| शनिबार, माघ २४, २०८२

व्यवसाय फस्टाओस्, तर अरुको शान्ति नखोसियोस्

गोरखा नगरपालिका वडा नं. ७ स्थित बहुउद्देश्यीय भवनमा केही समयदेखि रोदीघर(दोहोरी साँझ) सञ्चालित छ । जो कसैलाई जुन कुनै ठाउँमा व्यापार, व्यवसाय गर्ने कानून प्रदत्त अधिकार छ । तर व्यवसाय गर्दा व्यवसायिक मर्यादा र त्यहाँको सामाजिक जवाफदेहिता पूरा गर्नुपर्छ ।
गोरखा बसपार्कभन्दा केही माथि सञ्चालित रोदीघर (दोहोरी साँझ) को पछिल्लो गतिविधिले व्यावसायिक मर्यादा र स्थानीयको शान्तिपूर्ण जीवनयापनको हकबीच द्वन्द्व सिर्जना गरेको छ । राज्यको ऐन, कानून र प्रक्रिया पालना गरेर व्यवसाय गर्न पाउनु जो कोहीको नैसर्गिक अधिकार हो, तर व्यवसाय सञ्चालन गरिरहँदा छिमेकीको चैन लुट्ने र सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई हुँदैन ।
कुनै पनि व्यवसायको सफलता त्यसले प्रदान गर्ने सेवामा मात्र होइन, त्यसले समाजमा पार्ने प्रभावमा पनि निर्भर गर्द छ। अहिले उक्त रोदीघरबाट निस्कने ग्राहकहरूले मदिरा सेवन गरी छिमेकमा गर्ने होहल्ला र अभद्र व्यवहारले स्थानीय बासिन्दा आजित भएका छन् । रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सुरक्षा र व्यवस्थापनको पहिलो जिम्मेवारी व्यवसायी स्वयम्को हो ।
मदिरा सेवन गरेर निस्कने ग्राहकलाई नियन्त्रण गर्ने र उनीहरूका कारण बाहिर समाजमा बाधा नपुग्ने वातावरण बनाउनु सञ्चालकको दायित्व हो । त्यस्तै दोहोरी साँझ भित्रको संगीत र बाहिर निस्कँदा हुने होहल्लाले वृद्धवृद्धा, विद्यार्थी, महिला र बिरामीलाई पार्ने नकारात्मक असरप्रति सचेत हुन जरुरी छ ।
कानूनी प्रक्रिया पूरा गर्दैमा व्यवसाय पूर्ण हुँदैन । जबसम्म छिमेकीको सहयोग र सम्मान प्राप्त हुँदैन, तबसम्म त्यो व्यवसाय दीगो र मर्यादित बन्न सक्दैन ।
कानूनको डण्डाभन्दा पनि सामाजिक नैतिकता र ‘छिमेकी पहिलो’ भन्ने भावना ठूलो हुन्छ । यदि सञ्चालकले तत्काल व्यवस्थापनमा सुधार नगर्ने हो भने, राज्यको दण्ड सजायँ अगावै स्थानीयको तिखो आलोचना र असहयोगको सामना गर्नुपर्ने निश्चित छ ।
अतः सञ्चालकले आफ्नो व्यवसायलाई विवादित र आलोचित बनाउनु भन्दा सभ्य, सुसंस्कृत र मर्यादित रूपमा सञ्चालन गर्नुपर्दछ । व्यवसाय फस्टाओस्, तर अरुको शान्ति नखोसियोस् ।

प्रतिक्रिया दिनुहोस्