुली रिसोर्ट जान तयारी अवस्थामा पार्किङमा देखिन्छ ।
मेरो दाईलाई यता आफ्नो कामको चटारो छ । उ कार्यरत नेपालकै एक पुरानो अस्पतालमा भोलि श्रीलंकाको रास्ट्रपतिको जटिल रोगको अपरेसन हुँदैछ ।
माल्दिभ्सको एक मन्त्रीको उपचार भएर हिजो मात्र डिस्चार्ज भएको कुरा यहिको एउटा लोकल पत्रिकामा छापिएको रैछ । अस्ति दाई काम गर्ने अस्पताल गएको जताततै टुटेफुटे नेपाली बोल्ने विदेशी कर्मचारीहरु, अहिले नेपाली अस्पतालमा विभिन्न देशको नर्सिङ र डाक्टरको संख्या पनि बढ्न थाल्यो । त्यसैले नेपाल मेडिकल काउन्सिलले योवर्षदेखि विदेशीको हकमा नेपालमा काम गर्ने ले नै परिक्षामा केहि कडाइ गर्दै छ रे ।
मेरो भाउजुलाई अफिसको काम ले भ्याइ नभ्याइ छ, अर्को महिना फागुनमा नेपाल लट्रीको रिजल्ट आउँदै छ रे, नेपाल सरकारले प्रत्येक ६÷७ हजार विदेशी नागरिकहरुलाई लट्रीमार्फत ओर्किङ्ग कार्ड दिएर विश्वमा आफ्नो सामाजिक उत्तरदायित्व पनि राम्ररी सम्बोधन गर्दै आएको छ ।
यहाँ बुबा हजुरबा लाई पनि समय विताउन समस्या छैन, अर्कोहप्ताबाट नेपाल र भारतको ३ ओटा क्रिकेट टेस्ट सिरिज हुँदैछ, विहानै नाति–नातिना स्कुल पठाएपछि दिउँसोको समय कहिले पार्क त कहिले खेल हेरेर वित्ने गर्छ, फेरि हरेक शुक्रवार र शनिवार त आफ्नो सिटीको फुटवल हेर्नु प¥यो, यो सिजन पनि गोर्खा सिटी अंक तालिकामा शीर्ष स्थान मै छ, यो हप्ता होम ग्राउन्डमा हुने खेल हेर्न गोर्खा जाने ट्रेनको टिकट स–परिवारकै बुक भैसक्यो ।
असोजदेखि पुस महिनासम्म पर्यटकको संख्या बढेर पोखरा लुम्विनीमा पाइला टेक्ने ठाउँ हुँदैन । माउन्टेन फ्लाइट काठमाडौं पोखरा भैरहवाबाट चलाउँदा पनि पुगेको छैन, एयरपोर्टको सुरक्षा चेकिङ पनि कति कडा भएको हो, फलफुल र ड्राइफ्रुट्स ल्याउँदा अस्ति भर्खर टर्कीबाट आएका २ जनाको भिसा रद्ध गरेर एयरपोर्टबाटै फर्काइदिएछन्, हिजो पनि ठमेलमा लुकेर काम गर्दै गरेका १६ जना फिलिपिनीलाई स्वदेश पठाउनु परेको थियो, जति कडाइ गरेपनि यहाँ आउने पर्यटक र कामदारको संख्या घटेको छैन ।
लुम्विनीमा प्रत्येक ३÷३ वर्षमा आयोजना हुने आर्थिक रुपान्तरणको लागि विश्व सम्मेलनमा अमेरिका, बेलायतबाट आउने राष्ट्र प्रमुखलाई यो पालि पोखरामा राख्ने प्रबन्ध मिलाइएको कुरा समाचार सुनेर थाहा पाएँ । पहिले–पहिले छिमेकी देशको राज्यमन्त्री आउँदा घन्टौं जाममा फस्ने नेपालीलाई आज कुन देशको राष्ट्रपति आयो भन्ने हेक्का समेत हुन छोडिसक्यो, यो पालिको सम्मेलनमा जसरी नेपालले आफुले उत्पादन गरेको जल–विद्युतले पूरा एसिया युरोपमा मार्केट लिन सफल भयो भन्ने कुरामा छलफल रैछ र यहाँको आर्थिक रुपान्तरणमा प्रमुख भूमिका खेल्ने पूर्व प्रधानमन्त्रीलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रैछ ।
चिया सेलाइसक्यो, कान्छो छोरा उठ, भित्ताको घडी हेर्दा ५ः३० भैसक्याथ्यो, ममीको तीखो आवाज र ढोकाको च्यार्रर आवाजले त मेरो थकित शरीर मात्र हैन कुनै रेजिडेन्टको शरीर उठ्दैन होला, तर अस्पतालको बाँकी काम सम्झिएर ६ डिग्री चिसोमा पनि शरीर जुरुक्कै उठ्यो, ३६ घन्टे ड्यूटीको लागि ममीले व्याग तयार पारिसक्नु भएको थियो ।
