
उत्तरी गोरखाको तमू भाषा शब्दकोश विमोचन
उत्तरी गोरखाको तमू भाषा शब्दकोश विमोचन गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उत्तरी गोर्खा तमू शब्दकोश विमोचन गरेका हुन् ।
प्रतिष्ठानको आर्थिक र प्राविधिक सहयोगमा तयार भएको उत्तरी गोरखामा बोलिने तमु भाषा शब्दकोष विमोचन गरिएको उत्तरी गोरखाका तमु समाज(फुङ) का अध्यक्ष इमानसिँ गुरुङले बताए ।
उत्तरी गोरखाको तमू शब्दकोष निर्माणका लागि इमानसिँ गुरुङका निर्देशन तथा भाषाविज्ञ टेक बहादुर गुरुङको सम्पादनमा शब्दकोष तयार भएको हो । शब्दकोष लेखनका लागि बारपाकका गौतम गुरुङ, तेज बहादुर गुरुङ, लाप्राकका किरण गुरुङ, सन्त बहादुर गुरुङले सहयोग गरेका थिए । प्राज्ञिक तर्फबाट प्रा. तारा मुनी राइको सहयोगमा शब्दकोष तयार भएको हो । हाल प्रतिष्ठानको आर्थिक सहयोगमा २ सय प्रति शब्दकोष छपाइ सम्पन्न भइसकेको छ ।
उत्तरी गोरखामा बोलिने गुरुङ भाषालाई लिपिबद्ध गर्न शब्दकोष निर्माण गरिएको शब्दकोशका निर्देशक इमान सिँ गुरुङले जानकारी दिए ।
‘हाम्रो आफनो मौलिक भाषा संस्कार, संस्कृति लोप हुने अवस्थामा पुगेको थियो । उत्तरी गोरखाको तमु समुदायले आफनो भाषा जर्गेना गर्न, संरक्षण गर्नका लागि शब्दकोष आवश्यकता महशुस भयो । त्यसैले लामो समयको प्रयासबाट शब्दकोष तयार भएको छ,’ उनले भने । आफनो मौलिक भाषाको शब्दकोष नहुदा भाषा, संस्कृतिको संरक्षण नहुने देखिएको पछि शब्दकोष निर्माण गरिएको उनले बताए ।
४ हजार ५ सय शब्द रहेको उक्त शब्दकोषमा गाउँघरमा बोलिका सबै शब्द, विभिन्न बोटविरुवाका नामहरु सबै समेटिएको छ । यो पहिलो खुडकिलो भएको बताउदै कतिपय लोप भइसकेको भाषाहरु अध्ययन अनुसन्धान गर्दै अझै थप गर्दै शब्दकोषलाई परिमार्जन गर्दै जाने गुरुङले जानकारी दिए । सबैको साथ र सहयोगमा यसलाई वृहत शब्दकोष बनाउने योजनामा छ । उत्तरी गोरखाको तमुभाषा शब्द सग्रह निर्माण गरी सोहि अनुसार शब्दकोष निर्माण गरिएको हो । शब्दकोष निर्माण भएपछि भावी सन्ततीलाई आफनो भाषा, संस्कार, संस्कृति पुस्तान्तरण गर्न सजिलो हुने उनको भनाइ छ ।
यहि शब्दकोषकै माध्यमबाट नै विद्यालयमा पठनपाठन गर्नुका साथै पाठ्यपुस्तक तयार गर्न गर्न पनि सजिलो हुने शब्दकोषका सम्पादक टेक बहादुर पुंगी गुरुङले बताए । उनका अनुसार उत्तरी गोरखा बोलिने गुरुङ भाषा सिक्न चाहानेहरुका लागि यो शब्दकोशले धेरै सहयोग पुग्नेछ । यहि वर्ष भित्र वोन संस्कार र संस्कृति सम्बन्धित पुस्तक निकाल्ने तयारीमा रहेको समेत उनले बताए ।
कार्यक्रममा विभिन्न भाषामा आधारित १९ वटा पुस्तकहरु विमोचनको क्रममा उत्तरी गोरखाको तमू शब्दकोष पनि विमोचन गरिएका शब्दकोषका निर्देशक इमानसिँ गुरुङले बताए ।
आदिवासी जनजाती उत्थान प्रतिष्ठान उपाध्यक्ष गोकुल घर्ती मगर अध्यक्षता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भाषा आयोग अध्यक्ष राम बहादुर थापा, आदिवासी जनजाति महासंघको अध्यक्ष ग्याल्जेन शेर्पा लगायत विभिन्न समुदायको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




