
किताब छैन ? नो टेण्सन, लुमाले पढाउँछ
गोरखाका सबै विद्यालयमा पठ्यपुस्तक पुग्न शैक्षिक सत्र सुरु भएको तीनदेखि पाँच महिनापछि समय लाग्छ । कतिपय विद्यालयमा त शिक्षकसँग भएकै किताबले आधाआधी कोर्श सकिन्छ । पाठयक्रम फेरबदल नभएको बेला त पुराना किताबले केही भरथेग होला तर पाठ्यक्रम फेरिएपछि नयाँ छापिने पाठ्यपुस्तक धेरै ढिला गरी विद्यार्थीको हातमा पर्छ । गोरखामा जस्तै पाठ्यपुस्तक अभावको समस्या गत शैक्षिक सत्रमा देशभर थियो ।
नयाँ शैक्षिक सत्र सुरु भएदेखि नयाँ होस् या पुराना पाठ्याक्रममा आधारित पाठ्यपुस्तकबाट विद्यार्थीलाई पढाउन ‘सिकाई बाकस’ (लुमा) ले सहज हुने भएको छ । सिकाई बासक(लुमा) कम्प्यूटर र प्रोजेक्टर जडित हुन्छ । कक्षा १ देखि १२ सम्म पाठ्यक्रम बिकास केन्द्रले स्वीकृत गरेका पाठ्यक्रममा आधारित हरेक पुस्तक ‘लुमा’ भित्र हुन्छ ।
‘पुस्तक मात्र होइन, कुन पाठ पढाउँदा मिल्दोजुल्दो अन्य सामग्री के हुन सक्छ त्यो पनि त्यहाँ छ’, पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले भने, ‘किताब पुगेन भनेर वर्षेनी हाहाकार भइरहेका बेला हाम्रा विद्यालयहरुका लागि यो एउटा बैकल्पिक आधार हुनसक्छ ।’ यी सामग्री पढाउन, हेर्न अफलाईनबाट सकिन्छ । ‘पाठ्यक्रम बद्लियो र थपघट गर्नुपर्ने भयो, सुधार गर्नुप¥यो भनेपनि सिकाई बाकसलाई अनलाईन राखेर इन्टरनेटको माध्यमले जहाँबाट पनि सामग्री थप्न सकिन्छ’, महानिर्देशक अर्यालले थपे ।
हरेक कक्षामा एक÷एक वटा सिकाई बाकस हुने हो भने सहज हुनेछ । अहिले यसबाट विद्यार्थी, शिक्षकमा कस्तो प्रभाव पर्छ, सिकाईको स्तरमा के सुधार हुन्छ भन्ने हेर्न लागिएको उनले बताए । ‘किताबको सट्टा लुमा(सिकाई बाकस)बाट सहज भयो भने सरकारले अपनत्व लिएर अघि बढाउँछ’, महानिर्देशक अर्यालले भने । अहिले तयार भएको सिकाई बाकसमा केही छुटेको वा थप गर्नुपर्ने, सुधार गर्नुपर्ने विषयहरु छन् भने सुधार गर्न सकिने उनले बताए ।
नेपालमा एकसय वटा विद्यालयमा लुमाको प्रयोग गर्न लागिएको छ । ‘सिकाई बाकस’ गण्डकी प्रदेशका ३५ वटा विद्यालयलाई बितरण गरिएको शैक्षिक स्रोत तथा बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक भीमप्रसाद पोखरेलले बताए । शिक्षा तथा मानव विकास स्रोत केन्द्र, पाठ्यक्रम विकास केन्द्रले मन्त्रालयसँगको सहकार्यमा तयार गरेका सामग्री सिकाई बाकसमा राखिएको छ । ‘अनिवार्य विषयका सबै पुस्तक छन्’ उनले भने ‘विषयबस्तुसँग मिल्दो अडियो, भिडियो सामग्रीहरुपनि त्यहाँ छ, कक्षाकोठामा सहजै प्रयोग गर्न सकिन्छ ।’
शनिवार गोरखाका ११ विद्यालयलाई उक्त सामग्री(लुमा) हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले शिक्षकहरुले सिकाई बाकसको धेरै प्रयोग गर्नुपर्ने बताए । गोरखाका ११ विद्यालयका दुई जना विद्यार्थी र दुई जना शिक्षकलाई दुईदिन सिकाई बाकस कसरी संचालन गर्ने भन्ने बारेमा तालिम दिइएको थियो ।
रोटरी क्लव अफ अमेरिकाको सहयोगमा रोटरी क्वल अफ पोखराले नमुना परीक्षण परियोजनाको रुपमा यो संचालन गरेको कार्यक्रम संयोजक मिनु कुँवरले बताईन । ‘तपाईहरुले राम्रोसँग प्रयोग गर्नुभयो र यसको आवस्यकता भयो भने रोटरी क्लवले थप विद्यालय र कक्षाकालागि सहयोग गर्नसक्छ’ रोटरी क्लव अफ पोखराका पूर्व अध्यक्ष ज्ञानेन्द्र सिग्देलले भने ।
गोरखाको धार्चे र चुमनुब्री जस्ता दुर्गम गाउँपालिका भित्रका विद्यालयलाई सिकाई बाकस आवश्यक रहेको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख सुवास आचार्यले बताए । ‘पालिकाभर मावि दरबन्दी नभएका विद्यालय पनि यहाँ छन्, त्यस्ता बिद्यालयमा यो अझै प्रभावकारी हुने देखियो’, उनले भने । सरकारी विद्यालयमा लगानी र प्रविधि बढे पनि गुणस्तर नबढेको भन्ने आरोप सँधै लाग्ने भएकाले ईलिर्निङका माध्यामले गुणस्तर बढाउन सकिने उनले बताए ।
गोरखाको ज्ञानज्योती मावि, चर्तुमाला मावि, जनता मावि, अमरज्योती मावि, जिवनज्योती मावि, अकला मावि, सरस्वती मावि, मण्डली मावि, परोपकार मावि, महेन्द्रलिला मावि, जनज्योती माविलाई सिकाई बाकस प्रदान गरिएको छ ।
लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पर्वत लगायत जिल्लाका ३५ विद्यालयलाई यो बकास दिइएको हो । त्यहाँ हुने सिकाईको गुणस्तर र प्रयोगको अवस्थालाई मापन गरेर थप बिस्तार गर्ने योजना रहेको शैक्षिक स्रोत बिकास केन्द्रका अध्यक्ष थितिजराज प्रसाईले बताए ।
करिब १५ वर्षअघि गोरखामा तुईन बनाउन आएका अमेरिकी नागरिक डेबिड र स्कीपले विद्यार्थीहरु किताब बिना विद्यालय गएकोदेखेपछि उनीहरुले दुर्गमका विद्यार्थीलाई पुस्तक बिना पढाउन कसरी सकिन्छ भन्ने बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययनबाट ‘सिकाई बाकस’ तयार भएको थियो ।




