
चुनावका ‘मौसमी एजेन्डा’ र ‘खोक्रा बाचा’ बन्द गरौं
नेपालको निर्वाचन लोकतन्त्रको उत्सव हुनुपर्नेमा बिस्तारै आश्वासनको व्यापार गर्ने ‘हाटबजार’ बन्दै गएको छ । निर्वाचन नजिकिँदै गर्दा गोरखाका गाउँ–बस्तीमा फेरि उही पुराना बाचाहरूको पुनरावृत्ति हुन थालेको छ । लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट सञ्चालन गर्ने, खण्डहर बनेको गोरखकाली रबर उद्योग ब्युँताउने, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनालाई गति दिने र बेनिघाट–आरुघाट–लार्के सडक कालोपत्रे गर्ने ।
विडम्बना ! जब मतदान सकिन्छ र मतपेटिकाबाट नेताको भाग्य चम्किन्छ, तब यी आयोजनाहरू पुनः पाँच वर्षका लागि ‘कोमा’ मा जान्छन् । आश्वासनको राजनीति र यथार्थको खाडल विगतका थुप्रै निर्वाचनहरू साक्षी छन् कि नेताहरूले संसद छिर्ने सिँढीका रूपमा मात्र यी आयोजनालाई प्रयोग गरे । चुनाव जितेर सिंहदरबार पुगेपछि न त रबर उद्योगका मेसिनहरूको खिया देखिन्छ, न त धुलाम्य सडकमा सास्ती खेपिरहेका जनताको आँसु ।
बूढीगण्डकी जस्तो रणनीतिक महत्वको आयोजना मोडालिटीमै अल्झिएको वर्षौँ भइसक्यो । एयरपोर्टको मैदानमा अहिले पनि जहाज होइन, घाँस र गाईवस्तु मात्रै चरिरहेका छन् । सपना देख्ने हक छ, तर सपना देखाएर त्यसको व्यापार गर्ने अधिकार कसैलाई छैन । निर्वाचनका बेला उम्मेदवारहरूले आफ्नो क्षमता र बजेटले भ्याउने योजना मात्र प्रस्तुत गर्नुपर्छ । पूरा गर्नै नसकिने ‘हावादारी’ र ‘लोकरिझ्याइँ’का एजेन्डाहरू अघि सार्नु जनताको अभिमतमाथि गरिएको अपमान हो ।
सस्तो लोकप्रियताका लागि बाँडिने झुठा आश्वासनले क्षणिक भोट त देला, तर त्यसले लोकतन्त्र र राजनीतिक नेतृत्वप्रति जनतामा घृणा मात्र पैदा गर्छ । अब गोरखाका सचेत मतदाताले नेताका शब्दलाई होइन, उनका कार्यक्षमता र नियतलाई जाँच्न आवश्यक छ । राजनीतिक दल र उम्मेदवारहरू अब सुध्रिन जरुरी छ ।
एउटै आश्वासनले पटक–पटक जनतालाई झुक्याउन सकिँदैन । विकासका योजनाहरू चुनावी नारा मात्र होइनन्, ती जनताको भविष्य र राष्ट्रको समृद्धिसँग जोडिएका आधारहरू हुन्। त्यसैले, भ्रमको राजनीति बन्द गर र कामको राजनीति सुरु गर ।




