
उत्तरी गोरखाको लोक्पा पहिरोमा एक घाइते चार दिनदेखि फँसे
चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोको बीचमा एक घाइते चारदिनदेखि फँसिरहेका छन् ।
सुर्खेत घर भएका ३४ बर्षका दीपक जिसी पहिरोका बीचमा गत बिहिबारबाट फँसिरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
छेकम्पारबाट फर्कँदै गरेका उनी पहिरोमा फँसेका लामाले जानकारी दिए । ‘लोक्पाको ठूलो पहिरोमा खुट्टा भाँचिएर घाइते भएका रहेछन् ।
ढुंगामुनि लुकिरहेका उनको खुट्टा गन्हाइसकेको अबस्थामा आज स्थानीयले देखेका रहेछन्’, लामाले भने, ‘चारदिनदेखि खान पिउनु छैन बिचल्ली भएको छ ।’ उनको हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएकाले पहल गरिरहेको अध्यक्ष लामाले बताए ।

यसैबीच मनास्लु क्षेत्रको पदमार्ग भ्रमणमा गएका झण्डै ५० जना विदेशी पर्यटक चारदिनदेखि फँसिरहेका छन् ।
अबिरल बर्षाका कारण गएको पहिरोका कारण चुमनुब्री गाउँपालिका ४ गप र सोही गाउँपालिकाको वडा नं. ६ चुम्लिङमा ठूलो संख्यामा विदेशी पर्यटक फँसेका गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।
‘चारदिनदेखि पर्यटक तल झर्न पनि सकेका छैनन्, माथि जान पनि सकेका छैनन्’, लामाले भने, ‘हिजो दुईवटा हेलिकोप्टरले पेवामा फँसेका पर्यटकको उद्धार गरियो । अझै करिब ५० जना फँसिरहेका छन् ।
हेलिकोप्टरबाट उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, गृहमन्त्रालयमा कुराकानी भइरहेको छ ।’
लामो समयसम्म वृद्ध पर्यटकहरु अलपत्र भएपछि विचल्ली भएको गाइड साने गुरुङले जानकारी दिए । ‘कसैको भिसा सकिने बेला भएको छ, कसैको खर्च सकिएको छ’, उनले भने, ‘धेरैजसा वृद्ध पर्यटकहरु छन् । धेरै बिचल्ली भएको छ ।’

यसैबीच चुम्चेतको सर्दीभीरमा सातबर्षअघि निर्माण गरिएको क्यान्टिलिभर पुल क्षतिग्रस्त भएको छ । लगातारको बर्षापछिको पहिरोले पुल क्षतिग्रस्त भएको स्थानीय सेराप लामाले जानकारी दिए ।
सो पुल अवरुद्ध हुँदा चुमनुब्री वडा नं. ६ का तीनसय घरधुरी र वडा नं. ७ का करिब तीनसय घरधुरीका बासिन्दा प्रभावित भएका छन् ।
ठाउँठाउँमा पहिरो जाँदा बाटो र क्याण्टिलिभर पुल भत्किएपछि स्थानीयबासी आवतजावत गर्न पाएका छैनन् ।
खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नसक्दा सो क्षेत्रका बासिन्दा प्रभावित भएका उनले बताए ।
तस्विरहरु सौजन्य : शेराप गुरुङ




