| बिहिबार, बैशाख १६, २०८३

गोरखामा कात्तिक १५ गते दोस्रो मेयर कप कराँते प्रतियोगिता हुने

गोरखामा आउँदो कात्तिक १५ गते दोस्रो मेयर कप कराँते प्रतियोगिता हुने भएको छ । नेपाल कराँते महासंघ गोरखाले शनिबार पत्रकार सम्मेलनमार्फत दोस्रो मेयर कप आयोजना गरिएको जानकारी दिएको हो ।

२० विधामा हुने प्रतियोगितामा करिब १२० जना खेलाडीले सहभागिता जनाउने नेपाल कराँते महासंघ गोरखाका अध्यक्ष ग्याम्जो लामाले जानकारी दिए । प्रतियोगितामा महिला÷पुरुष दुबैतर्फ २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समूहको खेल खेलाइने अध्यक्ष लामाले बताए । यस्तै प्रतियोगितामा एकल कातातर्फ पुरुष एक र महिला एकले आफ्नो खेल देखाउने आयोजकले बताएको छ ।

नकआउट चरणमा खेलाइने खेलमा हरेक तौल समूहका प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश तीक हजार, २ हजार र एक हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट दुई जना खेलाडीलाई पाँच/पाँच हजार नगद पुरस्कार प्रदान गरिने उनले बताए । गोरखालाई खेल क्षेत्रको माध्यमबाट चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष लामाको भनाइ छ ।

पालिका–पालिकामा गएर खेलाडी उत्पादन गर्ने महासंघले लक्ष्य लिएको छ । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलाडीको विकास गर्न कोच र रेफ्री पनि उत्पादन गर्ने उद्देश्य लिएको महासंघका अध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिता स्थायी ठेगानाका आधारमा पालिकास्तरीय प्रतिष्पर्धा गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख ५६ हजार लाग्ने अनुमान गरिएको छ । जसमा गोरखा नगरपालिकाबाट तीन लाख आर्थिक सहयोग उपलब्ध हुने बताएको छ । बाँकी खर्च रकम अन्य पालिकाहरुसँग समन्वय गरेर विभिन्न खेलप्रेमीहरुबाट संकलन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्