
गोरखाका हलो क्रान्तिका नायक, साहित्यकार एवं राजनीतिज्ञ पूर्णप्रसाद ब्राह्मण

गोरखाली माताले समय–समयमा युद्धवीर, दानवीर, कलमवीर, राजनीतिज्ञ र साहित्यकारलाई पनि जन्म दिइरहेकी छिन् । गोरखाको अजिरकोट गाउँपालिका साविक हसंपुर गा.वि.स.को काफलडाँडामा १९७९ सालको हरिशयनी एकादशीमा पिता देवीदत्त दुवाडी र माता रुक्कमिनी दुवाडीको कोखबाट पूर्णप्रसाद दुवाडीको जन्म भएको थियो ।
आफ्नो घरमा नै प्रारम्भिक शिक्षा पिताबाट पाएका दुवाडीले काफलडाँडामा खेतीपातीमा सहयोग गर्नका साथसाथै गाईभैंसी चराउने काम पनि गरेका थिए । गाउँका दाजुभाइलाई हितेषी मित्र बनाउँदै नेतृत्व गरेको ब्राह्मणको परिवारलाई अजिरकोट क्षेत्रमा पण्डितको खलक भनेर चिन्दथे । त्यसो भन्नुको कारण उनका पिताले काठमाण्डौंमा पढाउने काम गरेका थिए । पिताले राणाका सन्तान र साहुमहाजनका छोराछोरीहरुलाई काठमाण्डौंमा ट्यूशन पढाएर जीविका चलाएका थिए । दुवाडीका तीन दाजुभाइ र तीन दिदीबहिनी थिए । उनी दाजुभाइमा जेठा थिए ।
फुपूको सहायताले पाँच वर्षमा पितासँगै काठमाण्डौंमा गएर उनले संस्कृत पढ्न थालेका थिए । उनका पिता र माइलो बा घरमा बाझेका थिए । फुपूले आफ्नो पिता दशरथलाई काठमाण्डौं लगी १८ वर्षदेखि पढाउनका लगाएकी थिइन् भनी माइला भाइले बताएका थिए । तीन धारा संस्कृत पाठशालामा बसी वेद र पछि मीमांस अध्ययन गरेका ब्राह्मणले २००३ सालमा सम्पूर्णान्नद संस्कृत विश्वविद्यालयबाट आचार्य पास गरेका थिए । बाल्यकालमा ठूलीआमा गायत्रीदेवीले पालन पोषण गरेको दुवाडीको सात वर्षमा व्रतबन्ध भएको थियो । २००४ सालमा जयतुम् संस्कृतम् आन्दोलनको नेतृत्व गरी राणा शासनको विरोध गरेका दुवाडीका काशीनाथ, श्रीभद्ध शर्मा, राजेश्वर देवकोटा साथीहरु थिए ।
२००३ सालमा २१ कथा लेखेका दुवाडीले २००४ सालमा यी दरबारले गरिबको रगत चुसेका छन् । निर्धक्कसँग कब्जा गर भनेर क्रान्तिका उद्घोष गरेका थिए भनी उनका माइला भाइ तेजप्रसाद दुवाडी (९२ वर्ष) ले बताएका थिए । पूर्वीय दर्शनका विद्धान पण्डितले संस्कृत र नेपालीमा गहिरो ज्ञान हासिल गरी मौलिक कृर्तिको रचना गर्नुका साथ कुनै कृतिको अनुवाद समेत गरेका थिए । २००५ सालमा राणा विरोधी प्रजातन्त्रवादी दुवाडीले मृत्युबाट बच्न ब्राह्मण लेखेर त्यही नाम र थरबाट जीवन्त बने । २००७ सालमा प्रजातन्त्र आएपछि हामीले २००४ साल आलीमा कोदालो राखेको थियौं, त्यही कोदालीले आज सम्म आइपुगेको छौ भनी २०४१ सालमा बताएका थिए । उनको १९९२ सालमा विवाह पहिलो भएको थियो । दुई श्रीमतीमा पति ब्राह्मणका १७ जना परिवार थिए ।
गोरखापत्रमा प्रुफ रिडिङ्ग गरेका ब्राह्मणले ने.भा.प्र.स.मा लेखकका जागिर खाएका थिए । १९९२ सालमा सारदा पत्रिका मार्फत् वरदान कथा र गोरखापत्रका सम्पादकलाई चिठी लेखी साहित्यिक क्षेत्रमा उदाएका हुन् । २००६ सालमा कास्की, लम्जुङ्ग, गोरखा र धादिङ्गका गाउँघरमा ब्राह्मणहरुले राणा शासनको विरुद्धमा हलो जोत्ने आन्दोलन शुरु गरे । यो आन्दोलन छुवाछुत विरुद्ध पनि थियो । राणाहरुको मुटु र सिंहदरबार हलिएको थियो । २००६ सालमा दुरडाँडामा श्रावण ११ गते शेषकान्तको टोलीले हलो जोतेको थियो ।
कास्कीमा मुक्तिनाथ तिमिल्सिनाले नेतृत्व गरेका थिए । गोरखामा २००७ बैशाख १३ गते काफलडाँडाको आफ्नै ठूलो गरोमा २७ जना ब्रहमणको नेतृत्वमा हलो क्रान्ति अगाडि बढाएका थिए । यो आन्दोलन न पर्चा, न जुलुस न हडताल देशैभरि पैmलिएर २०१३ सालसम्म चलेको थियो । महिलाहरुले “शेषकान्त लप्टन हरिभक्त तिघ्रे, यी बाहुनले गाउँघरमा हलो जोती बिग्रे” जस्ता धेरै गीत गाएका थिए । गाउँघरमा विवाह ब्रतबन्धमा भातभान्छामा रोकिएको थियो । गाउँमा ब्रहमणले जिम्वाल परिवारको ब्रतबन्धमा ताउलाको भात र ककुरथुम्कामा भतेरको भात चलाउँदा गाउँलेहरुले भात भान्छा नै छोडेका थिए भनी आजसम्म पनि बूढापाकाहरु बताउँदछन् ।
