
‘ढाडको स्वास्थ्य, जीवनको शक्ति : गोरखाको सन्दर्भमा सजगता र सक्रियताको आवश्यकता’
डा. सिद्धार्थ खनाल ।
गोरखा जस्तो ग्रामिण तथा भौगोलिक हिसाबले अप्ठ्यारो ठाउँमा ढाड दुख्ने समस्या एकदमै सामान्य देखिन्छ। दैनिकजसो अस्पतालमा आउने २०–३० जना बिरामीहरूमध्ये धेरैजसोको मुख्य गुनासो ढाड वा कम्मर दुख्ने हुन्छ। यहाँको बस्तीको बनावट, बारम्बार उकाली ओराली हिँड्नुपर्ने, भारी बोक्नुपर्ने, खेतबारीको शारीरिक श्रम, सहरी क्षेत्रमा झैँ सजिलो पहुँच नभएका कारण पनि ढाडमा समस्या देखिनु स्वाभाविक हो। विशेषगरी महिलाहरूमा भारी बोकेर पानी ल्याउने, किसानहरूमा लामो समय झुकेर काम गर्ने जस्ता क्रियाकलापले मेरुदण्डमा दवाब पर्छ र यसले गर्दा नशा च्यापिने समस्या उत्पन्न हुन्छ। तर जब यो दुखाइ विशेष किसिमको नशा च्यापिने समस्याबाट उत्पन्न हुन्छ, तब यसले दीर्घकालीन असर पुर्याउन सक्छ।
नशा च्यापिनुको कारणहरू
नशा च्यापिनु भन्नाले स्नायु (nerve root) हरूमा यांत्रिक वा रासायनिक दबाव पर्नु हो, जसले स्नायुमा सूजन (inflammation), दुखाइ (pain), संवेदना गुम्ने (numbness) वा कमजोरी (weakness) ल्याउन सक्छ। यो समस्या प्रायः निम्न अवस्थाहरूका कारण देखा पर्छ:
- हर्नियटेड डिस्क (Herniated Disc / Prolapsed Intervertebral Disc):
मेरुदण्डका दुई हड्डी बीचको जेलजस्तो डिस्कको बाहिरी आवरण फाटेर भित्री भाग (nucleus pulposus) निस्केर नजिकैको स्नायुमा दबाब दिन्छ। यो विशेषगरी L4-L5 वा L5-S1 क्षेत्रमा धेरै देखिन्छ। - डिजेनेरेटिभ डिस्क डिजिज (Degenerative Disc Disease):
उमेर बढ्दै जाँदा डिस्कहरू बिस्तारै सुख्खा हुँदै जान्छन् र फ्लेक्सिबिलिटी घटेर नशा च्यापिन सक्छ। - स्पाइनल स्टेनोसिस (Spinal Stenosis):
मेरुदण्डभित्रको स्नायु जाने मार्ग (spinal canal) साँघुरो हुँदा स्नायुहरूमा दबाब पर्छ। यो वृद्धावस्थामा बढी देखिन्छ। - फेसट जोइन्ट आर्थराइटिस (Facet Joint Osteoarthritis):
स्पाइनका सानो जोइन्टहरूमा degeneration वा osteophyte (bone spur) को वृद्धि हुँदा स्नायु च्यापिन सक्छ। - स्पोन्डिलोलिस्टेसिस (Spondylolisthesis):
एक कशेरुका अर्को कशेरुभन्दा अगाडि सर्छ, जसले नशालाई च्याप्छ। - ट्राउमा / चोटपटक:
कुनै पनि चोट वा दुर्घटनाले डिस्क, हड्डी वा लिगामेन्टहरूमा चोट पुर्याउँदा स्नायुमा तत्काल दबाब पर्न सक्छ। - ट्युमर र इन्फेक्सन:
मेरुदण्डमा हुने ट्युमर (benign वा malignant) वा क्षयरोग (Pott’s spine) ले पनि स्नायु च्यापिन सक्छ, यद्यपि यी कम देखिने कारणहरू हुन्।
नशा च्यापिँदा देखिने लक्षणहरू
गोरखा अस्पतालमा दैनिकजसो ढाडको समस्या लिएर आउने बिरामीहरूमा देखिने लक्षणहरू निकै समान प्रकारका हुन्छन्। तीमध्ये धेरैले कम्मरदेखि खुट्टासम्म सिल्का हान्ने, झमझमाउने, लाटो हुने अनुभव सुनाउँछन्। यो अवस्थालाई चिकित्सकीय भाषामा radiculopathy भनिन्छ, जसमा च्यापिएको नशा अनुसार लक्षणको क्षेत्र फरक हुन सक्छ।
यहाँका बिरामीहरूले सामान्यतया निम्न लक्षणहरू अनुभव गर्छन्:
- कम्मर दुख्ने: निरन्तर वा चल्दा-बस्दा बढ्ने दुखाइ।
