
मनास्लुको फेदीमा हाई अल्टिच्युड फुटबल प्रतियोगिता हुँदै
मनासलु हिमालको फेदीस्थित ३५०० मिटर उचाइमा रहेको मैदानमा आज(शुक्रबार)देखि हाई अल्टिच्युड फुटबल प्रतियोगिता सुरु हुदैछ । ‘नुब्री मनासलु कप फुटबल प्रतियोगिता’ नाम दिइएको सो खेलकुदको सातौं श्रृङ्खला अयोजना गर्ने पालो यसपटक प्रोक फुटबल क्लवको रहेको छ ।
यो श्रृङ्खला चुमनुब्री गाउँपालिका वडा नं २ स्यालामा हुन लागेको क्लवका तेञ्जिङ छिरिङ लामाले जानकारी दिए । यो खेलकुद कार्यक्रम बर्षेनी नुब्री उपत्यकाका फरक फरक क्लवले आयोजना गर्ने प्रचलन छ । गतबर्ष ल्हीस्यो फुटबल क्लबले आयोजना गरेको थियो । शुक्रबारदेखि सुरु हुने प्रतियोगिता यही असार १० गतेसम्म संचालन हुने आयोजक प्रोक फुटबल क्लवका तेन्जिङ छिरिङ लामाले बताए ।
लामाका अनुसार प्रतियोगितामा महिला टोलीहरु बीच पनि प्रतिस्पर्धा हुनेछ । ‘पुरुषतर्फ १३ र महिलातर्फ तीन टिमबीच प्रतिस्पर्धा हुन्छ’, उनले भने । प्रतियोगितामा बिजेता हुने टिमले नगद रु एक लाख ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उपविजेता टिमले रु ५० हजार र प्रतियोगितामा तेस्रो हुनेले नगद रु ३० हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । यस्तै, महिलातर्फको प्रतियोगितामा बिजेता हुनेले पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ ।
उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गरी सुरु गरेका थिए । सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हँुदै आएको छ । प्रत्येक वडाले आलोपालो आयोजना गर्ने नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सातौं श्रृङ्खला यो वर्ष प्रोक फुटबल क्लवले आयोजना गरेको हो ।




