
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : गोनपामा सुरु, पानपाको आज फाइनल
गोरखा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–१० छेपेटारस्थित खेलमैदानमा गोरखा नगरपालिकाको आयोजना तथा तारा माविको सहआयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा नगरपालिका भित्रका २१ विद्यालयहरुको सहभागिता रहेको नगरपालिका सहायक शिक्षा अधिकृत अर्जुन भट्टले बताए । जसमा पाँच वटा निजी विद्यालयहरु रहेका छन् । प्रतियोगिताको पहिलो दिन १५००, ४०० मिटर दौड, ज्यावलिङ थ्रो र लङ जम्प खेल सम्पन्न भएका छन् । गोरखा नगरपालिका–१० का वडाध्यक्ष प्रदिप कुवँरको अध्यक्षता तथा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए ।
यता पालुङटार नगरपालिकामा शुक्रबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज फाइनल हुदै छ पालुङटार नगरपालिका वडा नं ५ ठाँटीपोखरीस्थित भवानी माविको खेलमैदानमा प्रतियोगिता भैरहेको पालिकाको शिक्षा शाखा प्रमुख मनोज सिर्मलले बताए । हालसम्म भबिल, लङ जम्प, सर्ट पुट, दौड लगायतका खेलहरु सम्पन्न भएको उनले जानकारी दिए । पालिकाभित्रका कुल १६ बिद्यालय सहभागी प्रतियोगितामा कुल २८ बिधाका खेलहरु हुनेछन् । प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।




