
जेनियस बोर्डिङ स्कूलको १६ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न
गोरखा नगरपालिका वडा नं ७ मा रहेको जेनियस गोरखा इङलिस स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विविध कार्यक्रम गरी विद्यालयको वार्षिक उत्सव एवं अभिभावक दिवस मनाइएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कविता, नृत्य नाटक प्रस्तुत गरेका थिए । साथै २०७८ सालमा एकदेखि १० सम्म उत्कृष्ट अंक ल्याउने प्रथम, दोस्रो र तृतीय भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने गतवर्ष एसईईमा उतीर्ण भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका सचिव विनोद अर्यालयले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा अध्ययन बालबालिकाहरुले विज्ञान सम्बन्धी विभिन्न कलाहरु पनि प्रदर्शनी गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शितलकाजी श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, वडा नं ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, प्याब्सन गोरखाका अध्यक्ष कमल थापा, बेष्ठ मण्टेश्वरी चिल्ड्रेन हाउस नयाँ बजारका प्रधानाध्यापक कल्पना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




