
बूढीगण्डकीको भीषण बाढीबारे विस्तृत अध्ययनको खाँचो
बूढीगण्डकीमा अहिलेसम्म पनि कालो लेदोसहितको पानी बग्ने गरेको छ । गत असोज २५ मा आएको भीषण बाढीपछि अहिले झण्डै तीन सातासम्म पनि कालो लेदोसहितको पानी बग्ने गरेको हो ।
त्यसदिन ठूलो परिमाणमा कालो लेदोसहितको बाढी आएपछि अहिलेसम्म पनि कालो पानी बग्न नछाडेको स्थानीयहरुको भनाइ छ । नीलो, सङ्लो पानी बग्ने यहाँ दिनहूँ कालो पानी बग्दा बूढीगण्डकी उपत्यकाका बासिन्दा सशंकित मात्र छैनन्, त्रसित पनि छन् । कालो पानी मात्र होइन, बूढीगण्डकीमा बाढी ल्याउने उङ्गिलुङ खोलामा अहिलेसम्म पनि हिउँ बगिरहन्छ । साथै सोही खोलादेखि नै कालो पानी बगिररहने गरेको छ ।
बूढीगण्डकीमा अपूर्व बाढी आएपछि चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकाका बासिन्दा त्रसित छन् । नदीले आफ्नो बास्तविक रङ र स्वरुप नलिँदा स्थानीयबासी अझै त्रासमा रहेका हुन् । बर्खा सकियो भन्नु पनि नपर्ने, हिउँद लाग्यो भन्नु पनि नपर्ने, पानी परेको छैन भन्नु पनि नपर्ने, जतिबेला पनि बाढी आउन सक्ने अवस्था देखी स्थानीय त्रसित छन् ।
अहिले बाढीबाट त्रसित स्थानीयबासीको घरीघरी आँखा बूढीगण्डकीतिरै जान्छ । अनि कालो देखेपछि त्यही दिनको बाढी सम्झेर झस्याङ–झस्याङ हुने गर्छन् । चुमनुब्री ६ को हिउँ पहिरो झरेको उङ्गिलुङ खोलामा अझै पनि अस्थिर अवस्थाको हिउँ बाँकी रहेकाले झरिरहेको हुनसक्ने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका विनोद पराजुलीले जानकारी दिए ।
साथै बूढीगण्डकी, स्यार तथा उङ्गिलुङ खोलाको मुहानतिर कालो माटोको सतह धेरै भएकाले कालो पानी बगेको हुनसक्ने उनको भनाइ छ । हिमाली सभ्यता बचाउन स्थानीय तह, प्रदेश र केन्द्र सरकारले धेरै चासो दिनु आवश्यक छ । अन्यथा हिमाली क्षेत्रमा ठूलो विपद निम्तिन सक्ने देखिन्छ । विपद्पछि उद्धार र राहतको कार्यक्रम गर्नुभन्दा विपद आउनै नदिनु वुद्धिमानी हुनेछ ।




