| मङ्लबार, अशोज १९, २०८३

गोरखाका अधिकांश विद्यालयमा बायोमेट्रिक हाजिरी प्रयोगबिहिन

केशव गुरुङ :

सामुदायिक विद्यालयहरु स्थानीय तह माताहत गएपछि पालिकाले सबै सामुदायिक विद्यालयमा बायोमेट्रिक हाजिरी गर्ने मेसिन वितरण गरेको थियो । धेरै विद्यालयमा वाइफाई, सिसि क्यामेरा, प्रोेजेक्टर लगायत उपकरण पनि वितरण गरेको थियो ।

शिक्षकको हाजिरी(उपस्थिति)लाई नियमित गराउने उद्देश्यले वितरण गरिएको बायोमेट्रिक हाजिरी उपकरण बिगत केहीबर्षयता प्रयोग विहिन भएको छ ।

गोरखाका अधिकांश विद्यालयहरुमा ‘बायोमेट्रिक हाजिरी’ प्रणाली लागु हुन नसकेको पालिका स्वयं जानकार छ । तर नियमित गराउन पहल गरेको छैन । पालिकाको शिक्षा शाखाले प्रभावकारी अनुगमन गर्न नसक्दा संचालनमा भएका मेसिन पनि विग्रिएर थन्किएको छ ।

सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित र तोकिएको समयमा विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन गर्न विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न सुरु गरिएको थियो । शिक्षक विद्यालय आए पनि पूरा समय विद्यालयमा नबस्ने र यसको प्रत्यक्ष प्रभाव अध्ययनरत विद्यार्थीहरुमा पर्न थालेपछि विकल्पको रुपमा बायोमेट्रिक हाजिरीको व्यवस्था लागु गरिएको थियो ।

तर गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका र गण्डकी गाउँपालिका बायोमेट्रिक हाजिरी व्यवस्था लागु भएको छैन । यीबाहेक अन्य पालिकाहरुमा पनि केही विद्यालयमा लागु भएको र केही विद्यालयमा उपकरण बिग्रिएर थन्क्याएर राखिएको छ ।

गोरखा सदरमुकाममा रहेको गोरखा नगरपालिका भित्रका विद्यालयहरु समेत बायोमेट्रिक हाजिरीको व्यवस्था लागु भएका छैनन् । यसअघि लागु भएता पनि अहिले नगरपालिकाभित्र कुनै पनि विद्यालयमा बायोमेट्रिक हाजिर गर्ने व्यवस्था नभएको नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

कोभिड अगाडिसम्म संचालनमा रहे पनि त्यसपछि भने बायोमेट्रिक सिस्टम हाजिरी गर्ने चलन हराइएको उनले बताए । आफू गोरखा नगरपालिकामा सरुवा भई आएको दुईवर्ष भएको र अहिलेसम्म बायोमेट्रिक हाजिरीको अवस्था बारे थाहा नभएको बताए । अहिलेका जनप्रतिनिधि भर्खर नयाँ भएको वडा, पालिका भौतिक निर्माण गर्नबाहेक अरु विषयमा त्यति ध्यान नदिएको समेत उनको भनाइ छ ।

दुर्गम चुमनुब्री गाउँपालिकामा पनि बायोमेट्रिक हाजिरी गर्ने प्रणाली अहिलेसम्म लागु नभएको पालिकाका शिक्षा शाखा प्रमुख वासुदेव वलीले बताए । दुईवटा मात्र मावि रहेको चुमनुब्रीमा यो सिस्टम लागु नभएको शिक्षा शाखा प्रमुख वलीले बताए । धार्चे गाउँपालिकाको मणिकामदेवी माविमा भने कोभिडपछि पुनः बायोमेट्रिक हाजिरी गर्न सुरु गरिसकिएको छ । अन्य विद्यालयमा लागु नभएको पालिकाका शिक्षा प्रशासन शाखाका अधिकृत ताराप्रसाद आचार्यले जानकारी दिए ।

बारपाक सुकिलोट गाउँपालिकामा पनि हालसम्म बायोमेट्रिक हाजिरी गर्ने व्यवस्था लागु नभएको पालिकाका शिक्षा अधिकृत बसन्त राज भट्टले बताए । त्यस्तै, जिल्लाको गण्डकी गाउँपालिकामा पनि यो सिस्टम लागु भएको छैन । पालिका भित्रका माविहरुमा बायोमेट्रिक हाजिरीका लागि सामग्री वितरण गरिएको भएपनि हालसम्म लागु नभएको गण्डकी गाउँपालिका शिक्षा अधिकृत सुदिप पन्थले बताए । ‘बायोमेट्रिक हाजिरी प्रणाली सुरु गर्न पालिका भित्रका माविहरुमा मेसिन वितरण भएको तर कोभिड सुरु भएपछि सबै निष्क्रिय भएको रहेछ । अव अर्को आर्थिक वर्षबाट सबै माविमा लागु गर्ने तयारीमा छौ’, उनले भने ।

आरुघाट गाउँपालिका भित्रका सबै माविमा हालसम्म पनि विद्युतीकरण हुन नसक्दा बायोमेट्रिक हाजिरी प्रणाली अनिवार्य लागु गर्न सकेको छैन । १४ वटा मावि रहेको यस पालिकामा केही विद्यालयहरुमा भने बायोमेट्रिक हाजिरी व्यवस्था संचालनमा रहेको गाउँपालिका शिक्षा शाखाका अधिकृत करुणा पनेरुले बताइन् ।

