
संस्कृत मावि तान्द्राङका विद्यार्थीहरुलाई झोला वितरण
जिल्लाको भिमसेनथापा गाउँपालिका ३ तान्द्राङस्थित संस्कृत माविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । विद्यालयको बालविकास कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको विद्यालयका प्रधानध्यापक भगवान शाक्यले बताए ।
भिमसेनथापा गाउँपालिका ३ स्थायी घरभई हाल स्विट्जरल्याण्ड बसोबास गर्ने शंकर बन्जराले विद्यालयमा अध्ययनरत्त सबै विद्यार्थीहरुलाई झोला वितरण गरेको प्रअ शाक्यले जानकारी दिए । शंकर बन्जरा विद्यालयमा स्थापित “टिकाराम–तिलकुमारी अक्षय कोष” का संस्थापक समेत रहेको उनले बताएका छन् ।
विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यसहित एसोसियसन मिल्ली एम्स नामक संस्थाको सहयोगमा झोला वितरण गरिएको शाक्यको भनाई छ । उनी भन्छन्, ‘आर्थिक तथा सामाजिक रूपमा विभिन्न अवस्थामा रहेका विद्यार्थीहरूलाई यस्ता सहयोगले अध्ययनप्रति थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ ।’