छिटो–छिटो तयार भएर अस्पतालतर्फ लम्किहाले, बाटोमा राती देखेको सपनाहरु घुमिरहे, मैले सोच्न थालेँ कि आज आफ्नो सन्ततिको उच्च शिक्षाको लागि मेरो गाउँ को ८० प्रतिशत मान्छे सहर आएका छन्, भलै सहर आउनुमा रोजगारी गरिवी स्वास्थ्य पनि कारण होलान्, गुणस्तरीय शिक्षाको लागि सहर आउने कुरा मेरो बुबाले त २५ वर्षअघि नै महशुस गरेर हामीलाई काठमाडौं ल्याउनु भएको रैछ, यति भनौं २५ वर्षपछि शिक्षाको महत्व बुबाले त्यतिबेला बुझ्नु भएको रहेछ, र मेरो आउँदो सन्ततिको भविष्यका लागि म नेपालमै बस्ने कुरा २५ वर्षदेखि गाउँ नै कुरेर बसेको गाउँलेको जस्तो त हुने हैन ? मेरो श्रीमतीले बारम्बार २० वर्षपछि हाम्रो बच्चाहरुलाई तातो घाममा राहदानी लिन लाइन लाग्नु भन्दा अहिलै हामी लाइन बसौंन, जसरी नि लाइन त बस्नै पर्छ भनेर व्यङ्ग्य गरिरहन्छिन् ।
बेला बेलामा श्रीमती भन्छिन, ‘ठिक छ, विदेश जाँदैमा हामीले जन्माएको बच्चाहरु रोनाल्डो, मेस्सी, सचिन बन्छ भन्ने ग्यारेन्टी त छैन तर उसमा केही क्षमता छ भने अवश्य पनि फक्रने अवसरचाहिँ पाउने छ । यो देशमा न त अवसर पाइन्छ, न त क्षमता को नै कदर हुन्छ, देखिएको सपनाहरुलाई अपहरण गर्दा लामवद्ध रुपमा उभिएका दलाल, फटाहाहरुको वर्चश्व अनुभवी मात्र त गर्न पाइन्छ ।
नेपालमा एउटा बच्चा जन्मेपछि उसको जीवन चक्रको स्थिर साइकल छ, जन्मने अनि १० कक्षा पढ्ने अनि प्लस टु अनि ब्याच्लर हुँदै मास्टर डिग्री लिने, अनि इन्ड पोइन्ट भनेको बेरोजगारी बन्ने र यो साइकल स्थिर चलिराख्छ, साइकल कहिल्यै परिवर्तन हुने वाला छैन, यहाँ परिवर्तन हुने त मन्त्रीहरु हुन्, सांसदहरु हुन्, अनि नगरपालिका र गाउँपालिकाका राजा महाराजानहरु मात्र हुन् ।
६ः३० बजे अस्पतालको भ¥याङ चड्दैगर्दा फेरि मनमा कुरा खेल्न थाल्यो, मेरो राती देखेको सुन्दर नेपाल बन्न कुनै शासकीय प्रणालीले रोकेको छ र ? प्रणाली त हामीले खोजेकै जस्तो त छ, जुनसुकै मन्त्रीलाई पनि देख बनाउनु हुन्न भन्ने सोचाइ त पक्कै छैन, सबैलाई केहि गरेर देखाउन् भन्ने जोश जाँगर भए जस्तो लाग्छ तर पनि यो देश किन खोजेको, सोचेको जस्तो बन्न सकेको छैन ?
देशको नेतृत्व गरिरहनु भएका प्रिय प्रधानमन्त्री सरकार र राज्य सञ्चालन प्रणाली सिस्टममा चलोस, तपाई २÷५ वर्ष प्रधानमन्त्री हुदैमा देश रातारात बन्ने होइन, देश बन्न समय लाग्छ तर तपाइको कार्यकालमा देशलाई एउटा सिस्टममा हालिदिनुस्, जसरी धानको मिलमा इन्जिन सुरु गरेपछि फित्ता आफैं चल्न थाल्छ, पानी रोटेट हुन थाल्छ, धान आफैं बग्छ ढुटो र चामल बेग्ला बेग्लै आफैं छुटिएर निस्कन्छ, त्यसरी नै तपाईले देशलाई एउटा सिस्टमा हालिदिनुस् र तपाईपछि आउने परिवर्तन नेतृत्वको काम इन्जिन स्टार्ट गर्ने मात्र होस, देशको विदेश नीति, आर्थिक नीति र राज्य संचालन प्रणाली सधैं स्वचालित सिस्टममा चलिरहोस् ।
साँच्चै भन्नु पर्दा मेरो परिवारको म बाहेकको दाजुभाइ, दिदीबहिनीहरु विदेशमै सेटल भैसक्नु भएको छ । हरेक दिन दाजु दिदीसँग कुरा गर्दा विदेश आउन कै लागि दवाव आइराख्छ । अनेस्टली भन्नु पर्दा नेपालमा म बस्नु परेको कारण सबैले छोडेको मेरो बुबा ममीको माया र जिद्दीपनबाहेक अरु केही हैन । के अहिले बहुमत संसदको भोट पाएर बनेको नयाँ सरकारले विदेश पलायन हुने सोच्न वाध्य पारिएको मजस्तै हजारौं युवाहरुलाई रोक्न सक्ला ?
२०६३÷०६४ सालमा राजतन्त्र ढलेपछि प्रचण्ड सरकार बन्छ अनि नयाँ नेपाल बन्छ भनेर सपना देख्ने म जस्तो करोडौं नेपालीको सपना को नेपाल कहिले ? मनमा यही कुराहरु मात्र खेलिरहेको थियो । ६ः४४ बजिसकेछ, वार्डमा भएको विरामीको प्रोग्रेस नोट ढिलो भैसक्यो भनी सबै कुरा विर्सेर फेरि विरामी र रोगप्रति मनलाई केन्द्रित गरी आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ लागेँ ।
लेखक डाक्टर शिशिर देवकोटा
अजिरकोट, ५ गोरखा
हाल त्रिवि शिक्षण अस्पताल