यो वर्षको हिउँदे अधिवेशनले सबै विद्यालयमा विद्युतीकरण गर्ने निर्णय गरेको र त्यसपछि विद्यालयमाहरु यो सिस्टम लागु गर्ने उनले जानकारी दिइन् । यो व्यवस्था लागु नहुँदा शिक्षकहरु जति बेला पनि रजिष्ट्ररमा हाजिरी गरेर आउने जाने गर्न सक्ने तर डिजिटल बायोमेट्रिक हाजिरी लागु भएमा शिक्षकहरुमा अनुशासन कायम हुने उनले बताइन् ।

सिरानचोक गाउँपालिकामा २०७६÷७७ बाट बायोमेट्रिक हाजिरीको व्यवस्थालागु भएको थियो । पालिका भित्रका १५ वटा मावि मध्ये तीन÷चार वटा विद्यालयमा समस्या देखिएको र अन्य विद्यालयहरुमा भने संचालनमा रहेको पालिकाका शिक्षा शाखाका कृष्ण पोखरेलले बताए । केही कोभिड बेलामा बन्द भएको र केही नयाँ भवन सार्ने गर्दा विग्रिएको उनले बताए ।
अजिरकोट गाउँपालिकामा पनि उस्तै समस्या छ ।

२०७७ सालमा पालिका भित्रका सबै माविहरुमा बायोमेट्रिक हाजिरी व्यवस्था लागु गरिएको थियो । तर अहिले केही विद्यालयमा मात्र संचालनमा रहेको अधिकांश विद्यालयमा सो सेवा बन्द रहेको पालिकाका शिक्षा अधिकृत सिताराम पन्तले बताए । पालिकाभित्र रहेको आठ वटा मावि मध्य अनुगमनको क्रममा केही विद्यालयमा मात्र बायोमेट्रिक हाजिर सञ्चालनमा रहेको, धेरैमा प्रयोगविहिन भेटिएको उनले बताए ।

पालुङटार नगरपालिकाका सबै मावि स्तरका विद्यालयमा बायोमेट्रिक हाजिरी गर्ने व्यवस्था संचालनमा रहेको छ । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख माधव पोखरेलका अनुसार पालिकाभित्रका १४ वटा माविमा बायोमेट्रिक हाजिर गर्ने व्यवस्था रहेको बताए ।

तर एकदुई वटा विद्यालयमा मेसिन बिग्रिएको भन्ने खबर आएको र त्यसलाई मर्मत गरी संचालन गर्ने निर्देशन दिएको उनले बताए । कोभिडको बेला केहि समय बन्द भए पनि पछि सुचारु भएको उनको भनाइ छ । पालुङटारमा २०७५ साल देखि नै बायोमेट्रिक हाजिरको व्यवस्था लागुभएको हो ।

सहिदलखन गाउँपालिका भित्रका पनि बायोमेट्रिक हाजिरी गर्ने मेसिन थन्किएको छ । गाउँपालिकाले २०७४ सालमा विद्यालयलाई बायोमेट्रिक वितरण गरेको थियो । उक्त मेसिन दुई वर्षसम्म संचालन भएता पनि अहिले सबै बन्द भएका छन् । ११ वटा मावि रहेको यस पालिकामा कुनै सफ्टवेयर विग्रिएको र कुनै ब्याट्री सकिएका कारण थन्किएर राखिएको पालिका शिक्षा अधिकृत राजेन्द्र खनालले बताए ।

दुई वटा मेसिनलाई मर्मत गरे पुन संचालन गर्न सकिने उनको भनाइ छ ।
बायोमेट्रिक हाजिरी व्यवस्था संचालनका लागि जनशक्ति अभाव हुनु, प्राविधिक त्रुटिले संचालन गर्न नसक्नु र विगत ४÷५ वर्षको अवधिमा आधा भन्दा बढी शिक्षकहरु फेरिएका कारण संचालन गर्न कठिनाइ भएको उनले बताए । पालिकाले कसरी संचालन गर्न सकिन्छ भनेर पालिका अध्यक्षसँग छलफल भइरहेको बताउदै छिट्टै सबै विद्यालयमा लागु गर्ने तयारीमा रहेको समेत उनले बताए ।

भीमसेन थापा गाउँपालिकामा पनि २०७५ सालबाट माविस्तरका सबै विद्यालयमा बायोमेट्रिक हाजिरी लागु भएको थियो । १२ वटा मावि रहेको यहाँ केही विद्यालय संचालनमा छ भने केही विद्यालयमा मेसिन विग्रिएको बन्द अवस्थामा रहेको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत यानबहादुर नेपालीले बताए । बायोमेट्रिक हाजिरी व्यवस्था लागु हुँदा विद्यालयको समय अनुसार शिक्षकहरु टाइममा आउने, जाने सिस्टम हुने, शिक्षकहरुको जिम्मेवारी बढ्ने, बीचमै छोडेर जान नमिल्ने, विद्यालय उपस्थित भएनभएको सबै रेकर्ड हुने, सो रेकर्ड पछिसम्म हेर्न मिल्ने उनले बताए । साथै यसले विद्यालयमा अनुशान कायम हुने, शिक्षकहरु सबैले समयको ख्याल उनले बताए ।

प्रतिक्रिया दिनुहोस्