| सोमवार, साउन २४, २०८३

अन्तर विद्यालय लिग फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार ६ खेल सम्पन्न भएको छ । छात्र/छात्रा दुबैतर्फ तीन/तीन खेल सम्पन्न भएको आयोजक द ओसन क्लबले जनाएको छ । छात्रतर्फको पहिलो खेल शक्ति मावि र रत्न लक्ष्मी माविबीच भएको थियो ।

उक्त खेलमा ६–० को फराकिलो गोल अन्तरले शक्ति मावि बिजयी भएको छ । लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र महालक्ष्मी माविबीच भएको दोस्रो खेलमा ४–४ को गोल भएपछि खेल बराबरीमा टुंगिएको थियो । तेस्रो खेलमा द ओल्ड क्यापिटल मावि र सरस्वती मावि आहालेबीच भएको थियो । सो खेल अवधिभर पनि दुवै टिमको तर्फबाट ३–३ गोल भएपछि खेल बराबरीमा टुंगिएको थियो ।

छात्रातर्फको पहिलो खेल रत्नलक्ष्मी मावि र ओल्ड क्यापिटल माविबीच भएको थियो । उक्त खेल पनि २–२ गोलको बराबरीमा टुंगिएको आयोजकले जनाएको छ । लक्ष्मी सामुदायिक शिक्षा सदन र सरस्वती माविबीच भएको दोस्रो खेलमा १–० को गोल अन्तरले सामुदायिक शिक्षा सदन लक्ष्मीबजार बिजयी भएको छ । महालक्ष्मी मावि र हिल्ली फिल्डर्स गोरखा एफ सीबीच भएको तेस्रो खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । साताको प्रत्येक शनिवार खेलहरु हुने गरेको छ ।

प्रतियोगितामा बिजेता र उपबिजेता टिमले ट्रफि र मेडलको साथमा प्रमाणपत्र पाउने छन् । बिजेता टिमले ओसन कप यू–१३ राष्ट्रिय फुटवल प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्