
चुँडिएको मास्क हातमा झुण्ड्याउँदै हिँडेको त्यो दिन
शिव उप्रेती
राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने हल्लाले आरुआर्बाङका आनन्दराम बरामलाई पनि सदरमुकाम जानुपर्ने भयो ।
त्यसैले घरका सारा काम बिताएर उनी गत आइतबार गोरखा सदरमुकाम आइपुगे । कोरोना महामारीको तेस्रो लहरले मास्क अनिबार्य गराएको थियो तर नाकमुख मास्कले थुनेपछि उनलाई खसखसखसखस लागिरहन्थ्यो ।
बसबाट ओर्लनेवित्तिकै एकचरण ख्वाक्क खोके । यो त उनको बानी नै हो । मास्क यस्सो तल सारेर खकार थुक्न खोज्दा मास्कको डोरी चुँडियो । अब उनी बिलखबन्धनमा परे । मनमनै सोचे, ‘अलिकति तन्किँदैमा च्वाट्टै चुँड्ने कस्तो डुप्लिकेट मास्क ! डुप्लिकेट सामान निकालेर दुनियाँ लुटे ।’
अरु धेरै कुरा पनि सम्झे । गाउँकै क्याम्पसमा पढ्ने माइली छोरी अल्लि धेरै मोबाइल चलाउँथी । बिहानै ओछ्यानमै मोबाइलमा क–के–के–के बजाउँथी । त्यतिबेला एउटा मान्छे चर्कीचर्की मोबाइलमा बोलेको कुरा अहिले झल्याँस्स सम्झे, ‘कोरोना चाइनाले बनाएको हो । मास्क, सेनिटाइजर, पञ्जा, थर्मोमिटर, औषधी, खोपको व्यापार गर्न कोरोना रोगको भाइरस बनाएको हो ।’ त्यतिबेला भर्खरभर्खर कोरोनाको हल्ला चलेको थियो । मोबाइलमा जे पनि भन्छन्, पत्याउँ कि नपत्याउँ भनेर मनमनै गमेका थिए ।
हातमा चुँडेको मास्क झुण्ड्याउँदै लखरलखर हरमटारीचोकतिर झरे । धन्न स्कूल पढ्ने साइँलीछोरीले बजारमा हुनसक्ने समस्याको पूर्वानुमान गरेर दुइटा मास्क बाको इस्टकोटको गोजीमा राखिदिएकी थिई । त्यो झिकेर लगाए तर हातको मास्क कहाँ फ्याँक्ने ? दायाँबायाँ ठाउँ हेर्दै हिँडे । कहिलेकहीँ, अरु सहरतिर जाँदा रोडको छेउछाउतिर ‘फोहर मलाई’ लेखेको डिब्बा देख्थे । फोहर फाल्नुप¥यो भने त्यतै फाल्थे । त्यस्तै भाँडो यता पनि छन् कि भनेर चालिसेबसपार्कदेखि हरमटारीचोकसम्म खोजे पाएनन् ।
जानुथियो सिडियो कार्यालय । डोरी चुँडेको मास्क हातमा झुण्ड्याउँदै उनी उकालो लागे । ध्यान ‘फोहर मलाई’ लेखेको डिब्बाकै खोजीमा थियो । दुवै साइडतिर हेर्दै धिमा गतिमा हिँडे तर कतै देखेनन् । अरुले देख्नेगरी रोडमै मास्क फाल्न पनि उनको मनले मानेन । जानुथियो, सिडियो कार्यालय, तर चुँडिएको मास्क हल्लाउँदै सिडियो कार्यालयतिर कसरी जाने ? त्यसैले उनी कालीमाटी बजार हुँदै बिसौनीमोडतिर उकालो लागे । धेरैमाथि पुगे । बिसौनीमोडसम्मै पुगे तैपनि फोहर फाल्ने भाँडो नपाएपछि उनी जस्ताको तस्तै गरी सिडियो कार्यालयतिर लागे ।
गोरखा बजारमा क्लिन गोरखा कि के नामको संस्था छ । अचेल त्यो संस्थाले गोरखा बजारको फोहर सिनित्तै पारेर सफा गरेको छ भन्ने खबर गाउँमा सुनेका थिए । नभन्दै रोड सिनित्तै थियो । तर नालीतिर हेरे, निम्ठै हुनेगरी फोहर थियो ।
पाखेभल आउने गरी हिँउदे झरी कहिले पर्ला र यो नाली सफा होला भन्ने उनको मनमा लाग्यो । आफ्नो जिल्लाको सदरमुकामको नाली यस्तो फोहोर देखेर उनको मनले कल्प्यो, ‘कठै गोरखा बजार ।’ त्यहाँ मास्कहरु पनि थिए तर त्यही फोहरमाथि आफ्नो हातको चुँडेको मास्क पनि खसाल्न कत्ति पनि मन मानेन । एक मनले त सोचे, अरुको मास्क त यहीँ छ, यहीँ माथि खसाल्दिए कसले पो हकार्ला र ? तर उनको हातले अनावश्यक फोहर जथाभावी खसाल्न मान्दै मानेन । सोचे, ‘सिडियो कार्यालय भनेको त जिल्लाकै सबैभन्दा ठूलो कार्यालय हो । त्यता जाने रोडमा त पक्का पनि फोहर फाल्ने भाँडो राखेका होलान् ।’ मूलरोडबाट प्रशासन कार्यालय जाने हाँगे बाटो सुरु भयो ।
उसैगरी दायाँबायाँ हेर्दै हिँडे । सिडियो कार्यालयको गेटसम्मै पुगे तर फोहर खसाल्ने ठाउँ थिएन । बरु घाउ पाकेर पिप बगे झैँ सिडियो कार्यालयनेरै नालीबाट फोहर पानी प्याल्ल बगिरहेको थियो । ‘हाम्रो गाउँको गल्लीमा यसरी फोहर पानी बगेको भए त बारानाको दिन पारेर सबै गाउँले जम्मा भएर सिनित्तै पारिसक्थे’, मनमनै सोचे, ‘तर यहाँ त झन धेरै पढेलेखेका मान्छे, त्यसमाथि आदेश दिने सिडियो नै बस्ने ठाउँ के भएको होला ?’
फेरि उनी लागे अर्को हाँगे बाटो अदालतको अगाडितिर । यताउती आँखा डुलाए तर ‘फोहर मलाई’ लेखेको भाँडो नदेखेपछि त्यहाँ ड्युटी गरिरहेका पुलिसलाई सोधे, ‘फोहर फाल्ने भाँडा कता छ ?’ सिसाको घरभित्र बसेको पुलिसले चोरी औँलो घुमाए र ओठले मात्र ‘खै ?’ भने ।
त्यहाँ तीनचार जना महिलाहरु नङले दुबो उखालिरहेका थिए । देखे, उनीहरुको जाकेटमा ‘क्लिन गोरखा’ लेखिएको रहेछ । सोधे, ‘यो(मास्क) फाल्ने ठाउँ कता होला ?’ उनीहरुले पनि ‘खै ?’ भने । उनलाई राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा बस्न ढिला भइसकेको थियो ।




