
शहिद लखनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
शहिद लखन गाउँपालिकामा सोमवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पिपलछापस्थित खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत पहिलो दिन दश बिधाका खेलहरु सम्पन्न भएका छन् । लङ जम्प, सर्ट पुट, दौड लगायतका खेलहरु सम्पन्न भएको पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राजेन्द्र खनालले बताए । पालिकाभित्रका कुल ११ बिद्यालय सहभागी प्रतियोगितामा कुल २८ बिधाका खेलहरु हुनेछन् ।
प्रतियोगिताको सोमवार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उद्घाटन गरेका हुन् । पालिका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष प्रेम गुरुङ, ६ का वडाध्यक्ष दिलिपनारायण थापा, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष प्रेम तामाङ, सामाजिक बिकास समिति संयोजक कृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा पालिकाभित्रका चार खेलाडी सम्मानित भएका छन् । श्रीलंकामा सम्पन्न नवौ दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक बिजेता शहिद लखन–७ निवासी अर्पण थापा मगर र कास्य पदक बिजेता शहिद लखन–६ निवासी स्मृति गुरुङलाई नगद पुरस्कारसहित सम्मान गरिएको खनालले बताए । ‘अर्पणलाई ७० हजार (करसहित) र स्मृतिलाई ४० हजार (करसहित) नगदसहित कदरपत्रले सम्मान गरेका हौ,’ उनले भने ।
त्यस्तै प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गोरखाबाट सहभागी भई स्वर्ण पदक जित्न सफल शहिद लखन–८ की श्रृष्टी श्रेष्ठ र शहिद लखन–५ का अमृत राना मगरलाई पनि सम्मान गरिएको उनले जानकारी दिए । उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको हो ।




