| सोमवार, साउन १०, २०८३

मने र जितेका स्मरण

रामचन्द्र आचार्य
छाउनी धारापानी,
गो.न.पा. –७, गोरखा ।

गोरखा जिल्लाको सदरमुकाम हाल गोरखा नगरपालिका अन्तर्गत ३ वटा ऐतिहासिक कोटहरु छन् । ती मध्ये उपल्लोकोटमा धेरै पहिले मानिसको घना वस्ती थियो । उक्त कोटका अन्तिम राजा मानसिँह थिए , जसलाई द्रव्यशाहले बध गरेर शाह वंशीय राज्यको श्री गणेश गरेका थिए । वि.सं. १८५६ साल तिरको भिषण वर्षाको कारणले उक्त वस्ती श्याल डाँडोमा (सुनडाँडो) पहिरो गयो । उक्त पैरोले तानिएर उपल्लोकोटको घर जग्गा सहित धेरै जनधनको क्षती भयो । वर्तमान समयको श्यालडाँडाको ढाँड त्यही वेलाको अवशेष मानिएको कुरा बूढापाकाले भनेका कथ्य जिवितै छ ।

उपल्लो कोटमा तत्कालीन् समयमा आदिवासीको रुपमा मगर जातीका खवास, द्धारे, गेँलाङ, मार्चु आदिको ठूलो प्रधानता थियो रे । उक्त स्थानमा पैरो चल्नु पूर्व खवास परिवारमा जन्म भएका मनध्वज र जितध्वज दुई दाजुभाइहरुको विशेषता बारेमा हामीले तत्कालीन् बूढापाकाहरुले ती दुई दाजुभाइको जीवनशैली कथाको स्वरुपमा रोचकताका साथ कथात्मक पाराले पूर्खाहरुले हामीलाई पनि पस्केका थिए । दाजुचाँहि घरगाउँमा हाँकोडाँको भएको साक्षरी र गाउँको ठूल्ठालूमा गनिन्थ्यो । भाइ चाहिको आहारा ठूलो भएको जिउडाल ठूलै थियो । त्यसैले उसलाई बलवीर भन्थे । ऊ अरोटको कार्यमात्र गर्दथ्यो । तिनीहरुको बेसी छेपेटारमा थियो । भाइ बेसीमा बस्थ्यो । दाजु प्रति हप्ता बेसीमा भाईलाई अथ्र्याउन र अन्य रेखदेख गर्न झर्ने गथ्र्यो । ती दुवै बुद्धिवीर तथा बलवीरको उपनामले तत्कालीन् समाजमा परिचित थिए ।

समाजले तिनीहरुलाई मने र जिते भन्ने गरिन्थ्यो । आज यस लेख मार्फत भाइ जितेको मात्र प्रसंग निम्न अनुसार आफ्नो श्रवण तालिकाबाट पस्केको छु । वर्तमानमा आधुनिक विज्ञानका कोसेली मोवायल, आइप्याड आदि साधनले गर्दा कथा, कहानी, किस्सा आदि अस्तय हुन लाग्यो । त्यसैले यस लेखमा निम्नानुसार समेसम्म पुराना भाषाका शब्दद्धारा उक्त वर्णन संक्षेपमा उदिनेको मात्र हुँ ।

गाउँघरका मानिसहरुले जितध्वज खवासलाई जिते भनेर सम्बोधन गर्थे । ठुलो कदको ध्वाँगे मानिस भएकोले आहारा पनि ठूलै थियो । २ माना कोदाको पिठोको ढेँडो प्रति छाक उसको खान्की थियो रे । उक्त २ मानालाई अतिरञ्जन गरी ३, ४, ६, ९ र १८ माने सम्म गफाडीका रवाफ बन्न पुगेको थियो । छेपेटारको बेसी घरमा ऊ बस्थ्यो । एकतले घरको पिँडिमा खड्केरी काटिएको मूल ढोकाको ठेलो साल काठको थियो । भित्र पट्टि मझेरी नगिच आटसँगै मुलोछिन, अगाडि तिर अगेनो, माथि तिर भार झुण्ड्याएको थियो । उसको राखन धरन गर्ने गाह्रोमा भर्सेली थियो ।

