| बिहिबार, अशोज २१, २०८३

बालमन्दिरका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

गोरखा सदरमुकाममा रहेको बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विहिबार एक कार्यक्रमका बीच सामाजिक विकास कार्यालय गोरखाद्वारा विद्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यले खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र परियारले बताए । उनकाअनुसार विद्यालयलाई १० बोरा चामल, एक बोरा आलु, एक बोरा दाल, एक बोरा चना, दुई कार्टुन तेल र २० प्याकेट खाने नुन हस्तान्तरण गरिएको हो । सबै गरेर करिब ३६ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

बाल दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरले संयुक्त रुपमा खाद्यान्न सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्के र विद्यालयका प्रधानाध्यापक शिव थापालाई हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा प्रजिअ आचार्यले अनाथ बालबालिकाका लागि भनेर व्यक्तिगततर्फबाट पाँच हजार रुपैयाँ प्रदान गरेका विद्यालयले जनाएकोछ ।

अनाथ बालबालिकाको सहयोगार्थ भनेर गोरखाको मल्टिट्यालेण्ट ग्रुप र कालिका सांस्कृतिक कलाकेन्द्रले सांस्कृतिक कार्यक्रम आयोजना गरेको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रमबाट संकलित रकमले बालमन्दिरको अनाथ आश्रममा रहेका बालबालिकाको बसोबासमा सहयोग गर्ने उद्देश्यले ती दुई क्लवले कार्यक्रम गर्न लागेका विद्यालयका सहायक प्रधानाध्यापक योगन्द्र प्रधानले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरजबाबु मास्केको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्