| बुधबार, अशोज २०, २०८३

गोरखाको मतदान शान्तिपूर्ण

गोरखाको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।


छिटपुट घटनाका बाबजुद मतदान कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन भन्दा यो निर्वाचन गोरखाका लागि शान्तिपूर्ण र सहज देखिएको जिल्ला सुरक्षा समितिको निश्कर्ष छ ।


जिल्लाका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला स्तरीय सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।


‘केही समान्य बादविवादका घटना भए पनि तत्काल सहमति भईहाल्यो’, उनले भने, ‘मतदान सकिएलगत्तै मतपेटिका संकलनको काम सुरु भयो । क्षेत्र नं. २ को मतपेटिका आइतबार राती नै भइसक्नेछ । क्षेत्र नं. १ को सडक सञ्जालले नछोएको दुर्गम गाउँपालिकाको मतपत्र हेलिकोप्टरबाट ढुवानीको प्रयास भइरहेको छ ।’ सुरक्षा टिमको सक्रियता र सबै पक्षको सहयोगले शान्तिपूर्ण मतदान भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।


गोरखा नगरपालिका ८ रानीवनको द वल्ड क्यापिटल मावि मतदान केन्द्रमा अज्ञात समुहले कुकर बम जस्तो देखिने बस्तु राखेकाले त्यहाँ करिब एक घण्टा मतदान कार्य अवरुद्ध भयो । नेपाली सेनाको रिपुमर्दन गणको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको थियो । त्यसपछि करिब साँढे नौ बजेबाट मतदान कार्य सुचारु भएको थियो ।


प्रचण्डले चुनाव लडेका कारण राष्ट्रिय रुपमा चर्चा र चासोमा रहेको गोरखा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा पनि छिटपुट घटना भए ।


पालुङटार नगरपालिका ७ जीवनज्योती मावि मतदान केन्द्रमा दोहो¥याएर मतदान भएको भन्दै केहीबेर झमेला भएको थियो । त्यहाँ खटिएका सहायक मतदान अधिकृतले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिएपछि विवाद सुरु भएको थियो ।

जसका कारण ३३ जनाले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेद्वारलाई दिनुपर्ने मत प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेद्वारलाई दिएकाले पुन मतदान गर्नुपरेको थियो । पछि प्रहरीले मतदातालाई गाउँबाट बटुलेर पुन मतदान गर्न ल्याएका थिए ।


सिरानचोक ३ हर्मी तेर्सेमा रहेको सरस्वती आधारभुत विद्यालय मतदानकेन्द्रमा केही बेर बिवाद हुँदा मतदान प्रभावित बनेको थियो । एउटा मतपत्र दिँदा दुईवटा मतपत्र गएकाले विवाद भएको थियो । सो विवाद पनि केहीबेरमा साम्य भएर मतदान सुचारु भएको थियो ।


गोरखामा अन्यत्र केही समान्य बिवाद भएपनि अप्रिय घटना नघटेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्