- सिल्का हान्ने वा पोल्ने जस्तो दुखाइ: प्रायः ढाडबाट सुरु भई खुट्टासम्म सर्छ (sciatica)।
- झमझमाउने वा लाटोपन (numbness): खुट्टाको कुनै भाग छाम्दा संवेदना नआउनु।
- चप्पल फुस्कने/खस्ने समस्या: खुट्टाको अगाडिल्लो भाग उठाउन नसकिने (foot drop), जुन L5 नशा च्यापिँदा देखिन्छ।
- मांसपेशी कमजोर हुँदै जानु: खुट्टा उठाउन गाह्रो हुने, भर नपर्ने अनुभव।
- दिसा पिसाबमा कन्ट्रोल गुमाउने (Cauda Equina Syndrome को संकेत): यो अत्यन्त गम्भीर अवस्था हो, तुरुन्त शल्यक्रिया आवश्यक पर्न सक्छ।
- खुट्टा सुन्निने, जिउ झट्का मार्ने जस्तो अनुभूति।
यी लक्षणहरू बिरामीको उमेर, कार्यशैली, र नशा कुन ठाउँमा च्यापिएको छ भन्ने कुरामा निर्भर हुन्छन्। उदाहरणका लागि, किसान वा भारी काम गर्ने व्यक्तिमा झुकेर काम गर्दा नशामा बढी दबाब पर्छ र खुट्टासम्म दुखाइ सर्छ।
गोरखाका गाउँघरमा पाइला टेक्न मुस्किल हुने गरी “तन्किएर आउँछ” भन्ने गुनासो गर्ने बिरामी पनि थुप्रै छन्। कतिपयको त धेरै हिँड्दा खुट्टा गुम्सिएर आउँछ भन्ने अनुभव हुन्छ, जुन स्पाइनल स्टेनोसिससँग सम्बन्धित हुन सक्छ।
लक्षणहरू कुन नशा च्यापिएको छ भन्ने कुरामा भर पर्छ। जस्तै, यदि कम्मर क्षेत्रको नशा च्यापिएको छ भने दुखाइ खुट्टासम्म जान सक्छ।
निदान (Diagnosis) कसरी गरिन्छ?
नशा च्यापिएको आशंकामा बिरामीको लक्षण बुझेर र शारीरिक परीक्षण गरेर प्रारम्भिक निदान गरिन्छ। गोरखाको प्रदेश अस्पतालमा हामीले सर्वसाधारण परीक्षणको लागि प्रयोग गर्ने मुख्य उपकरण X-ray हो। X-ray मार्फत मेरुदण्डको हड्डीहरूबीचको दुरी घटेको छ कि छैन, हाडको टुसा (बोन स्पर), हड्डी सरेको (स्पोन्डिलोलिस्टेसिस) वा मेरुदण्ड बाङ्गिएको (स्कोलियोसिस/किफोसिस) जस्ता परिवर्तनहरू पत्ता लगाउन सकिन्छ। तर नशा, डिस्क वा स्पाइनल क्यानलको अवस्था हेर्न X-ray पर्याप्त नहुने भएकाले थप जाँचको आवश्यकता पर्दा MRI, CT-Scan, EMG/NCV जस्ता परीक्षणहरू पोखरा, चितवन वा काठमाडौंका ठूला अस्पतालहरूमा गर्न सिफारिस गरिन्छ। MRI विशेषगरी नशा च्यापिएको स्थान र गम्भीरता थाहा पाउन सबैभन्दा भरपर्दो माध्यम हो, जसबाट डिस्क फाटिएको वा स्नायु थिचिएको स्पष्ट देख्न सकिन्छ। गोरखामा सीमित स्रोतसाधनबीच पनि प्रारम्भिक परीक्षणमार्फत बिरामीको अवस्था मूल्याङ्कन गरी आवश्यक परेमा समयमै रिफर गर्ने अभ्यास छ।
उपचारका उपायहरू
ढाड दुखाइ वा नशा च्यापिएको समस्याको उपचार एकपटकमा चमत्कारी रूपमा निको हुने खालको हुँदैन। यो क्रमिक सुधार हुने प्रक्रिया हो, जसमा बिरामीको सक्रिय सहभागिता, धैर्यता र नियमितता अत्यावश्यक हुन्छ। प्रदेश अस्पताल गोरखामा हामीले यस्तो समस्या भएका बिरामीहरूलाई मुख्यतया फिजियोथेरापी{Stretching र strengthening exercise, Posture correction therapy, Electrotherapy (TENS, IFT)}, औषधोपचार{पीडानाशक औषधिहरू (NSAIDs),स्नायु शान्त पार्ने औषधिहरू}, र जीवनशैली परिमार्जन (lifestyle modification) मार्फत उपचार गर्ने गर्छौं।
