| सोमवार, साउन १०, २०८३

नेपाल बन्द र आज्ञाकारी गोरखाबजार

शिव उप्रेती

‘बुधबार नेपाल बन्द हुने’ भन्ने खबर मंगलबार साँझ ओमिक्रोन भाइरस भन्दा तीब्र रुपमा फैलियो । दिनभर पसिना बगाएर साँझ, बिहान हातमुख जोर्नेहरुलाई यो खबरले ओमिक्रोनले भन्दा बढि चिन्तित बनायो ।

बुधबार बिहानदेखि नै गोरखा बजार पूर्ण रुपमा बन्द थियो । पसल ढ्यामढुम थिए । यातायात सेवा ठप्प थिए । एमसिसीको बिरोधमा छ दलले आयोजना गरेको नेपाल बन्द सफल बनाउन छ दल त थिए कि थिएनन्, सातौँ अर्थात सत्तासीन माओवादी केन्द्रका कार्यकर्ता पनि सडकमा तैनाथ थिए, त्यसैले बन्द थप कडा थियो ।

बन्द शान्तपूर्ण रुपमा सफल हुँदै थियो । त्यही अवसरमा विप्लव नेतृत्वको नेकपाले व्यस्त रहने हरमटारी चोक र जिविसचोकमा जेब्राक्रस बनाउँदै थियो । बन्दकर्ताले रचनात्मक काम गरेकामा वरपरकाहरु धुरिएर हेर्दै थिए ।
यसअघि पनि नेपाल बन्द आव्हान गरिन्थ्यो, विशेषगरी विप्लव नेतृत्वको नेकपाबाट । सडकमा कोही पनि बन्दकर्ता नदेखिए पनि आज्ञाकारी गोरखा बजारबासी घरभित्रै हुन्थे । बन्दको ‘फेक’ हल्ला सुने पनि गोरखाबजारबासी चुपचाप समर्थन गरी बस्थे, किनभने उनीहरु यसमै अभ्यस्त थिए ।

बन्दको दिनमा चलेको गाडी÷पसल बन्दकै दिनमा नजले÷नफुटे पनि त्यसको नंबर(पसलको नाम) टिपेर राख्लान् र कुनै दिन(बन्द नभएको दिन) छेउकुना पारेर प्वाक्क हान्लान् भन्ने मनोवैज्ञानिक त्रास उनीहरुमा हुन्थ्यो । यद्यपि यस्ता घटना कहिल्यै भएनन् । त्रास पनि कहिल्यै मरेन । त्यसैले बजार ठप्प थियो ।
बन्दको बेला गोरखाबजार चकमन्न भएपछि सो दिनको सदुपयोग गर्न गण्डकी वा शहीद लखन गाउँपालिकाको कुनै चेपाङ गाउँको रिपोर्टिङमा जाने कार्यक्रम तय गरेँ ।

हरमटारीचोकमा कुनै बन्दकर्ताले रोक्ने प्रयास नगरेका होइनन्, तर संकेतबाट चिनेपछि पछि हटे । ठिँगुरेस्वाँरा बन्द थियो । लक्ष्मीबजार, वीरेन्चोक, तेरकिलो, बारकिलो, १० किलो, नौ किलो सबै ठप्पप्राय थिए । गोरखा(आँबुखैरेनीको २४ किलोमिटर सडक पनि खालि नै थियो । एउटा घरबाट अर्को घरमा जानेले आक्कलझुक्कल मोटरसाइकल चलाएका थिए ।

सुनसान सडक पार गर्दै जब मस्र्याङ्दी पुल तरेर आँबुखैरेनीबजार पुगेँ, त्यहाँको चहलपहल देखेर झल्याँस्स भएँ । खैरेनीबजारका कुनै एक पसल पनि बन्द थिएनन् । किसाना पसल, कपडा पसल, हार्डवेयर पसल, कस्मेटिक पसल इत्यादि सबका सब खुल्ला थिए । गोरखाचोकबाट गोरखातर्फ जाने बस तेर्सिएका थिएनन् । पोखरा काठमाडौ(नारायणगढ) सडक हिँजो मंगलबार जत्तिकै व्यस्त थियो ।