मुसाले दुःख दिएकोले सुरक्षित राख्न भर्सेलीमा ढोका स्वरुपमा अरेली काँडोको डालो तेस्र्याउथ्यो । आट नगिजै मेठ हालेको थामले नाललाई अड्याएको थियो रे । त्यस थाममा मदानेलाई सरोले बाँधेको थियो । मोही मोथ्दा ४ पाथे ठेकोमा ठेकीबाट दही खन्याउने फाम वा गबुवामा दूध दुहुने काम गर्दथ्यो । उठेर मदानी मदानेमा पसाएर ठेलुवालाई खुट्टाले ठेलेर नेतीलाई तानेर ध्वार्र ध्वार्र मोही मोथ्यो । नौनी झिकेर ताउलीमा राखेर छपनी ढुंगाले छोप्थ्यो । ३÷४ दिनको वीचमा दाजु आएर नौनी तताई घिऊ शिमाङ वा टिनमा सँगाल्थ्यो । नौनी तताउँदा निस्केको बिलौनी भाइको लागि ढेँडो खाँदाको सितन हुन्थ्यो । सँधै २ मानाको ढेँडो खाएकोले उसलाई जनमानसले दुइ माने भन्थे ।

दिनमा बस्तु गोठालो र बिहान बेलुकी खेतबारीमा कृषि कार्य गर्न दाजुले आराए अनुसार गथ्र्यो । दिनभर कडा परिश्रमक कार्य गर्दा २ माना पिठोले नपुगेर बालुवा समेत मिसाउने गथ्र्यो रे । लैना बकेर्ना सहित ५÷६ वटा भैँसी र हल गोरु उसको सम्पूर्ण जिम्मामा हुन्थ्यो । बनबाट ठूला ठूला काठका मुडा ल्याएर गोठमा लहरै गाडेर बस्तु भाउलाई वनस्खण्डीबाट जोगाउँथ्यो रे । दाजुले आराएको बाहेक अन्य कार्य गर्न उसको लागि निशेध जस्तै थियो । अरुले यसो उसो भनेको कुरामा कहिल्यै अग्रसरता देखाउँदैनथ्यो ।

उपल्लो कोटमा तेल पेल्ने कोल बिग्रेकोले नयाँ कोल निर्माण गर्न गाउँलेहरुले छेपेटारमा सालको रुख काटेर फलासी लगाइ कोलको बूढी, अड्यौली, तेली, कात्री, वीयो आदी काटेर कार्तिक महिनामा काटिएको उक्त कोलको सामानहरु चैत्र मैहिनामा शुक्ल पक्ष पारेर ढुवानी गर्नु पर्ने चलनले निरन्तरता पाएको थियो । उक्त समय आएपछि कोलबूढी बोक्न नोल, बुधे र काँधे काठ काटेर बन्धन समेत ठीक पारे । ६ जना बूढी बाहक, ४ जना ढिकुवा बाहक कात्री बाहक १ जना र अड्यौँला बोक्ने २ जना गरी १३÷१४ जना गाउँका लाठेहरुबाट बोकाउने दिन तय गरियो । उक्त कोलबाहकहरुकालागि दही चिउरा र केरा खाजको लागि ठीक पारे । जितेलाई पनि दाजुले बेहान बस्तु चराएर दिउँसो कोलबाहक हुनु पर्ने आदेश थियो ।

उक्त दिन बेहान देखि झरी परेकोले गाउँलेहरुले कोल बोक्न अर्को दिन भाका राखे । यता जिते आधा दिन सम्म पनि कोही बाहक न आउँदा अलमलमा प¥यो । उसले बल्ड्यांग्राको लहरो काटेर ल्याइ कोलको सामानहरु लहराले बाँधेर भारी बनायो । उक्त भारी बोकेर गाउँतिर लाग्यो उकालो । साँझ पर्ने बेलामा ऊ घरमा पुग्यो । घरको करेसामा समान राखेर घर भित्र पस्यो । खाजाको रुपमा रहेको १३÷१४ जनाको खान्की सवै खाएर बेसी जान निस्किदा आगँनमा दाजुसँग भेट भयो । अर्को दिन बेहानमा कोल बोक्न गाउँलेहरुलाई बोलाउन दाजु भाउजु गएका थिए । उसले आफूले कोलको भारी करेसामा बिसाएको जानकारी पस्कदै ओरालो लाग्यो । भाईको बलको करामत दाजुले बल्ल पो बुझ्यो त ।