फिजियोथेरापीमार्फत ढाड र खुट्टाका मांसपेशीहरूलाई बलियो बनाउने, डिस्कमा पर्ने दबाब घटाउने, नशाको च्यापाइ कम गर्ने अभ्यासहरू गराइन्छ। औषधोपचार अन्तर्गत दुखाइ कम गर्ने औषधी, स्नायु शान्त पार्ने औषधी र आवश्यक परेमा भिटामिनहरू पनि दिइन्छ। साथै, जीवनशैली परिमार्जन जस्तै तौल घटाउने, झुकेर काम नगर्ने, भारी नबोक्ने, सुत्ने/बस्ने तरिका सुधार्ने, नियमित व्यायाम गर्ने लगायत कुरामा विशेष ध्यान दिनुपर्छ।
धेरै बिरामीहरू चाँडै निको नहुनाले तनाव लिन्छन् वा उपचारको निरन्तरता छुटाउँछन्। तर ध्यान दिनुपर्ने कुरा के हो भने, यो समस्या सधैं शल्यक्रिया (operation) चाहिने खालको हुँदैन। अधिकांश केसहरू सही तरिकाले र नियमित उपचार गरेमा २–३ महिनामै धेरै सुधार आउँछ। उपचार बीचैमा रोकेको वा धैर्यता गुमाएमा भने समस्या झन् जटिल बन्न सक्छ।
तर, कहिलेकाहीँ यस्तो अवस्था आउन सक्छ—जस्तै दिसा-पिसाब नियन्त्रण गुमाउनु, खुट्टा झन् कमजोर हुँदै जानु, औषधि वा फिजियोथेरापीले असर नगर्नु—यस्ता गम्भीर अवस्थाहरूमा शल्यक्रिया (surgery) को आवश्यकता पर्न सक्छ। त्यस अवस्थामा बिरामीलाई ठूला अस्पतालहरूमा रिफर गर्ने व्यवस्था गरिन्छ।
अतः ढाडको उपचार धैर्य, निरन्तरता र सही पद्धतीको संयोजन हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ।
नशा च्यापिनबाट कसरी बच्ने?
गोरखाको जस्तो पहाडी भेगमा खेतबारी, भारी बोक्ने काम, उकालो-ओरालोको जीवनशैलीले ढाडमा बढी दवाब पर्न सक्छ, तर सानातिना सावधानी अपनाएर हामी नशा च्यापिनबाट जोगिन सक्छौं। झुकेर काम गर्दा कम्मर सिधा राख्ने, भारी बोर्दा दुवै हातले तौल सन्तुलनमा राख्ने, लामो समय एउटै अवस्थामा बस्ने वा उभिने काम बीचबीचमा विश्राम गर्ने, न्यानो स्ट्रेचिङ वा व्यायाम गर्ने बानी बनाउने—यी सबै कुराले ढाडलाई बलियो र लचिलो बनाउँछ। कामको चाप जति भए पनि शरीरप्रति सचेत हुनु र नियमित फिजिकल एक्टिभिटी गर्नु दीर्घकालीन रूपमा ढाड जोगाउने चमत्कारी उपाय हो। हाम्रो शरीर नै हाम्रो सम्पत्ति हो, यसको हेरचाह गर्न हामी आफैं लाग्नुपर्छ। सही तरिका अपनाएर, काममा सजग भइकन, सानो परिवर्तनबाट ठूलो स्वास्थ्य लाभ लिन सकिन्छ—ढाड बचाउने जिम्मा तपाईं आफैं लिनुहोस्, किनभने सधैं उपचारभन्दा पनि बचावट उत्तम हो।
निष्कर्ष
ढाड दुखाइ र नशा च्यापिने समस्या अहिले ग्रामिण क्षेत्रमा द्रुत गतिमा बढ्दो स्वास्थ्य चुनौती बनेको छ, विशेषतः गोरखा जस्तो भौगोलिक तथा श्रम प्रधान क्षेत्रमा। यो समस्या कामको प्रकृति, जीवनशैली, शरीरप्रति बेवास्ता र समयमै उपचार नगर्ने बानीका कारण झनै जटिल बन्ने गरेको छ। तर राम्रो कुरा के हो भने—समयमै चिनेको, सही निदान गरिएको र धैर्यपूर्वक निरन्तर उपचार थालिएको खण्डमा यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ, शल्यक्रिया बिना नै निको पार्न सकिन्छ। शरीरको सिग्नल सुन्ने, सजग हुने, उपचारको पद्धतीमा विश्वास राख्ने र आफ्नो जीवनशैलीमा साना सुधार ल्याउने हो भने ढाड मात्र होइन, सम्पूर्ण स्वास्थ्य नै फाइदामा रहन्छ। हाम्रा बिरामीहरूलाई यही सन्देश दिन चाहन्छौं—सहनशीलता, सचेतता र सकारात्मक सोच नै ढाडको स्वास्थ्यको असली औषधि हो।




