
स्यारखोलाको चार काठेपुल बगाउँदा चुम उपत्यकाबासी चिन्तित
१५ दिन लगाएर बल्लतल्ल बनाएको काठे पुल बगाउँदा चुम उपत्यकाका बासिन्दा निराश भएका छन् । बिहीबारदेखि परेको अबिरल वर्षापछि उत्तरी गोरखाको स्यारखोलामा आएको बाढीले त्यहाँका चारवटा काठेपुल बगाएको स्थानिय गोपाल लामाले बताए ।
चुमउपत्यका जाने अस्थायी बाटोका रुपमा एकहप्ता अघिमात्र चुमनुब्री गाउँपालिकाले स्यारखोलामा उक्त काठेपुलहरु निर्माण गरेको थियो । गत आइतबार मात्र निर्माण सम्पन्न भएको काठेपुल शुक्रबार राती स्यारखोलामा आएको बाढीले बगाएको लामाले जानकारी दिए । बाढीले हालसालै निर्माण भएका काठेपुलहरु बगाउँदा चुम उपत्यका पुन नाकाबन्दीकै अवस्थामा पुगेको उनको भनाई छ ।
गत असोज २५ गते हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि आएको बाढीले चुमनुब्री–६ सर्दीभीरको क्यान्टिलिभर पुल बगाएको थियो । जसका कारण चुम उपत्यकाअन्तरगत पर्ने चुमनुब्री वडा नं ६ र ७ का दर्जनौँ गाउँबस्ती आवतजावत गर्न नसकिने अवस्थामा पुगेका थिए ।
लामो समयसम्म खच्चड हिँडाउन नसक्दा चुमनुब्री गाउँपालिका वडा नं ६ र ७ का गाउँबस्तीमा खाद्यान्न अभाव हुन सक्ने त्रास बढेको चुम्लिङका स्थानिय नुइटुप ग्याल्जेन लामाले चिन्ता व्यक्त गरे । काठे पुल निर्माण भएपछि खाद्यन्न ढुवानी गर्न केही राहत मिलेकोमा हाल पुन समस्या निम्तिएको उनको भनाई छ ।
स्यार खोलामा काठे पुल निर्माण भएपछि चुम उपत्यकाबासीलाई केही राहत मिलेकोमा हाल पुन नाकाबन्दी कै अवस्था आएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । क्यान्टिलिभर पुल बगाएको भोलिपल्टदेखि नै स्थानीय बासिन्दा जुटेर काठे पुल निर्माण गरेकोमा हाल पहिलेकै अवस्था दोहोरिएको उनले जानकारी दिए ।
‘लगातार तीन दिनसम्म परेको पानीले खोलाको तह बढायो, बल्ल बल्ल निर्माण गरेको चारवटा काठेपुल एकहप्ता नबित्दै बगायो’, उनले भने, ‘हाल चुम उपत्यका जाने बाटो पूर्ण रुपमा अबरुद्ध भएको छ । अब केही समयपछि फेरी त्यही ठाउँमा अस्थायी पुल निर्माणको काम सुरु गर्छौ । त्यो बाहेक अन्य विकल्प छैन् ।’
गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट बजेट विनियोजन गरी स्थानीय बासिन्दा परिचालन गरेर तत्काल आवतजावत गर्न उक्त पुलहरु निर्माण भएका चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताएका छन् । ‘यो पुलहरु तत्कालको समस्या टार्न बनाएका थियौँ । फेरी बनाउँछौँ पनि । दीर्घकालका लागि सर्दीभीरको बाटो नबनाई सुखै छैन । कि त्यहाँ विस्फोट गरेर पहरो फोरेर बाटो खुलाउनु पर्छ, कि क्यान्टिभर पुनर्निर्माण गर्नुपर्छ’, उनले भने । यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।




