
जहाँ छोराछोरी र अभिभावक दिनभर संगसंगै पढ्छन्
केशव गुरुङ :
धार्चे ४ लाप्राकका सुरेश गुरुङ मणिकामदेवी माविको कक्षा चारमा पढ्छन् । अचेल उनलाई विद्यालयमा बिछट्टै खुशी लाग्छ किनभने कक्षा कोठामा उनीसित साथी मात्र हुँदैनन्, बुवा गणेश पनि हुन्छन् । बाबुछोरा दिनभरि एउटै बेन्चमा बसेर पढ्छन्, संगै बसेर खाजा खान्छन् । छेउमै बुबा हुँदा उनलाई कुनै साथीले हेप्न सक्दैन ।
सुरेशको पढाइ हेरेर गणेश दंग पर्छन् । छोराले गृहकार्य गरे नगरेको प्रत्यक्ष हेर्न पाउँछन् । छोराको पढाइ कस्तो छ, शिक्षकले उनीप्रति कस्तो व्यवहार गर्छन्, छोराको प्रस्तुती कस्तो छ ? शिक्षकले के कस्ता सुझाव दिन्छन् सबैकुरा नियाल्छन् ।
चारबजे स्कुल छुट्टी भएपछि आफ्ना बुबा र शिक्षक, शिक्षिका बीच समीक्षा हुन्छ, परस्पर सुझाव आदानप्रदान हुन्छ ।
सुरेश र गणेशको मात्र होइन मणिकामदेवी माविमा हरेक दिन कक्षा एकदेखि १० सम्मका १० जना विद्यार्थीका १० जना अभिभावकले आफ्नो छोरीछोरीसँग दिनभरी बसेर पढ्छन् । आफ्ना सन्तानको पढाइको गतिविधि नियाल्छन् ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीहरु क्षमतामा सुधार गर्नुका साथै विद्यालयका हरेक गतिविधिमा अभिभावकको सक्रियता बढाउन विद्यालयले यस्तो नियम बनाएको हो । गत बिहिबारदेखि विद्यालयले ‘अभिभावक घुम्ती कार्यक्रम’ नाम दिएर यस्तो अभियान सुरु गरेको कार्यक्रम संयोजक शिक्षक अच्यूत थपलियाले बताए ।
‘अभिभावक विहान १० बजेभित्र विद्यालय आइपुग्नु हुन्छ । यहाँ आएपछि हामीले आफ्नो छोराछोरीले कसरी पढछन् र शिक्षकले कसरी पढाउनु हुन्छ भनेर निगरानी गर्न अनुरोध गर्छौँ,’ उनले भने, ‘उहाँहरु १० बजेदेखि चारबजेसम्म विद्यार्थीसँगै बस्नुहुन्छ । अनि आखिरी घण्टी बजेपछि हाजिर गरेर सुझाव लिएर र दिएर फर्किनु हुन्छ ।’ भर्खर सुरुवात गरेको सो अभिभावक घुम्ती कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक थपलियाले जानकारी दिए ।

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अभिभावकको भेलाले गत असोज २७ गतेबाट विद्यालयमा एउटा कक्षामा एकदिन एकजना अविभावकलाईसँगै राख्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आश बहादुर गुरुङले बताए । विद्यालयको शैक्षिक गुणस्तर खस्किएको, शिक्षकले राम्रोसँग नपढाएको र विद्यार्थीले पनि राम्रोसँग नपढेको भन्ने गुनासो आएकाले यो कार्यक्रम संचालन गरिएको उनले बताए ।
उनका अनुसार यसमा शिक्षक र विद्यार्थीको पठनपाठन अवस्था अभिभावकले प्रत्यक्ष रुपमा हेर्न पाउने र सुधारका लागि आवश्यक सुझावहरु दिने हुदाँ आगामी दिनमा विद्यालयको शैक्षिक अवस्था शसुधार हुने अपेक्षा गरिएको उनले बताए । एक महिना पश्चता सबै जना भेला भएर कार्यक्रमको समिक्षा गर्ने र थप प्रभावकारी भएमा नियमित रुपमा संचालन गर्ने उनको भनाइ छ ।

हाल विद्यालयमा इसिटी १० सम्म चार सय ८१ जना विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यपक धन बहादुर गुरुङले बताए । ‘विद्यालयको शैक्षिक गतिविधि बुझ्न र विद्यार्थीको सिकाई अवस्था कस्तो छ भनेर जान्न अभिभावक घुम्ती कार्यक्रम संचालन गरिएको हो । अहिले इसिडीदेखि कक्षा १० सम्ममा विद्यार्थीको रोल नम्बर अनुसार प्रत्येक कक्षामा दैनिक एक÷एक जना अभिभावक विद्यालय आएर दिनभरि कक्षामा आफ्नो छोछोरीसँग बस्नुहुन्छ’, प्रअ गुरुङले भने, ‘यसले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठूलो टेवा पु¥याउनेछ भन्ने विश्वास लिएका छौँ ।’

छोराछोरी दिनभरि कसरी पढ्छन, शिक्षक, शिक्षिकाहरुले कसरी पढाउनुहुन्छ, सबै कुरा अविभाबकले पनि थाहा पाउन् भन्ने उद्देश्यले यो कार्यक्रम थालिएको र यसले सिकाई प्रभावकारी बनाउने प्रअ गुरुङले बताए । दैनिक ११ जना अभिभावक दिनभरि आफ्नो छोराछोरीसँग बसेर पठनपाठन गतिविधि नियाल्नेछन् ।
प्रअ गुरुङका अनुसार अभिभावकहरुले राम्रो हाउभाउ गरेर, खुसी भएर पढाउनुपर्ने, सबै विद्यार्थीहरुमा नजर पु¥याउनु पर्ने, बोर्डमा बुझने गरी लेख्नुपर्ने, विद्यार्थीहरुलाई हरेक दिन गृहकार्य दिनुका साथै गृहकार्य गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्न सुझाव दिने गरेका छन् । कार्यक्रम ढिलै गरेर सुरुवात भएता पनि यसले विद्यार्थीको शैक्षिक स्तर सुधार हुने अपेक्षा गरिएको अभिभावक माइली गुरुङ बताउँछिन् ।

अभिभावकले दिएको सल्लाह, सुझाव अनुसार नै पठनपाठनका गतिविधिहरु अघि बढइने प्रअ गुरुङले जानकारी दिए । यो कार्यक्रम लागु भएसँगै कक्षा कोठामा होहल्ला गर्ने, विद्यालय नआउने क्रम कम भएको उनले बताए ।

विद्यालय समुदाय भन्दा धेरै टाढा भएका कारण अभिभावकहरु विद्यालयसम्म नआउने हुँदा विद्यालयमा हुने गतिविधिमा अभिभावकको उपस्थिति बढाउन र आफ्नो छोराछोरीको शैक्षिक अवस्था बुझन यो कार्यक्रम सुरु गरिएको गुरुङले जानकारी दिए ।
यो कार्यक्रममा वडा र पालिकाबाट पनि थप सहयोग भएमा प्रभावकारी तरिकाले नियमित रुपमा संचालन गर्न सहज हुने विद्यालयले जनाएको छ ।




