| मङ्लबार, मंसिर ८, २०८३

सिरानडाँडामा गुरु पद्म सम्भवको १० फिट अग्लो मूर्ति प्रतिस्ठापन

अजिरकोट गाउँपालिका ४ सिरानडाँडामा वौद्ध धर्मावलम्वीहरुको आस्थाका केन्द्र गुरु पद्म सम्भवको १० फिट अग्लो मूर्ति प्रतिस्ठापन गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सहयोगमा हिमाली समाज गुम्बाअन्तरगत गुरु रिन्पोेछे पद्मसम्भव मूर्ति निर्माण समितिले गुरु पद्मसम्भवको मूर्ति निर्माण गरेको हो ।

सिरानडाँडाको सल्लाघारीमा ११ फिटे खम्बामा १० फिट अग्लो गुरु रिन्पोछे पद्मसम्भवको मूर्ति निर्माण भएको छ । पिलरको चारैतिर नुर्बुको आकृति रहेको छ ।

हालसालै निर्माण सम्पन्न भएको मूर्तिमा वौद्ध धर्मको विधि पद्धति अनुसार दुईदिनसम्म धुमधामले पूजाआजा गरी प्राणप्रतिष्ठा गरिएको छ । सोमबार र मंगलबार विशेष पूजाआजा गरेर धर्मगुरु खेम्पो श्री लामा गुरुङले पद्मसम्भवको मूर्तिमा प्राणप्रतिष्ठा गरेका समितिका अध्यक्ष अनुप लामा लाक्पाले जानकारी दिए । प्राणप्रतिष्ठा कार्यक्रममा खेम्पो लामा गुरुङ रिन्पोछेसहित अन्य दर्जनौँ लामा गुरुहरुको उपस्थिति थियो ।

सिरानडाँडाका स्थानीय अगुवाहरुको पहलमा गुरु रिन्पोछे पद्मसम्भवको मूर्ति निर्माण गरी प्रतिष्ठापन गरिएको मूर्ति निर्माण समितिका अध्यक्ष अनुप लामा लाक्पाले बताए ।

गत वर्षको असोजबाट निर्माण सुरु गरिएको मूर्ति हालसालै सम्पन्न भएको उनको भनाइ छ । ‘मूर्ति बनाउन करिब २२ लाख खर्च भयो । अजिरकोट गाउँपालिका र वडा नं ४ को कार्यालयले पनि मूर्ति निर्माणमा आर्थिक सहयोग गरेका छन्’, उनले भने, ‘मूर्ति निर्माणको काम सम्पन्न भैसकेको भएपनि घेराबारको काम भने बाँकी नै छ ।’

सिरानडाँडामा धार्मिक पर्यटन विकास गर्ने उद्देश्यसहित गुरु रिन्पोछे पद्मसम्भवको मूर्ति निर्माण भएको मूर्ति निर्माण समितिको भनाइ छ । सिरानडाँडा ‘बुद्ध हिमाल हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’को प्रवेशद्वार समेत हो । ‘गुरु रिन्पोछे पद्मसम्भवको मूर्ति निर्माण भएपछि यहाँबाट गुरुको आर्शिवाद लिएर वुद्ध हिमाल हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको यात्रा सुरु गर्न सकिन्छ’, लामा गुरु लोकबहादुर लामाले भने ।

प्रतिक्रिया दिनुहोस्