
बूढीगण्डकीको बाढीले घरबार खोस्यो, हावाहुरीले त्रिपालको ओत पनि उडायो
चुमनुब्री गाउँपालिका ३ जगतकी ४९ वर्षीया लालमाया गुरुङ गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालिन् । उनीजस्तै विस्थापित भएकाहरू पनि पाल टाँगेर बसोबास गरिरहेका थिए ।
त्रिपालमुनि बस्न थालेको डेढ महिनापछि मंगलबार बिहानै उत्तरी गोरखामा अचानक ठूलो हावाहुरी चल्न थाल्यो । बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरबास उठेको छ । ‘बिहान तीनबजेतिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ । होइन रहेछ’,लालमाया भन्छिन्,‘हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ । तर, एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो । हामीलाई फेरि खुल्ला आकाशमुनि पुर्यायो।
हावाहुरीले ओढ्ने,ओछ्याउने,लगाउने लत्ताकपडाहरू उडाएर विचल्ली बनाएको उनको दुखेसो छ । ‘हाम्रो चिल्लीबिल्ली भयो । अहिले दिउँसो एक बजिसक्दा पनि भात पकाएर खान पाएको छैन’,उनले भनिन्,‘दैव पनि हामीलाई मात्र लाग्दो रहेछ ।’
भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपुर्याएको कुनै घरमा राखेकाले सुरक्षित रहेको उनको भनाइ छ । लालमायाको मात्र होइन,मंगलबार बिहान एक्कासी आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिए ।
उनीहरूलाई फेरि पुनस्थापित गर्नुपर्ने अवस्थामा पुर्याएको उनको भनाइ छ । मंगलबार बिहानको हावाहुरीले धार्चे ५ सिङ्लाको सिँहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको छ ।




