| शनिबार, माघ २४, २०८२

बुङकोटमा तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न

जिल्लाको सहिदलखन गाउँपालिका–७ बुङकोटमा तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ । बुङकोट सामुदायिक सिकाई केन्द्रको आयोजना तथा वडा नं ७ को आर्थिक सहयोगमा गत आईतबारबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिममा पालिकाको वडा नं ६, ७, ८ र ९ का २५ जना महिला दिदीबहिनीहरुले सहभागिता जनाएको सहिदलखन–७ का वडाअध्यक्ष शरण श्रेष्ठले बताए । सामुदायिक सिकाई केन्द्रमा आवद्ध भएका महिलाहरुले तालिममा भाग लिएको उनले जानकारी दिए । उनका अनुसार वडा नं ७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत तालिम संचालन गरिएको हो ।

वडाको एक लाख बजेटमा महिलाहरुलाई विभिन्न प्रकारको गुडिया तथा कुशन बनाउन सिकाएको हो । तालिममा सहभागीहरुलाई तारा शाक्यले प्रशिक्षण गराएको वडाअध्यक्ष श्रेष्ठले बताएका छन् । तालिमका सहभागीहरुलाई तालिमपश्चात प्रमाणपत्र समेत वितरण गरिएको उनको भनाइ छ ।

सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष दुर्गा गरन्जाको अध्यक्षता एवं सहिदलखन गाउँपालिकाको अध्यक्ष रमेश थापा मगरको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच तालिम समापन गरिएको छ । समापन कार्यक्रममा सहिदलखन गाउँपालिकाको उपाध्यक्ष इन्दिरा तिवारी, सहिदलखन–७ का वडाअध्यक्ष शरण श्रेष्ठ, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्