| मङ्लबार, अशोज १९, २०८३

शक्ति माविको ७० औं वार्षिकोत्सव सम्पन्न

जिल्लाकै सबैभन्दा जेठो शक्ति माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । गोरखा नगरपालिका ६ पाटेचौरस्थित सो विद्यालयले तीनदिनसम्म विभिन्न कार्यक्रम गरी शुक्रबार बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

शुक्रबारको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न औपचारिक समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले विद्यालय गानको विमोचन गरेका थिए । राजुकुमार श्रेष्ठको शव्द, अनिश श्रेष्ठको संगीत र गणेश श्रेष्ठ र साथीहरुको स्वरमा सजिएको विद्यालय गान प्रार्थना समय तथा अन्य विभिन्न कार्यक्रमहरुमा बजाउने योजना रहेको प्राधानाध्यापक बद्री अर्यालले जानकारी दिए । विद्यालय गान निर्माण गर्ने तीनै जनालाई सो समारोहमा सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयमा उत्कृष्ठ सेवा गरेका तीन शिक्षकलाई सम्मान गरिएको थियो । खेमबहादुर ओली, विष्णुहरि वाग्ले र कल्पना पोखरेललाई २०७८ को बर्ष उत्कृष्ठ शिक्षकका रुपमा सम्मान गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा छात्रवृत्ति वितरण गर्ने १७ वटा ट्रस्टका संस्थापकहरुलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा प्रधानाध्यापक अर्यालले वार्षिक प्रगति प्रतिवेदन तथा आय, व्याय विवरण प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि थापा मगर, पूर्व प्रधानाध्यापक तथा वर्तमान व्यवस्थापन समितिका सल्लाहकार रामचन्द्र आचार्य, नेपाल शिक्षक महासंघका अध्यक्ष गोपालबाबु मरहट्टा, उपाध्यक्ष उदयबहादुर भट्ट, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बाबुराम विक, एसएलसी व्याच २०५६ का अञ्जन खत्री लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्