| बुधबार, असार ९, २०८३

जिल्लास्तरीय अन्तर विद्यालय यु–१४ फुटबल प्रतियोगिता हुने

गोरखा जिल्लास्तरीय अन्तर विद्यालय यु–१४ छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । एन्फा गोरखाको आयोजनामा यहीँ मंसिर २१ गतेदखि प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलनमार्फत एन्फा गोरखाका अध्यक्ष विशाल गुरुङले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ ८ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहने अध्यक्ष गुरुङले बताए ।

छात्रतर्फ सहभागी हुने विद्यालयहरुमा सेन्ट जोसेफ, लक्ष्मी सामुदायिक शिक्षा सदन, सरस्वती मावि, जेनियस बोर्डिङ स्कुल, द वल्ड क्यापिटल मावि, महेन्द्रज्योति मावि, शक्ति मावि र राष्ट्रिय मावि घलाङका विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने भएका छन् ।

लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन हुने बताएको छ । प्रतियोगितामा सहभागी हुनका लागि छात्रतर्फ पाँच हजार र छात्रातर्फ २५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ । कम्तिमा २ गोल रक्षकसहित १८ खेलाडीको टिम दर्ता गर्नु पर्ने छ । खेलाडी दर्ताको लागि खेलाडीको फोटो र जन्मदर्ता अनिवार्य पेश गर्नु पर्ने बताएको छ ।

साथै उमेर २०६८ पौष १७ गते भन्दा पछि जन्मिएको हुनु पर्छ । छात्र तर्फको बिजेता टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपबिजेताले भने १० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

छात्रातर्फको बिजेता टिमले १५ हजार नगद र ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । उपबिजेता टिमले भने ७ हजार पाँच सय रुपैयाँ नगद र ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्र/छात्रा दुवै विधा तर्फको विजेता टिम प्रदेशस्तरमा सहभागी हुन पाउने एन्फा गोरखाले जनाएको छ ।

साथै अखिल नेपाल फुटबल संघले दुवै विधाका बिजेता टिमलाई तयारी खर्च वापत २५ हजार रकम प्रदान गर्ने भएको छ । प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । मंसिर २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हरमटारी खेलकुद मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्