
सांस्कृतिक रुपान्तरणबारे मेरो अनुभव
नारायण अधिकारी
म २०४० सालमा कक्षा १ मा भर्ना भएको रहेछु । स्कुल टाढा थिएन नजिकै थियो । दिदीहरुसँगै स्कुल गइन्थ्यो । स्कुल छुट्टीपछि आफ्नो सुरले साथीहरूसँग घर आइन्थ्यो । घरमा प्रायः बुबा हुनुहुन्थेन । ममाथि एकजना दिदी छिन । ममुनि २ भाइ र एउटा बैनी । हाम्रो बाआमाको हामी पाँच जना छोराछोरी । मेरो कान्छो भाइ जन्मिदा म कक्षा १ मै पढ्दै रहेछु ।
एकदिन वर्णमाला र बाह्रखरी सिकाउने गुरु परशुराम धितालले ब्ल्याकबोर्डमा अक्षर लेख्दै सोध्दै हुनुहुन्थ्यो । यो कक्षा १ का विद्यार्थीलाई अक्षर चिनाउने उपाय थियो । मेरो पालो आयो । अक्षर के थियो त्यो त ऐले मैले बिर्सें तर त्यो मिलाएको थिएँ । उहाँले सोध्नुभयो ‘अनि तिम्रो भाइ कत्रो छ ?’ त्यतिबेला मैले घरमा सानो भाइ पनि भर्खर जन्मेको कुरा बिर्सिएछु । मैले त ठुलो भाइ मात्र सम्झन पुगें । ठुलो भाइ त्यतिबेला ४ वर्षको भइसकेको थियो । उ त मसँग खेल्ने साथी भइसकेको थियो । सानो भाइ भर्खर जन्मेको कुरा मैले त्यतिबेला बिर्सिएँ । विद्यालय अफिसमा कुरा के भएछ भने ‘श्रीनाथले छोराको न्वारान गरेन । उ त नास्तिक हो ।’
शिक्षकहरुको बीचमा जे कुरा चलेको थियोे धिताल सरको दिमागमा त्यही कुरा घुमिरहेको रहेछ । धिताल सरले अरु साथीहरूको भाइबैनीहरुबारे केही सोध्नुभएन तर मेरै भाइको बारेमा किन सोध्नुभयो ? भन्ने मलाई धेरै पछिसम्म लागिरह्यो । कारण रहेछ कर्मकाण्डि तरिकाले उसको न्वारान नहुनु । त्यही साल उता मामाघर मामाको बिबाह हुँदै रहेछ । मामाको बिबाहमा हामीलाई सहभागी गराइएन । कारण भाइको न्वारान पुरानो बिधि बिधान अनुसार नहुनु । मामाको बिहेमा सहभागी नगराईएकोमा आमाको आजसम्म पनि चित्त दुखाइ छ । आमा अहिले ६८ वर्षकी हुनुहुन्छ ।
२०४५ सालमा मेरो र माइलो भाइको ब्रतबन्ध गरियो । त्यतिबेला बुबाको सोचाइमा के आएछ कुन्नि, हाम्रो ब्रतबन्ध त पुरानै ढर्रामा भयो । २०४८ सालमा म माथिको दिदीको जनवादी बिबाह भयो अठार वर्षको उमेरमा । २०५१ भदौ १६ गते हजुरआमा बित्नुभयो । हजुरआमाको कर्मकाण्ड बुबाले पूराकापूरा हिन्दु सनातन धर्म संस्कार अनुसार गर्नुभयो ।
२०५२ साल फागुन १ गते महान जनयुद्ध शुरु भयो । जनयुद्धमा २०५२ फागुन १ गतेभन्दा अगाडि नै गोरखा जिल्लाबाट मात्र भूमिगत हुनेहरू १७ जना थिए । १७ जनामध्य मेरो बुबा श्रीनाथ अधिकारी (श्याम) पनि एक हुनुहुन्थ्यो । जनयुद्ध वर्गसंघर्ष मात्र थिएन एउटा अभूतपूर्व साँस्कृतिक क्रान्ति पनि थियो । म आफैं पनि जनयुद्धमा हाम्फालेको एक योद्धा हुँ । जनयुद्धताका केसम्म गरिएन, साँस्कृतिक क्रान्तिका दौरानमा ? जाँडरक्सीले पैदा गरेको बिकृति विरुद्ध, जुवा(तासले पैदा गरेको बेथिति विरुद्ध ब्यापक लाल आतंक मच्चाइयो । बहुबिबाह खारेज गर्दै हिंडियो । छुवाछूत प्रथालाई सहभोजको आयोजना गरेर हमला गरियो । अन्नपातको फारोतिनो गर्ने अभियान चलाइयो । श्रम संस्कारलाई एक नम्बरमा राखियो । जनकम्युन स्थापना भए । जनसरकार र जनसत्ता समेत स्थापना भएका थिए । मेरी श्रीमती कलाकार हुन् । उनले आजसम्म जनवादी गीतबाहेक अरु गीत गाएकी नै छैनन् । ।हाम्रो बिबाह २०५७ फागुन ३० गते जनवादी तरिकाले सम्पन्न भएको हो । हाम्रो बाआमाको हामी पाँच जना छोराछोरी । पाँचै छोराछोरीको बिबाह जनवादी तरिकाले सम्पन्न भएको हो । हामीले छोराछोरीलाई कुनै पनि धार्मिक अनुष्ठानमा जोडेका छैनौं । हामीलाई धर्ममा बिश्वास पनि छैन । विज्ञानमा मात्र बिश्वास छ ।