नेपाली साहित्यिक क्षेत्रमा ब्राह्मणले वरदान कथा १९९२, २१ कथा २००३, झिल्को २००७, म लोग्ने हँु २००८, अगुल्टो कविता २००८, एक कथा उपन्यास २०४२, एकतीस कथा २०४२, ११ कथा २०४३, अध्यक्ष उमा २०४४, कुन्तीको समाचार २०४४, सम्झौटो २०४७ । संस्कृततर्फ सत्यम् हरिश्चन्द्रम् महाकाव्य २००७, विश्वदेवा काव्य २००७, तदर्थ मेव (उसैको लागि अनुवाद) २०२६, इशावास्यावृत्ति २व्०२७, राजतन्त्र सदा जीव्या २०४२ जस्ता कृतिहरु लेखेका छन् । यिनलाई २०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले स्वर्ण पदक दिएको थियो ।
यिनले २०१९ सालमा दाङको जनता महाविद्यालयका प्राध्यापक र छात्रहरुको सम्मेलन काठमाण्डौंमा गरेको थिए । १८ सालमा चैत्र ४ मा अभिनन्दन गरिएको थियो । २०३५ सालमा गुठी संस्थानका सल्लाहकार भएका थिए । २०४३ साल पौषमा विश्व शान्ति महायज्ञ रुपन्देहीले प्रसंशा पत्र दिएको थियो । ते के नजाने महे समस्यापूर्ति कवितामा प्रतियोगिता पटनामा प्रथम भएका थिए । नेपाल राजकीय विद्या पिठको उपकुलपति बनेका ब्राह्मणको ६७ वर्षको उमेरमा २०४६ जेठ ३२ गते शुक्ल एकादशीको दिनमा दमको रोगबाट निधन भएको थियो ।
यिनले १९९७, ९८ सालमा नेपालमा तुलसी मेहेर र गान्धीवादबाट चर्खा आन्दोलनमा सहभागिता जनाएका थिए । २००४ सालमा जयतु संस्कृतम्को अग्रणी, २००८ सालमा प्रजापरिषदको सदस्य, सो छोडी मुक्तिसेनामा विद्धोह गरी भारत गए । गान्धीवादी बनेर माफ मागेर नेपालमा राजाले आउन दिए । २०१२ सालमा राष्टिूय जनराज्य परिषद पाटी गान्धीवादीमा सम्मिलित भए । २०१५ सालमा जनता पाटी बनाई अध्यक्ष बने । सो पाटी २०१६ साल असार ८ गते राष्टिूय प्रजातान्त्रिक मोर्चामा मिलेको थियो ।
२०१७ सालमा पञ्जायती व्यवस्था लागु भएपछि त्यसको विरोधमा जेल परेको थिए । २०१९ सालपछि राष्टिूय सभा स्थायी समितिको सदस्य पद हुँदै प्रमुख निर्वाचन आयुत २०२७ सालमा भएका थिए । २०२० सालमा राष्टिूय निर्देशनपछि सदस्य सचिव भएका २०२४÷३÷३ मा निर्वाचन आयुक्त भएर २०२७ सालमा रामराजा प्रसाद सिंहलाई राष्टिूय पञ्चायतमा सपथ गराए पछि राजाको दबाबको कारणबाट २०२८÷४÷२५ गते राजिना दिन बाध्य भएका थिए (स्रोत ः पूर्णप्रसाद ब्राह्मणको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, विजुलीदेवी देवकोटा, २०५६) ।
जीवनभरि आन्दोलन गरेका ब्राह्मणले राणा शासनको विरोध गर्दै राजनीतिक र साहित्यिक अभियानलाई अगाडि बढाएका थिए । उनले कथा, कविता, उपन्यास, निबन्धका अतिरिक्त संस्कृतका महाकाव्य र नेपाली भाषाका कृतिलाई अनुवाद गर्ने काम गरेका छन् । फुटकर रचनाका साथसाथै महाकाव्य जस्तो कृतिका रचना गरेका ब्राह्मण अजिरकोट गोरखाको मात्र नभई नेपालका पनि साहित्यिक र राजनीतिक धरोधर हुन् । हिन्दू धर्मका मुख्य अनुयायी ब्राह्मणले महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गर्न अमूल्य योगदान पु¥याएका थिए ।
नेपालको माटो र अस्तित्वको चित्रण गरी सगरमाथा भन्नुपर्छ, माउन्ट एभरेष्ट भन्नाले नेपालको अस्तित्व नासिन्छ भन्ने धारणा राखेको थिए । ब्राह्मणले दिएका योगदानलाई आजका साहित्यिक र राजनीतिक व्यक्तित्वहरुले अनुशरण गर्न लायक छन् । ५५ वर्ष लामो साहित्यिक क्षेत्रमा अमूल्य योगदान दिएका ब्राह्मण नेपाली? संस्कृत, हिन्दी र अंग्रेजी भाषाका ज्ञाता पनि थिए । उनले दैवले इच्छा गरेर सृष्टि गर्दछ रमणीय बनाई हुर्काउँदछ अन्तमा हरेर पनि लैजान्छ भन्ने कविको ठहर थियो । ठूलो परिवार भएको हुनाले उनलाई परिवारको पालन पोषण गर्न कठिन भएको जस्तो देखिन्थ्यो । पछि परिवारको जागिर भएर आर्थिक समस्या टरेको बुझिन्छ ।




