| सोमवार, साउन १०, २०८३

झ्याल्लाको भूमेदेवता

यदु अधिकारी

गोरखा जिल्लाका धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय महत्व बोकेका पुरातात्विक सम्पदाहरु उच्च स्थानमा रहेका छन् । सिर्दिबास भन्दा तल हिन्दू धर्मावलम्वीहरु मन्दिर र देवीदेवताका मन्दिर र थानहरु धेरै छन् । गुम्वाहरुको संख्या कम देखिन्छ ।

सिर्दिबास भन्दा माथि गुम्वाहरुको संख्या २०० भन्दा बढी छ । हाल आएर जिल्लामा मस्जिद, चर्च पनि बनिरहेका छन् । गोरखाका प्रसिद्ध धार्मिक स्थलहरुमा गोरखा कालिका, गोरखनाथ, मनकामना, अकलादेवी, अन्नपूर्ण र कोटका देवीका मन्दिरहरु पर्दछन् । त्यस्ता धार्मिक महत्व बोकेको दूर दराजको झ्याल्लाको भूमे देवताको विशेष महत्व छ ।

साबिक सिमजुङ्ग गा.वि.स.को वडा नं.४ मा झ्याल्ला फाँटमा जमुनाको रूखको फेदमा भूमेदेवताको थान छ । यस थानलाई पर्खालले घेरिएको छ । श्रावण महिना बाहेक हरेक महिनाको सोमबार आपत पर्दा पञ्चबली सहित भक्तजनले पूजा गर्दछन् । त्यस क्षेत्रमा मात्र नभै तनहुँ , धादिङ्ग, लमजुङ्ग र चितवनका मानिसहरूले पनि भाकल पुरा गरिदिन्छन् भनी पूजा गर्छन् ।

कास्कीबाट आएका दवाडीहरूले सँगै लिएर आएको देवताको मूर्तिलाई ताप्लेबाट भलले बगाई झ्याल्लाफाँटमा ल्यायो रे । यस मूर्तिलाई बच्चा जस्तो देखेर मानिसहरूले देवताले यस फाँटलाई नै रूचाए भनी थान बनाएर पूजा गर्न थाले भन्ने जनविश्वास छ ।

कुनै समयमा लाङ्गदीका ब्राह्मणहरूले बाजा सहित आई लान खोज्दा दवाडीले लान दिएनन् रे । विवाद पर्न लागेको देखी एउटा भोटे निस्के रे । त्यस भोटेले धूप, अक्षता माग्दा दवाडीहरूले छैन भने रे । गोजीमा हेर भन्दा धूप अक्षता फेला प¥यो रे । त्यसपछि लाङ्गदीका मानिसहरूले भूमेको मूर्ति लान सकेनन् भनिन्छ । भाँडा देवताले नै दिन्थे रे । कुनै व्यक्तिले जुठो राखे पछि भाँडा दिन छोडे भनिन्छ ।

चैत्र महिनामा सामूहिक रूपमा पूजा गरिन्छ । २०२७ सालमा दिउँसो १ बजे रक्सी खाएको मानिसले देवतालाई बली दिएको बोकोलाई मार हान्दा छिनेन रे । त्यसपछि दिउँसो नै हुरीबतास चलेर रात प¥यो रे र तुरून्तै अर्को बोको बली दिएपछि उज्यालो भई घामलाग्यो भन्छन् । खेत रोप्न जाँदा रात परेमा देवताले घरमा ल्याइदिन्थे भन्ने किंवदन्ती छ ।

मन्दिर छाउने बेला हुँदा पनि राति १ बजे आफैँ भत्कन्थ्यो रे र देवताले मलाई छाना मुनी नराख भनेकाले अझै छानो हालिएको छैन । खाली ठाउँमा नेै रहेको छ । किंवदन्ती अनुसार दवाडीहरु जुम्लामा बसेका थिए रे । उनीहरुले भोटेसँग मीत लगाएका थिए रे । बसाईँ सर्छु भनेपछि भोटेले नरमाइलो मानेर ढुङ्गाको मूर्ति झिकेर लैजाऊ भन्यो रे ।

आपत् पर्दा मलाई सम्झ भनेर बिदा भएछ । बाह्रौँ शताब्दीका जुम्लाका राजा चल्लहरुको देवता भन्दाभन्दै झयाल्ला देवता भनिएको हो पनि भन्दछन् । हाल ६ रोपनी भन्दा बढी देवताको नाममा जग्गा किनेर मन्दिर निर्माण गरिरहेको कुरा भूमे समाजका अध्यक्ष धनबहादुर गुरुङ्गले बताए । कुराकानीको आधारः शुकदेव, गंगादत्त दवाडी, गोविन्द, चिन्तामणि दवाडी, मनिकर्नी दवाडी

प्रतिक्रिया दिनुहोस्