| मङ्लबार, अशोज १९, २०८३

गोरखा क्याम्पसमा स्वास्थ्य शिक्षामा स्नातकोत्तर पढाइ हुने

गोरखा नगरपालिका ५ स्थित गोरखा क्याम्पसमा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । यसै बर्षदेखि स्वास्थ्य विषयमा स्नातकोत्तर तहको भर्ना खुल्ला गर्ने तयारी गरेको क्याम्पस प्रमुख रामशरण बानियाँले जानकारी दिए ।

‘हेल्थमा स्नातकोत्तर तहमा पढाइ गर्न धेरै माग भइरहेको छ’, क्याम्पस प्रमुख बानियाँले भने, ‘त्यसैले क्याम्पसको हेल्ड विभागले निर्णय गरेर क्याम्पस प्रमुखसित माग गरेको छ । मैले पनि माग गरेर त्रिभुवन विश्वविद्यालयमा लेखी पठाएको छु ।’

विश्व विद्यालयले सम्भाव्यता अध्ययन गरिसकेको उनले बताए । ‘सहायक डिन राजेश्वर यादव नेतृत्वको टिमले सम्भाव्यता अध्ययन गरेर फर्किएको छ । अब टोलीको प्रतिवेदनअनुसार विश्वविद्यालयले स्वीकृति दिन्छ’, उनले भने, ‘त्यसपछि हामी भर्ना खुलाउँछौँ । हेल्थमा मास्टर्स डिग्री सञ्चालन गर्न हामीसित जनशक्तिलगायतका पूर्वाधार तयार छ ।’

स्वास्थ्यमा स्नातक तह पूरा गरेकाहरुले यसअघि त्यसभन्दा माथिल्लो तह पढ्न नपाएका र पढ्नै पर्नेहरुले कि काठमाडौँ जानु पर्ने, कि पाठ्यक्रम तथा अन्य विषयमा पढ्नु परेको उनले बताए । ‘हेल्थमा मास्टर्स डिग्री सञ्चालन भयो भने एचए पढेकाहरुले पनि विषय मिल्दो माथिल्लो तह पढ्ने अवसर पाउँछन्’, उनले बताए ।

गोरखास्थित त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस गोरखा क्याम्पसमा यसअघि जीव विज्ञान शिक्षा, अंग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा र पाठ्यक्रम तथा मूल्यांकन शिक्षा विषयमा स्नातकोत्तर तहमा पढाइ हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्