
किमोलुङ फाउण्डेशनद्वारा चुमनुब्रीका विद्यालयहरुमा शैक्षिक सामग्री प्रदान
किमोलुङ फाउण्डेशनद्वारा चुमनुब्रीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं ३ फिलिममा रहेको वुद्ध माविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालयमा इसिडीदेखि १० कक्षासम्म अध्ययनरत चार सय ३० जना विद्यार्थीलाई कापीकलम, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको किमोलुङ फाउण्डेशनका संस्थापक वाङ्चुक राप्तेन लामाले बताए । करिब दुई लाख बराबरको स्टेशनरी सामग्री वितरण गरिएको उनको भनाइ छ ।

सोही क्रममा विद्यालयका सबै बालबालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा किमोलुङ फाउण्डेशनबाट खटिएका डाक्टरको टोलीले विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका साथै उनीहरुको दाँतको चेकजाँच गरी ‘डेण्टल फ्लोराइड गरिएको (दात किराले नखाने औषधी लगाइदिएको) उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष रामकुमार गुरुङ, स्वास्थ्य संयोजक प्रेम गुरुङ, विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरे लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यस्तै विहिबार नै पाङसिङमा रहेको पाङसिङ निम्न माध्यमिक विद्यालयमा अध्ययन ६८ जना बालबालिकालाई पनि स्टेशनरी सामग्री वितरण गरिएको उनले जानकारी दिए । शुक्रबार जगतमा रहेको श्रृगी हिमाली प्राविमा रहेको विद्यार्थीहरुलाई सामग्री सामग्री वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
किमोलुङ फाउण्डेशनद्वारा भूकम्पपछि निर्माण भएको स्वास्थ्य चौकी भवनको अनुगममको क्रममा भवन निर्माणमा आर्थिक सहयोग गर्ने सहयोगदाता सहितको टोली केही दिनअघि छेकम्पार पुगेका थिए । टोलीलाई वडा र आमा समूहले पूmलमाला सहित सम्मान गरेका थिए ।
प्रौढ शिक्षा पढ्दै आमाहरु
चुमनुब्री गाउँपालिका वडा ७ छेकम्पारमा प्रौढ शिक्षा सुरु भएको छ । स्थानीय आमा समूहको सक्रियामा सबै जना शिक्षित हुनुपर्छ भन्ने मान्यता अनुरुप प्रौढ शिक्षा सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रौढ शिक्षामा छेकम्पार र जोङ गाउँका गरी करिब ५५ जना आमाहरु सहभागी छन् । किमोलुङ फाउण्डेशनका टोलीले आमा समूहलाई पनि स्टेशनरी सामग्री सहयोग गरेका थिए ।
प्रौढ शिक्षा संचालनका लागि एक जना महिला र एक जना पुरुष गरी दुई जना शिक्षकको व्यवस्था गरिएको छ । हरेक दिनको बेलुका दुई घण्टा पढाई हुने वाङचुक राप्तेन लामाले बताए । दुई जना शिक्षकलाई निवर्तमान वडा अध्यक्ष पासाङफुन्जो लामाका दाजु लामा पेमा छेवाङ रिम्पोटेले रु एक लाख रुपैया सहयोग गरेका छन् । अहिलेको एकाइशौ शताब्दीमा पनि सरकारी कामकाजमा हस्ताक्षर गर्दा ल्याप्चे लगाउदै आएकाले त्यसलाई हटाउन प्रौढ शिक्षा सुरु गरिएको लामाले जानकारी दिए ।