माइक्रोबस हिँजोकै गतिमा दौडिरहेको थियो । मिनीबस, ठूलोबस, टूक, निजी कार, भाडाका ट्याक्सी सबै साबिकको झैँ खुल्ला थिए । सडक छिचोल्न, ओभरटेक गर्न हिँजो मंगलबार जति हम्मेहम्मे हुन्थ्यो, बन्द भनिएको दिन पनि त्यस्तै थियो ।

त्रिशुली पुल तरेपछि मुग्लिन बजारको चहलपहल हेर्ने उत्सुकता पनि पूरा भयो । फुटपाथका पसल पनि साबिक झै थियो । कुनै पनि घरमा सटर लागेका थिएनन् । आँबुखैरेनीबाट काठमाडौ तेर्सिने, काठमाडौँबाट पोखरा तेर्सिने, नारायणगढबाट आएका गाडी काठमाडौँ हुइँक्किने, काठमाडौँबाट आएका गाडी नारायणगढतिर मोडिने, नारायणगढतिरबाट आएर पोखरातिर मोडिने सवारी साधन त्यति नै थिए, जति हिजो मंगलबार थियो । ‘मुग्लिनबजार त जुन बन्दको दिनमा पनि यस्तै हो, खासै बन्द हुदैन’, एकजना ब्यापारीले कुराकानीमा यसो भने ।
चेरेसका पसलहरु खुल्लै थिए, तर ग्राहक थिएनन् किनभने पारि गोरखातिर केवलकारका डिब्बाहरु झुण्डिरहेका देखिन्थे । सिलिलि तलमाथि सिल्किएका थिएनन् ।

सम्झेँ, गोरखा अर्कै देश हो, जहाँ बन्द भनेपछि बन्द हुन्छ । त्यहाँ आज्ञाकारी व्यापारी, व्यवसायीहरु मात्र छन् । (फेक भए पनि) बन्दको हल्ला मात्र चल्नुपर्छ, सबै जना बन्दमा सहभागी हुन्छन् ।

सोच्दासोच्दै कुरिनटार, कुरिनघाट, चुम्लिङटार, फिस्लिङ पार भयो । सबै बजार गुल्जार थिए । मनमा अनेक तर्क, वितर्कहरु आए, ‘कि राजमार्गमा यातायात चल्ने, शाखा मार्गमा मात्र बन्द हुने हो कि ? कि राजमार्गका बजार खुल्ने, पहाडी जिल्लाका सानातिना बजार मात्र बन्द हुने हो कि ? कि बन्दको रङ गोरखामा अल्लि कडा, अरु जिल्लामा अल्लि फिक्का हो कि ? कि बन्दकर्ता गोरखामा मात्र छन्, अरु जिल्लामा छैनन् कि ?

कि गोरखा बजारका व्यापारी, व्यवासायीमा अल्छीपन धेरै, अरु जिल्लाका व्यापारी, व्यवसायीमा गरिखानुपर्छ भन्ने भावना भएकाहरु धेरै भएका हुन् कि ? कि गोरखामा मात्र एमसिसीका बिरोधी धेरै भए, अन्य जिल्लामा कम भएर हो कि ? कि अरु जिल्लाका आँटिला, गोरखाका कायर हुन् ? कि अरु जिल्लाका अनुदार,गोरखाका उदार हुन् ? कि अरु जिल्लाका उग्र, गोरखाका आज्ञाकारी हुन् ? कि अरु जिल्लाका जाँगरिला, गोरखाका अल्छी भएर हो ? नत्र बन्द, बन्द त सबैतिरको एउटै हुनुपर्ने हो, गोरखामा सँधै ठप्प, अरु जिल्लामा सबै बन्द खुकुलो किन हुन्छ ?

राजमार्गको कुनातिर मकै बेच्नेहरु व्यस्त थिए । छेउतिर लठ्ठीमा माछा उनेर राजमार्गतिर ढल्काएर बस्नेहरु उत्तिकै थिए । जवाङखोला, मौवाखोला, हुग्दीखोला, मजिमटार क्षेत्रमा बिग्रिएको सडक र सवारी साधनको अधिक चापले धेरै एकाग्र भएर सोच्न डिस्टर्ब ग¥यो ।

प्रतिक्रिया दिनुहोस्