२०६९ फागुन १७ गते हजुरबा बित्नुभयो । हजुरबाको कर्मकाण्ड बुबाआमाले पुरानो ढर्राले गर्नु भएन । यसपटक बुबा पुरै धर्मनिरपेक्षवादी देखिनु भयो । २०७६ असार २२ गते ६४ वर्षकै उमेरमा बुबा श्रीनाथ अधिकारी बित्नु भयो हामीले बुबाको बिचार, सिद्धान्त, दर्शन र राजनीतिलाई पछ्यायौं ।
यसरी २०४० मा कान्छो भाइ उज्वल जन्मिदा ताकाबाट सुरु भएको साँस्कृतिक रुपान्तरण अभियान निकै नै आरोह, अवरोह पार गर्दै अगाडि बढ्यो । २०७६ मा बुबाको मृत्यु संस्कारसम्म आइपुग्दा मेरा भाइहरु उत्तम र उज्वल, मेरी श्रीमती सुशीला थापा र भाइ बुहारीहरु सरिता र शान्तिले पनि हामीलाई धर्मनिरपेक्षमा उभिन साथ दिएका छन् । अहिले हाम्रो परिवार आस्तिक छैन । हामी नास्तिक पनि होइनौं । हामी धर्म निरपेक्षतावादी हौं ।
मैले हामी जस्तै धर्म निरपेक्षवादी साथीहरूलाई नजिकबाट चिन्न जान्न जमर्को पनि गरेको छु । जनयुद्ध ताका गोरखामा अन्तरजातीय बिबाह (मुख्य रूपमा दलित र गैह्र दलित बीच) गर्ने केही जोडिहरु छन् । यानप्रसाद भट्ट (सरोज र सञ्जु नेपाली, हरिशरण आचार्य र गंगा सुनार, शम्भु ढकाल र इन्द्रा सुनार, बिनय थापा र दुर्गा बिक । यिनीहरु अहिले पनि नमूना जोडीको रूपमा छन् । सांस्कृतिक रुपान्तरणमा उहाँहरुको ठूलो भूमिका हुनेछ ।
श्रीनाथ अधिकारी, बाबुराम भट्टराई, हितराज पाण्डे, कृष्ण धिताल, लेखनाथ न्यौपाने, हरिशरण आचार्य, बिष्णु भट्ट, जगन खनाल, लोकप्रसाद बञ्जरा, शम्भु ढकाल आदिले आपूm संलग्न मृत्यु संस्कारमा भौतिकवाद लागु गरेका छन् । कास्की जिल्लामा पनि मृत्यु संस्कारमा भौतिकवाद लागु गर्नेमा झलकपाणि तिवारी, रामजी थापा, पुर्ण गिरी, भीम रानाभाट, परशुराम कोइराला, सन्तबहादुर घिसिङ, काजी गाउँले, तोरण गुरुङ आदिलाई देखेको छु ।
कतिपयको त बिचित्र पनि देखिएको छ । घर परिवारमा आफु एक्लै चाँहि भौतिकबादी कर्मकाण्डमा उभिने बाँकी सिङ्गै परिवारलाई चाँहि गरुड् पुराण सुनाउने । कतिपयमा पाखण्ड चरित्र पनि प्रधान देखिन्छ भन्ने एकथोक गर्ने अर्को थोक । यता धर्ममा धर्म निरपेक्षतातिर दृढतापुर्वक उभिनेहरु उता आर्थिक क्षेत्रमा चरम भ्रष्टिकरण पनि देखिएका छन् ।
उहिले आफ्नो जनवादी बिबाह गर्नेहरूले अहिले छोराछोरीको बिबाह ब्यापक दाइजो प्रथालाई प्रश्रय दिएको पनि देखिएको छ । क्रान्तिकारी माओवादीको पोलिट्ब्युरो सदस्यसम्मले सुनको औँठी प्रदर्शन गरेको समेत मैले देखेको छु । साँस्कृतिक रुपान्तरणको बिषद ब्याख्या हुन्छ होला ? यो लरतरो विषय होइन होला ।
(लेखक नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हुन् ।)