गफाडीले गफले हाक्छन् भने कर्मठ व्यक्तिले कर्मले देखाउँछ । दाजु आफ्नो भाइको बलको पराक्रमले बडो गर्वित हुन पुग्यो । पारितोषिकको रुपमा के कुराले प्रशन्नता दिने भाइसँग परामर्श ग¥यो । भाइले प्रति छाक कोदोको पिठो १ माना बढाइ दिने कुराको आग्रहलाई दाजुले सहस्र स्वीकार ग¥यो । अर्को दिन देखि प्रतिछाक ३ मानाको अन्नहारले उसलाई ३ माने दर्जासमेत मिल्न थाल्यो । अर्को दिन गाउँले कोलबाहक जम्मा भएर बेसी झर्नुको साटो चौरमा कोलफिट गर्न उक्त मानव शक्ति लाग्यो । कोलका सवै सामग्री झिके तर बूढी उठाउन साँगुरोठाउँभएको कारण डेग चलाउन सकेनन् ।

२ दिन पछि जितेलाई झिकाएर उसले एक्लै वीचमा बूढी अँगालेर चौरमा झा¥यो । उसको बलको पारख सम्पूर्ण गाउँलेहरुले गरेका थिए । त्यसै ताका गोरखा पोखरी थोकको तल्लो दरवारमा तत्कालीन् नरेश पृथ्वीपतिशाहका साइला भाइ नरन्द्रदेवलाई १९३८ साले पर्वमा काठमाण्डौबाट गोरखा लखेटिएका थिए । जन संपर्क गर्न ती निपूर्ण थिए रे । प्रत्येक दिन विहान गोरखा बजार स्थित पाञ्चायन देवताका दर्शन पछि टुँडिखेलमा उनको जन सम्पर्क निकै बाक्लो हुन्थ्यो रे । उनले आफ्नो मनोरञ्जनार्थ वीरगन्जबाट २ पहलमानहरु उनीहरुको बल जुधाइका अनेक किसिमका खेलको प्रदर्शन तल्लो दरबारको प्रांगणमा गरिएको थियो ।

उक्त खेलको प्रदर्शनीले स्थानीय दर्शकहरु त्यस्तै मुग्ध भएका थिए । त्यस पहलमानी जुधाई हेर्न जनमानसलाई कुनै रोकावट थिएन । त्यस्तैमा साइला साहुजीले तीन माने (जिते)को बलको पारखी बारे सुनेका थिए । एउटा पहलमान सँग जुध्न (हाक्की) पब्लिकको फर्माइसलाई उनले र पहलमानले समेत स्वीकृति जनाए । जिते र पहलमान खेल आरम्भमा पहलमानले अनेक उपाय गर्दा पनि जितेलाई लडाउन सकेन । जितेले समात्न खोज्दा पहलमान चिप्लिन्थ्यो । केहि सिप नलागे पछि टाङमुनि टाउको छिराएर पल्टाउन पहलमानले प्रयत्न गर्दा टाउको पनि पसाउनु जितेले थ्याच्च बस्ता टाउको पिचिकै भएर गिदी निस्कियो रे ।

उक्त घटनाकै आधारले पुन राणाको तत्कालीन् सरकारले निज शाहालाई वीरगन्जको श्रीपुरदरबारतिर लखेटिएका घटना पुराना वृद्ध(वृद्धाहरुले बडो सरसता पूर्वक सुनाउथे । त्यस्ता बलबीरे जिते जस्ता गोरखकालीको शान राख्ने बीरलाई यसै लेखद्धारा श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना भनाइको अन्त्य गर्दछु ।

करिव सवा सय वर्ष अगाडिको ऐतिहासिक परिचर्चा पनि अतिसयोक्तिको रुपमा आएको छ । तत्कालीन् समाजका मानिसहरु अधिकांश निराक्षरीकै कारणले भएका घटनामा पनि काल्पनिकता मिसिएको जस्तो पाइन्छ । निजको दाजु मनेको पनि रोचक घटना निकट भविष्यमा पस्कने छु । अस्तु

प्रतिक्रिया दिनुहोस्